आयुर्वेद चिकित्सा: बिरामीको विश्वास, सरकारको बेवास्ता

सुर्खेत: वीरेन्द्रनगरस्थित प्रदेश आयुर्वेद औषधालयमा उपचार सेवा लिनेको चाप हरेक वर्ष बढ्दो छ । पछिल्ला वर्षहरूमा आयुर्वेद उपचार सेवा लिनेहरूको आकर्षण देखिएको हो । चालु आर्थिक वर्ष २०७८/०७९ मा औषधालयबाट ४० हजार ८६ जनाले सेवा लिएका छन् । कार्यालयको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा ३० हजार चार सय ३६ जनाले आयुर्वेदका विभिन्न उपचार सेवा लिएका थिए । विगतका वर्षको तुलनामा सेवा लिनेको संख्यामा वृद्धि हुँदै गएको औषधालयले जनाएको छ । आर्थिक वर्ष २०७६/०७७ मा औषधालयबाट सेवा लिनेको संख्या २८ हजार तीन सय ५५ थियो ।

आयुर्वेदमा सेवाग्राहीको विश्वास बढिरहेका बेला यो उपचार पद्धती सरकारको प्राथमिकतामा भने पर्न सकेको छैन । आयुर्वेद औषधालय तथा केन्द्रहरू जनशक्ति र भौतिक पूर्वाधारको अभाव झेलिरहेका छन् । प्रदेश आयुर्वेद औषधालयमा प्राविधिक र अप्राविधिक गरी करिब ४४ जना कर्मचारी आवश्यक रहेकोमा हाल आठ जनाको मात्रै स्वीकृत दरबन्दी छ । जनशक्तिको चरम अभाव भएपछि केही कर्मचारी छात्रवृति करारबाट लिएर सेवा प्रवाह गरिएको जनाइएको छ । करार सेवामार्फत नौ जना स्वास्थ्यकर्मी नियुक्त गरिएका छन् । प्रदेशस्तरीय संरचना भएपनि यहाँ सबैभन्दा कम कर्मचारी कार्यरत रहेको औषधालय प्रमुख डा. शंकरप्रसाद रिजाल बताउँछन् । झन्डै १५ महिनादेखि औषधालय अस्पताल विकास समितिविहीन छ । कार्यालयको व्यवस्थापन गर्ने समिति नै लामो समयदेखि खाली हुँदा समग्र विकासमा असर परेको बताइएको छ । यसअघिका पदाधिकारीको अवधि सकिएको एक वर्षभन्दा बढी समय भइसक्दा पनि प्रदेश सरकारले नयाँ विकास समिति गठन गरेको छैन । औषधालयको विकास समिति सामाजिक मन्त्रालयको सिफारिसमा प्रदेश मन्त्रिपरिषद्ले गर्ने व्यवस्था छ । स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा पदाधिकारी नियुक्तमा प्रदेश सरकारले ढिलासुस्ती गरिरहेको हो ।

आयुर्वेद चिकित्सा पद्धतीको विकास र विस्तारमा कर्णाली सरकारको चासो कम देखिएको छ । हरेक वर्षका नीति–कार्यक्रममा आयुर्वेद क्षेत्रको प्रवद्र्धन गर्ने उल्लेख गरिए पनि सोहीअनुसारको बजेट व्यवस्थापन नहुने गरेको हो । कर्णाली सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति–कार्यक्रममा आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र स्थापना गर्ने उल्लेख थियो । तर, बजेट किताबमा भने सो शीर्षक परेको छैन । ‘आयुर्वेद अस्पताल स्थापना गर्ने विषय नीतिमा मात्रै प¥यो, बजेट विनियोजन भएन,’ डा. रिजालले भने । कर्णालीमा एउटा पनि आयुर्वेद अस्पताल छैन । सात वटा प्रदेशमा आयुर्वेद चिकित्सासम्बन्धी अस्पताल नभएको कर्णाली मात्रै हो । यद्यपि, संघीय सरकारको बजेटमा औषधालयको हाताभित्र आयुर्वेद अस्पताल निर्माणको काम भने सुरु गरिएको छ ।

औषधालयका अनुसार कर्णालीका ३९ स्थानमा नागरिक आरोग्य सेवा केन्द्रहरू छन् । पालिकास्तरमा नागरिक आरोग्य सेवा केन्द्र र वडास्तरमा गाउँघर क्लिनिक सञ्चालनमा रहेका हुन् । प्रदेशका २८ स्थानीय तहमा आयुर्वेद संस्था विस्तार भएका छन् भने ५१ स्थानीय तहमा संस्था स्थापना गर्न बाँकी रहेको जनाइएको छ । १३ वटा स्थानीय तहमा भने अहलिेसम्म आयुर्वेदको कुनै पनि सेवा पुगेको छैन । प्रदेश आयुर्वेद औषधालयले जनशक्ति र भौतिक पूर्वाधारको अभावका बीच पनि ओपीडिसहित दर्जन बढी सेवाहरू दिइरहेको डा. रिजालले बताए । उनका अनुसार प्रयोशाला सेवा, क्षारसुत्र सेवा, पञ्चकर्म सेवा, ज्येष्ठ नागरिक स्वास्थ्य रक्षा तथा प्रवद्र्धनलगायतका कार्यक्रम औषधालयले सञ्चालन गर्दै आएको छ । औषधालयमा विशेषगरी नसा, ढाड, हड्डी र पेटसम्बन्धी समस्या भएका बिरामीहरू आउने गरेका छन् । त्यसैगरी, पायल्स, फिस्टुला र डाइबेटिज रोगका बिरामीहरूको पनि चाप हुने गरेको छ ।

औषधालयले सेवाग्राहीलाई ३९ प्रकारका आयुर्वेद औषधीसमेत निःशुल्क दिन्छ । ‘आयुर्वेदसम्बन्धी २३ प्रकारका औषधि निःशुल्क वितरण गर्ने भनिए पनि हामीले यहाँबाट थप केही औषधि निःशुल्क वितरण गर्ने व्यवस्था मिलाएका हौँ,’ डा. रिजालले भने । एक्सरे र भिडियो एक्सरे सेवा दिइरहेको औषधालयले स्वास्थ्य जीवनका लागि जीवनशैली व्यवस्थापनसम्बन्धी दैनिक योग ध्यान पनि सञ्चालन गर्छ । आयुर्वेद र जडीबुटीबारे जनचेतना, निःशूल्क आयुर्वेद स्वास्थ्य शिविर र पछिल्ला दिनमा सःशुल्क फार्मेसी सेवा पनि सञ्चालनमा छ । आगामी आर्थिक वर्षदेखि फिजियो थेरापी र अकुपञ्चर सेवा विस्तारको तयारी भइरहेको जनाइएको छ । कोरोना महामारीका समयमा संक्रमण नियन्त्रण र रोकथामका साथै औषधालयले संक्रमितका लागि आइसोलेसन सेवा पनि सञ्चालन गरेको थियो ।

अब सुर्खेतमै प्रदेशस्तरीय प्रयोगशाला सञ्चालन गरी आयुर्वेद औषधि उत्पादन गर्ने तयारी औषधालयको छ । प्रयोगशाला निर्माण गरेर उत्पादन सुरु भए कर्णालीका जडिबुटीको सदुपयोग हुने अपेक्षा लिइएको कविराज निरीक्षक श्रीराम आचार्यले बताए । उनले भौतिक पूर्वाधार, जनशक्तिसहितको प्रदेश रिफरल तथा सुविधायुक्त आयुर्वेद अस्पतालको विकास गर्दै लैजानुपर्ने आवश्यकता रहेको आंैल्याए । बिमासँग आयुर्वेद सेवाका कार्यक्रम नजोडिँदा पनि सेवा प्रवाहमा कठिनाइ हुने गरेको छ । बर्सेनि सेवाग्राहीको चाप बढ्दै गएसँगै सेवा प्रवाहमा पनि चुनौती थपिएको औषधालयले जनाएको छ ।

प्रकाशित मितिः   २८ असार २०७९, मंगलवार ०५:०३