प्रदेशसभाको गतिरोध कायमै
सरकार र प्रतिपक्ष आ–आफ्नो अडानबाट पछि नहट्दा प्रदेशसभाको बैठक लामो समयदेखि बस्न नसकेको हो ।
सुर्खेत: प्र्रमुख प्रतिपक्ष दलको अवरोधका कारण झन्डैै दुई सातादेखि कर्णाली प्रदेशसभाको बैठक सञ्चालन हुन सकेको छैन । बिहीवारका लागि तय गरिएको बैठक पनि नबसेरै स्थगित भएको छ । अवरुद्ध प्रदेशसभा खुलाउन बिहीवार बिहान सभामुख राजबहादुर शाहीको पहलमा सर्वदलीय बैठक बसेको थियो । उक्त बैठकमा पनि प्रदेशसभा सञ्चालन गर्नेबारे सहमती नजुटेको हो । सर्वदलीय बैठकमा सहमतिको प्रयास विफल भएपछि संसद् बैठक थप अनिश्चित भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले असार १२ गतेको प्रदेशसभा बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि आपत्ति जनाउँदै अवरोध सुरु गरेको थियो । त्यसयता प्रदेशसभाको बैठक बस्न सकेको छैन । बिहीवारको सर्वदलीय बैठकले कुनै निष्कर्ष निकाल्न नसकेपछि शुक्रवार ‐आज) बिहान ८ बजे पुनः बैठक बस्ने भएको छ । बिहीवार बस्ने कार्यतालिका रहेको संसद् बैठक शुक्रवार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ । बिहान सहमति जुटाएर दिउँसो संसद् सञ्चालन गर्ने कसरतमा नेताहरू लागेका छन् । छलफल सहमतिउन्मुख रहेकाले शुक्रवार बिहान बस्ने सर्वदलीय बैठकबाट निकास निस्कने अपेक्षा गरिएको सभामुख शाहीले बताए ।
प्रदेशसभा बैठक अनिश्चित भएपछि कर्णाली सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि दफाबार छलफल हुन सकेको छैन । सरकार र प्रतिपक्ष आ–आफ्नो अडानबाट पछि नहट्दा प्रदेशसभाको बैठक लामो समयदेखि बस्न नसकेको हो । प्रमुख प्रतिपक्ष दल एमालेले मुख्यमन्त्री रोजगार कार्यक्रम कार्यविधिअनुसार सञ्चालन हुनुपर्ने, बजेटमा सुदुरपश्चिम प्रदेशका तीनवटा जिल्लाका लागि छुट्याइएको योजनाको बजेट हटाउनुपर्ने र टुक्रे योजनामा विनियोजन गरिएको बजेट संशोधन गरिनुपर्ने माग राखेको छ । त्यस्तै, सरकारले विगतमा भएका सर्वदलीय सहमतिको कार्यान्वयन गर्नुपर्ने एमालेले जनाएको छ ।
प्रकाशित मितिः २४ असार २०७९, शुक्रबार ०५:०२
साझा बिसौनी ।