असारे विकासको दुर्गती

आर्थिक वर्ष सकिनै लाग्दा असारे विकासले व्यापकता पाएको छ । बजेट खर्च बढाउन गरिने विकास निर्माण निकै अव्यवस्थित छ । असारे विकासको प्रवृत्तिले वीरेन्द्रनगर बजार क्षेत्र यतिबेला अस्तव्यस्त बनेको छ । बजारको मुख्य सडक विस्तारका लागि पानी र विद्युतका संरचना सार्ने क्रममा लापरबाही भएको पाइएको छ । सडक विस्तार कार्यमा भइरहेको लथालिङ्गले व्यवसायी, बजार क्षेत्रका बासिन्दा र बटुवा तथा सवारी साधनहरूलाई आवतजावतमा नै समस्या भइरहेको हो । हचुवाको भरमा विकास निर्माणका काम गर्दा बजार नै अस्तव्यस्त बनेको स्थानीयको गुनासो छ ।

केही दिनयता बजारमा खानेपानीको पाइपलाइन स्थानान्तरण गर्ने काम चलिरहेको छ । सोही क्रममा पसल र घर अगाडी ठूला खाल्डा खनिएका छन् । पाइप सारिसक्दा पनि ती खाल्डा भने पुरिएको छैन । लाइन खन्दा डोजरको प्रयोग गरिएकाले धेरै उपभोक्ताका पानीका पाइपसमेत काटिएका छन् । यस्तो विकास शैलीले नागरिक आजित भएका छन् । पाइप लाइन सार्दा पारिएका खाल्डा नपुरिदा दुर्घटनाको जोखिम पनि उत्तिकै रहेको छ । वीरेन्द्रनगरको मंगलगढीदेखि गणेशचोकसम्म सडक विस्तार योजनाको टेण्डर भएको नौ महिनापछि केहीदिन अघिबाट खानेपानीका पाइपलाइन हटाउन सुरु गरिएको छ । खानेपानीका संरचना सारेपछि मात्रै सडक विस्तारको काम अघि बढाइने भएको छ । सडक क्षेत्रमा पर्ने विद्युतका संरचना सार्दासमेत लामो समय बजार क्षेत्रका बासिन्दा मर्कामा परेका थिए । सडक क्षेत्रको अवरोध व्यवस्थित तरिकाले समयमै नहटाइँदा स्थानीयलाई सास्तीसँगै सडक विस्तार कार्यमा पनि ढिलाइ भएको हो । निर्माणको ‘साइड’ खाली नहुँदा ठेक्का सम्झौता भएको नौ महिना बितिसक्दा पनि कामको थालनी गर्न नसकिएको ठेकेदार कम्पनीले बताउँदै आएको छ । सडक विस्तारका लागि गएको भदौ १७ गते पूर्वाधार विकास निर्देशनालयले खड्का निर्माण सेवा कोहलपुरसँग निर्माण सम्झौता गरेको थियो । झन्डै पाँच महिना लगाएर विद्युतका संरचना सारिए पनि सडकको दुईतर्फ रहेका खानेपानीका पाइपलाइनको काम अझै सम्पन्न भएको छैन ।

पाइपलाइन सार्ने काम मात्र नभइ बजार क्षेत्रमा अधिकांश निर्माणका काम असार लागेपछि सुरु भएका छन् । ढल निकास र सडक स्तरोन्नतिजस्ता काम सुरु गरिएपनि लामो समयसम्म अधुरै छोड्ने गरिएको छ । हतारमा गरिने विकास कार्य गुणस्तरीय हुँदैन । यसतर्फ सम्बन्धित निकायले ध्यान दिन जरुरी छ । यसका साथै व्यस्त बजारमा विकास कार्य सञ्चालन गर्दा व्यवस्थित र प्रभावकारी ढंगले सञ्चालन गर्ने वातावरण बनाउनेतर्फ उत्तिकै सचेत हुनु अपरिहार्य छ ।

प्रकाशित मितिः   २१ असार २०७९, मंगलवार ०५:०३