सवारी कारबाहीबाट तीन करोड ८० लाख राजस्व

सुर्खेत: चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ट्राफिक प्रहरीले नियमविपरीत सञ्चालन भएका सवारी साधनको कारबाहीबाट तीन करोड ८० लाख राजस्व संकलन गरेको छ । प्रहरीले ११ महिनाको अवधिमा नियम उल्लंघन गर्ने ३६ हजार तीन सय ६० सवारी साधन कारबाही गर्दा उक्त राजस्व संकलन भएको हो । पछिल्ला दिनमा प्रदेशभर सवारी साधनको चाप बढेको छ । सवारीको संख्या बढेसँगै ट्राफिक नियमको उल्लघंनसमेत बढी नै हुने गरेको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख भुवनेश्वर तिवारीले बताए । उनका अनुसार प्रहरीले कारबाहीभन्दा पनि सचेतनाका कार्यक्रममा जोड दिँदै आएको छ ।

सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणमा प्रहरीको सक्रियता बढेकाले राजस्वसमेत धेरै उठ्ने गरेको जनाइएको छ । नियमविपरीत चल्ने सवारी साधन र मादक पदार्थको सेवन गर्ने चालकलाई कारबाही गरिँदै आएको छ । सवारी धनी र चालकहरूलाई पनि जरिवाना तिराउने गरिएको हो । सवारी चालक अनुमति–पत्र र सवारी धनी प्रमाण–पत्र विना सवारी साधन चलाउने, सवारी साधनको स्वरूप परिवर्तन गर्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने र क्षमताभन्दा बढी यात्रु बोक्नेलगायतका गतिविधि भए कारबाही गर्ने गरिएको जनाइएको छ ।

कर्णालीमा गएका तीन वर्षमा सवारी कारबाहीमा झन्डै साढे ११ करोड राजस्व उठेको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५÷०७६ मा ५९ हजार तीन सय ४१ सवारी साधन कारबाहीमा परेका थिए । ती सवारी साधनको कारबाहीबाट तीन करोड ३८ लाख ८८ हजार पाँच सय राजस्व संकलन भएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७६÷०७७ मा नियम मिचेर सञ्चालन भएका १९ हजार सात सय ६४ सवारी साधनलाई कारबाही गर्दा एक करोड ७२ लाख ६४ हजार तीन सय रूपैयाँ राजस्व जम्मा भएको थियो । गएको आर्थिक वर्ष आर्थिक वर्ष २०७७÷०७८ मा २९ हजार आठ सय ९२ वटा सवारी कारवाहीमा परेका थिए । उक्त वर्ष दुुई करोड ४४ लाख ८९ हजार पाँच सय राजस्व संकलन भएको हो । प्रहरीले ट्राफिक नियमको पालना गराउन सडक चेकजाँचमा कडाइ गर्नुका साथै समुदायस्तरमा सचेतनाका कार्यक्रममा पनि जोड दिएको छ ।

यसैबीच, चालुु आर्थिक वर्षको यो अवधिसम्म कर्णालीमा तीन वर्षयताकै सबैभन्दा धेरै संख्यामा सवारी साधन दुर्घटना भएका छन् । यो वर्ष प्रदेशभर तीन सय ६९ सवारी दुुर्घटना भएका हुन् । दुर्घटनामा परी एक सय ६५ जनाको ज्यान गएको छ भने तीन सय जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुनेको संख्या पनि तीन वर्षयताकै धेरै हो । आर्थिक वर्ष २०७५÷०७६ मा एक सय ४६ सवारी साधन दुुर्घटनामा परेका थिए । उक्त वर्ष सवारी दुर्घटनामा १९ जनाको मृत्युु भएको थियो । सोही वर्ष एक सय ३१ जना गम्भीर घाइते भएको प्रहरीको विवरण छ । आर्थिक वर्ष २०७६÷०७७ मा दुुई सय ३६ सवारी साधन दुर्घटनामा ९७ जनाको मृत्यु भएको थियो । एक सय ६९ गम्भीर घाइते भएका थिए । आर्थिक वर्ष २०७७÷०७८ मा दुुई सय ९१ सवारी साधन दुुर्घटनामा पर्दा ९८ जनाको ज्यान गएको थियो । गत वर्ष भएका सवारी दुर्घटनामा एक सय ६९ गम्भीर र तीन सय १९ जना सामान्य घाइते भएका थिए ।

प्रकाशित मितिः   २१ असार २०७९, मंगलवार ०५:०३