गुणस्तर सुधार्न ‘शैक्षिक कम्युन’

सुर्खेत: मध्यपश्चिम विश्वविद्यालय ‐एमयू) ले शैक्षिक गुणस्तर वृद्धि गर्न नयाँ कार्यक्रम सुरु गर्ने भएको छ । ‘शैक्षिक कम्युन’ नाम दिइएको उक्त कार्यक्रमका लागि २५ जना अनुसन्धानकर्ता प्राध्यापकहरू आउन लागेको विश्वविद्यालयले जनाएको छ । विभिन्न विश्वविद्यालयबाट विद्यावारिधि गरेका नेपालीलाई शैक्षिक विकासमा योगदान गर्न आवधिक करार सेवामा लिन लागिएको हो । प्राध्यापकहरू सम्मिलित सो शैक्षिक कार्यक्रमलाई ‘एकेडेमिक कम्युन कम थिंक ट्यांक’ भनिएको छ । विश्वविद्यालयका अनुसार यसमा विद्यावारिधि गरेका प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापकको एउटा समूह रहनेछ । विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. नारायणप्रसाद पौडेलले शैक्षिक तथा प्राज्ञिक उन्नयनका लागि यस्तो कार्यक्रम सुरु गर्न लागिएको जनाए । प्राध्यापकहरूलाई करार सेवामा लिन विश्वविद्यालयले खुला प्रतिस्पर्धा गराएको उनले बताए ।

‘शैक्षिक कम्युन’ कार्यक्रम सुरु गर्न विश्वविद्यालयको कार्यकारी परिषद्ले गत वैशाख १० गते निर्णय गरी जेठ ३ मा विज्ञापन खोलेको थियो । उक्त विज्ञापनमार्फत आएका प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापकहरू चयनको प्रक्रिया अन्तिम चरणमा पुगेको रजिष्ट्रार पौडेलले बताए । उनका अनुसार यस कार्यक्रमका लागि एक सय ३५ जना अनुसन्धानकर्ता प्राध्यापकहरूको आवेदन परेको थियो । तीमध्ये ९१ जना योग्यता सूचीमा समावेश भएका छन् । विश्वका २१ देशका विश्वविद्यालयबाट विद्यावारिधि गरी विभिन्न विधामा अनुसन्धान गरिरहेका र पढाइरहेकाहरू योग्यता सूचिमा परेका हुन् । ‘प्रतिस्पर्धीबाट एमयूका विभिन्न संकायअन्तर्गत विषयगत विज्ञका रूपमा २५ जना छनोट गरिने छ, रजिष्ट्रार पौडेलले भने, ‘त्यसका लागि सेवा आयोगले काम अघि बढाएको छ ।’ शैक्षिक गुणस्तर नयाँ उचाइमा पुग्ने अपेक्षाका साथ यस्तो कार्यक्रम सुरु गर्न लागिएको विश्वविद्यालय प्रशासनले जनाएको छ । एमयूलाई उच्च शिक्षाको क्षेत्रमा देशकै केन्द्रका रूपमा स्थापित गर्न यस्तो अभियान थालिएको पदाधिकारीहरूको दाबी छ । शैक्षिक उन्नयनका लागि सञ्चालन गर्न लागिएको ‘शैक्षिक कम्युन’ का लागि विश्वविद्यालयले चार करोड रूपैयाँ कोषमा जम्मा गरेको छ । उच्च शिक्षा सुधार परियोजना (एचइआरपी) अन्तर्गत प्राप्त अनुदानमध्ये उक्त बजेट यो अभियानका लागि छुट्याइएको रजिष्ट्रार पौडेलले बताए ।

विश्वविद्यालयका अनुसार शैक्षिक कम्युनमा नियुक्त हुनेलाई ६ महिनाका लागि करार गरिनेछ । उनीहरूले दैनिक चार घण्टा पढाउने छन् भने तीन घण्टा प्राध्यापक र कर्मचारीसँग काम गर्नेछन् । प्राध्यापकसँगै काम गर्दा विश्वविद्यालयको नीतिगत सुधार र रणनीति निर्माणमा मद्दत पुग्ने विश्वास लिइएको छ । त्यस्तै, विश्वविद्यालयले सबै पाठ्यक्रम पुनः अवलोकन गरी सुधार गर्न खोजेकाले त्यसमा पनि सहयोग मिल्ने अपेक्षा गरिएको छ । एमयूले आगामी आर्थिक वर्षदेखि सबै पाठ्यक्रम नयाँ परिवेशअनुसार परिमार्जन गरिने बताएको छ । पाठ्यक्रममा अभ्यास सिकाइलाई बढी जोड दिइने भएको छ । विश्वविद्यालयका प्रा.डा. चन्द्रप्रसाद रिजालले आउँदो पाँच वर्षभित्र प्रत्येक विषयमा सैद्धान्तिक कक्षा ४० प्रतिशत र अभ्यास सिकाइ ६० प्रतिशत हुने गरी पाठ्यक्रम परिमार्जन गर्न लागिएको बताए ।

शैक्षिक कम्युन अन्तर्गत करारमा नियुक्त हुने २५ जना प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापकमध्ये कतिपयले आफ्नोतर्फबाट पनि शैक्षिक परियोजना ल्याउने छन् । त्यस्ता परियोजनालाई विश्वविद्यालयको कार्यकारी परिषद्बाट अनुमोदन गरिने भएको छ । परियोजना सञ्चालनबापत प्राध्यापकले पाउने रकमको केही प्रतिशत विश्वविद्यालयका लागि जम्मा गर्नुपर्ने भनिएको छ । आफूले ल्याएको परियोजनाका अलावा प्राध्यापकहरूले विश्वविद्यालयको शैक्षिक गुणस्तर बढाउनका लागि पनि काम गर्ने छन् । हाल ६ महिनाका लागि करार गरिए पनि ती प्राध्यापकले आफ्नो परियोजना ल्याए वा विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा प्रभाव पार्न सकेमा मूल्यांकनका आधारमा करार थप गर्ने व्यवस्था गरिने विश्वविद्यालय प्रशासनले जनाएको छ । प्रा.डा. रिजाल भन्छन्, ‘प्रभाव राम्रो भएन भने हामी ६ महिना होइन, त्यसअघि नै उहाँहरूलाई बिदा गर्न पनि सक्ने छौँ ।’ करार गरिएका प्राध्यापकलाई विश्वविद्यालयले आवासीय रूपमा राख्ने उनले बताए । प्रा.डा. रिजालका अनुसार शैक्षिक कम्युन कार्यक्रम सञ्चालनका लागि प्राध्यापक नियुक्त गर्ने कार्यविधि बनाइए पनि उनीहरूलाई परिचालन गर्ने कार्यविधि भने बनिसकेको छैन । केही दिनमा परिचालन कार्यविधि पनि तयार हुने उनी बताउँछन् ।

शैक्षिक कम्युनका लागि प्राध्यापकहरू छान्दा विशेषगरी अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित लेखलाई प्राथमिकता दिइएको छ । प्राध्यापकले नौ, सहप्राध्यापकले सात र उपप्राध्यापकले पाँच वटा लेख अन्तर्राष्ट्रिय जर्नलनमा प्रकाशित गरेको हुनुपर्ने कार्यविधिमा बनाइएको छ । त्यसरी करारमा नियुक्त भएका प्राध्यापकहरू सिधै कक्षाकोठामा गएर विद्यार्थीसँग अन्तक्रिया गर्ने भएकाले त्यसबाट प्रत्यक्ष रूपमा विद्यार्थीको शैक्षिक विकासमा सहयोग पुग्ने प्रा.डा. रिजालले बताए । ‘प्राध्यापकसँगै परियोजना पनि आउने भएकाले विद्यार्थीको अभ्यासगत सिकाइसँगै आम्दानीमा पनि मद्दत पुग्ने छ,’ उनले भने । मध्यपश्चिम विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले ‘योङ प्रोफेसर’ को रूपमा सहभागी हुने मौका समेत पाउने उनको भनाइ छ । शैक्षिक कम्युन कार्यक्रमबाट समग्रमा विश्वविद्यालयको प्राज्ञिक विकासमा फाइदा हुने बताइएको छ । हाल एमयूले आठ वटा संकाय सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मितिः   २४ असार २०७९, शुक्रबार ०५:०५