सतर्कतामा हेलचक्य्राइँ
पछिल्लो केही समययता घट्दै आएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणदर पुनः बढ्न थालेको छ । सक्रिय संक्रमितको संख्या न्यून रहेपनि हरेक दिन थपिँदै गएका कारण जोखिम बढेको छ । बढ्दो संक्रमणदरले त्रास पनि बढाएको छ । विज्ञहरूले सतर्कता अपनाउन अपिल गरिसकेका छन् । एकातिर जोखिम नजिकिदै छ भने अर्कोतिर आवश्यक सतर्कता अपनाउन छोडिएको छ । हेलचक्य्राइँ बढेको छ । सार्वजनिक स्थलहरूमा बनाइएका स्वास्थ्य सावधानीका संरचना प्रगोगविहीन भएका छन् । सम्बन्धित निकायले रेखदेख र मर्मत सम्भार नगर्दा लाखौँ खर्चिएर निर्माण गरिएका संरचना बेवारिसे भएका हुन् ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीव्र भएका बेला सबैजसो कार्यालय, विद्यालय तथा सार्वजनिक ठाउँमा हात धुने व्यवस्था गरिएको थियो । त्यतिबेला बनाइएका संरचना केही समय मात्रै प्रयोगमा आए । कोरोना संक्रमण घटेपछि स्वास्थ्य सावधानी अपनाउन छोडियो, पानी ट्यांकीसहित जोडिएका धारा अहिले लथालिङ्ग अवस्थामा छन् । गत वर्ष स्वास्थ्य सतर्कताका लागि हरेक कार्यालयमा सेवाग्राहीलाई हात धुने साबुनपानी र सेनिटाइजरको व्यवस्था गरिएको थियो । कोरोना संक्रमणको त्रास घटेसँगै ती संरचना प्रयोगविहीन र जीर्ण बनेका हुन् । उदाहरणका लागि जिल्ला प्रशासन कार्यालय सुुर्खेतको आँगनमा धारा जडान गरिएको ड्रम छ । ड्रमसँगै जोडिएको छ, सम्पर्करहित हात धुने मेसिन । तर, उक्त मेसिन केही महिनायता प्रयोगमा छैन । बरु त्यो मेसिन फोहोर फाल्ने डस्टबिनको रूपमा प्रयोग भइरहेको छ । ट्यांकीमा पानी छैन । न साबुनको व्यवस्था छ न त सेनिटाइजर नै । पानी नै नभएपछि त्यहाँ जाने सेवाग्राहीले हात धुने कुरै भएन । सुर्खेतकै मालपोत कार्यालय अगाडि धारासहितको ट्यांकी राखिएको छ । त्यहाँ पनि पानी छैन, साबुन छैन ।
स्वच्छताका लागि सरकारी कार्यालयहरूमा निर्माण गरिएका संरचनाका कतिपय सामग्रीसमेत हराइसकेका छन् । केही कार्यालयमा राखिएका धाराको टुटी नै छैन । कसले फुकालेर लग्यो भन्नेबारे ती कार्यालय बेखबर छन् । सरकारी निकायको लापरबाहीका कारण अहिले केहीबाहेक अधिकांश ठाउँमा स्वच्छताका लागि निर्माण गरिएका संरचना जीर्ण बनेका हुन् । कोरोना महामारीका बेला प्रयोगमा निकै कडाइ गरिए पनि हाल बेवास्ता बढेको हो । कुनै पनि विपद्बाट बच्नका लागि सतर्कता अपरिहार्य हुन्छ । सावधानीका पूर्वतयारीले सम्भावित जोखिम न्यूनिकरण गर्दछ । कोरोनाजस्ता महामारीबाट जोगिनका लागि उच्च सतर्कता अपरिहार्य छ । यसतर्फ सम्बन्धित सबैको ध्यान जान जरुरी छ । समयमै ध्यान नदिँदा पछि जोखिम थप बढ्नसक्दछ ।
प्रकाशित मितिः २४ असार २०७९, शुक्रबार ०५:०३
सम्पादकीय ।