प्रदेशको बजेट पारित

सुर्खेत: कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट बहुमतले पारित भएको छ । सोमवारको प्रदेशसभा बैठकले बजेट पारित गरेको हो । मुख्यमन्त्री जीवनबहादुर शाहीले बजेट पारित गरियोस् भनी गरेको प्रस्तावमा बहुमत प्रदेशसभा सदस्यले समर्थन गरेका हुन् । कर्णाली सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रूपैयाँ बराबरको बजेट ल्याएको छ ।

असार १ गते पेस भएको बजेटमाथि छलफलका क्रममा अवरोध सिर्जना भएको थियो । आर्थिक मामिला तथा योजनामन्त्रीले दिएको जवाफ चित्त नबुझेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा ‐एमाले)ले झन्डै दुई साता संसद् अवरोध गरेको थियो । असार १२ गतेदेखि अवरुद्ध बैठक असार २४ गतेबाट फेरि सञ्चालन भएको थियो । बजेट संशोधन गर्ने सर्वदलीय सहमतिपछि प्रदेशसभा सुचारु भएको थियो । सभामुख राजबहादुर शाहीको संयोजकत्वमा बसेको सर्वदलीय बैठकले विभिन्न चारबुँदे सहमति गरेको छ ।

सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबीच भएको सोही सहमतिअनुसार विनियोजित झन्डै साढे पाँच अर्ब बढी बजेट संशोधन हुने भएको छ । सर्वदलीय सहमतिमा साना सिँचाइबाहेकका १५ लाख मुनीका टुक्रे योजनामा विनियोजन गरिएको बजेट कार्यान्वयन नगर्ने, मुख्यमन्त्री रोजगार कार्यक्रमका प्रस्तावित योजनाहरू एकमुष्ट फिर्ता लिने र विनियोजन भएको रकम यथावत राखी साउन मसान्तसम्म कार्यविधिसम्मत् योजना छनोट गर्ने सहमति भएको थियो । विनियोजन किताबमा कर्णाली प्रदेशभन्दा बाहिरका भौगोलिक क्षेत्रलाई समेटेर समावेश भएका सबै योजनाहरूको नाम हटाउने समेत सहमति भएको थियो । प्रदेशसभाको अर्को बैठक बुधवार दिउँसो तीन
बजे बस्ने छ ।

प्रकाशित मितिः   २८ असार २०७९, मंगलवार ०५:०१