प्लस टू पछि के पढ्ने ?

‘प्लस–टू’ किशोरावस्थाले छोड्नै लाग्दाको उमेर हो । यो उत्तेजनाको वेग र बहकिने मनको आवेगले भरीपूर्ण अवधि पनि हो । उत्सुकता र साथीहरूको लहलहैमा कुलतको शिकार हुने जोखिम उत्तिकै हुन्छ । सजगता अपनाएर जोगिनेहरू कम र यसको सिकार बन्नेहरू धेरै भेटिन्छन् ।

जीवन भर्खर सुरु भएको महसुस यही उमेरमा त हुन्छ । कोही नजिक भयो भने यो कहिल्यै टाढा हुँदैनजस्तो लाग्छ । कोही टाढा भइगयो भने अब कसैसँग नजिक हुँदिन लाग्छ । लागेको मात्र न हो । केही समयपछि अरु केही लाग्न सुरु हुन्छ । हुन त कोही आउँदैमा र जाँदैमा जिन्दगी बदलिँदैन् । बदलिन्छ त जिउने तरिका । पहिले एकखालको मनस्थिति बनेको हुन्छ । पछि अर्कै खालको परिस्थिति बनिसकेको हुन्छ ।

यो प्रसङ्ग किन जोडेको हुँ भने प्लस टू दिँदा उमेरअनुसार धेरैजना एकअर्काप्रति आकर्षित हुन्छन् । कतिपयको पढाइमा भन्दा धेरै ध्यान केटा वा केटीप्रतिको आकर्षणमै जान्छ । जसको नतिजा स्वरूप पढाइमा राम्रो प्रगति गरेको देखिँदैन । उनीहरू अन्त्यमा पछुताउनुपर्ने अवस्थामा पुग्छन् । र, हरेक वर्ष यो गल्ति दोहोरिरहन्छ । यो वर्ष पनि दोहोरिनेछ ।

यो नयाँ विषय हुनेछैन । यसलाई सामान्य र प्राकृतिक रूपमा ग्रहण गर्नु पर्दछ । जे हुनु थियो भइहाल्यो भन्ने सोच्नु राम्रो हुन्छ ।

मैले पढ्ने समयमा पढिन भनेर पछुताएर अब फाईदा केही पनि छैन । जुन जीपीए आएको छ । त्यो जीपीएबाट राम्रो कुन विषय पढ्न पाइन्छ । त्यहीअनुसार योजना बनाएर विषय छनौट गर्दा राम्रो हुन्छ ।

तपाईंको रुची जुन विषयमा भए पनि सँगै एकेडेमिक पढाइलाई अगाडी बढाउँदा यसले भोलिका दिनहरूमा आत्मविश्वास बढाउनमा भूमिका खेल्नेछ । मैले धेरै विद्यार्थीहरू देखेको छु, जसले म पढाइ छोडेर आफूले मन परेको काम गर्छु भन्दछन् । यो सकरात्मक पक्ष हो । तर, यो भावनात्मक र अपरिपक्व निर्णय पनि हुनसक्छ ।

तपाईं एकेडेमीक पढाइ छोडेर कुन विधामा किन जाँदै हुनुहुन्छ ? यसको ख्याल गर्नुस् । के एकेडेमिक पढाइ र मेरो रुचिको क्षेत्रमा म समय दिन सक्छु कि नाई ? यदि सक्छु, यसको उत्तर हो भने एकेडेमिक पढाइ र रूचिको कार्यसँगै गर्नुस् । यदि सक्दिन भन्ने लाग्छ भने तपाईंको जीवनलाई लिएर जुन निर्णय सही हुन्छ । उक्त निर्णय लिँदा राम्रो हुनसक्छ । आगामी दिनहरूमा तपाईंले आफ्नो रुचिको काममा समय दिँदा एकेडेमिक पढाइमा समय दिन पाउनु भएन भने त्यसपछि एकेडेमीक पढाइलाई बीचैमा रोक्दा पनि हुन्छ । नेपालको हकमा हरेक व्यक्तिले स्नातकसम्मको शैक्षिक योग्यता हासिल गर्नु नै पर्छ । नत्रपछिका दिनहरूमा तपाईंको योग्यतालाई लिएर प्रश्न उठ्छन् । त्यो समयमा तपार्इंको योग्यता जवाफ बन्नेछ ।

आफ्नो प्यासनको लागी भनेर नेपालमा एकेडेमिक पढाइ छोड्नेहरू एकदमै कम छन् । यदि कोही कसैले छोडे भने पनि संसारका सफल मान्छेहरूको सिको गरेका हुन सक्छन् । जुन बकवास हो ।

नेपालमा एकेडेमीक पढाइसँगै आफ्नो प्यासनलाई पनि निरन्तरता दिन सकिन्छ । अन्तराष्ट्रियस्तरमा अर्थात् विकसित देशहरूमा जुन विषय छनौट ग¥यो । मान्छेपछि गएर त्यसैको जानकार वा विज्ञ बन्छ । नेपालमा जुन विषय पढेर जे बने पनि हुन्छ । यो नेपालको शिक्षा प्रणालीको कमजोर पक्ष हो ।

केही एकेडेमिक विषयहरू भने छन् । जसलाई धेरै समय दिनुपर्छ । उदाहरणका लागि प्लस टू मा विज्ञान संकाय पढेकाहरूका लागि एमबिबिएस, इन्जिनियरिङ्ग, व्यवस्थापन संकाय पढेकाहरूका लागि सिए, बिबिए, कानुन संकाय पढेकाहरूका लागि स्नातक तहको कानुन संकाय आदि ।

सरसर्ती बुझ्ने हो भने प्लस टूपछि विशेषगरी टेक्निकल क्षेत्र छनौट गरियो भने समय धेरै दिनुपर्छ । प्लस टूपछिका टेक्निकल विषयहरू एकदमै जटिल हुने र समय धेरै दिनु पर्ने भएकोले यिनी विषयहरू तपार्इंको रुचि, प्यासन, सपना, प्रेम सबैसँग जोडिएको हुनुपर्छ । अनि मात्र तपाईंको सफलताको सम्भावनाको ग्राफ बढ्छ । रुचि एकातिर काम अर्काेतिर भयो भने जिन्दगी पेन्डुलम बन्छ । तनावग्रस्त हुन्छ ।

तपाईंको रुचि पढ्नमा भन्दा अन्य क्षेत्रमा हुनसक्छ । त्यस्तो अवस्थामा तपाईंको जीपीए कम आउने सम्भावना हुन्छ । अब तपाईले एकेडेमिक विषयमा कम समय दिनुपर्ने विषय छनौट गर्नुस् । र, बाँकी समय आफ्नो रुचिको कार्य गर्नुस् । यो तरिका राम्रो हुन्छ होला । यसमा तपाईंको एकेडेमिक अध्ययन र रुचिको सन्तुलन हुनजान्छ । जुन धेरै राम्रो हो ।

जीपीए कम आउनेहरू कमजोर हुँदैनन् । उनीहरूको रूचि स्कुल, कलेज वा विश्वविद्यालयमा पढाइ हुने विषयभन्दा फरक विषयमा हुन्छ । यसको पहिचान अभिभावक शिक्षक र विद्यार्थी मिलेर गर्नु पर्ने हो तर यो भइरहेको छैन । यो नेपालको शिक्षा प्रणालीको अर्को कमजोरी हो । अभिभावक, शिक्षक र विद्यार्थी तिनै पक्षको उपस्थितिमा मात्र सही पठनपाठन गर्न र गराउन सकिन्छ । आज पनि कुनै विद्यार्थीलाई तिम्रो रुचिको विषय कुन हो भनेर सोधियो भने यो त विद्यालयमा पढाइ हुँदैन भन्छ । अब प्रश्न उठ्छ, त्यसोभए विद्यालयमा के पढाइ हुन्छ त ?

त्यसैले कुनै पनि विद्यार्थीले कम जीपीए आयो भनेर हतास वा दुःखी हुन जरुरी छैन । हाम्रो शिक्षा प्रणाली नै यस्तो छ । तपाईंको नतिजालाई शिक्षा प्रणालीको नतिजाको रूपमा लिनुस् र आफ्नै बलबुतामा जे गर्न सक्नुहुन्छ । त्यसका लागी पाईला अगाडी बढाउनुस् ।

तपाईं कुनै अर्काे क्षेत्रमा उत्कृष्ट हुनको लागि जन्मनु भएको हो । त्यसमा तपार्इंले आफ्नो अभ्यासलाई निरन्तरता दिनुनै पर्छ । अहिले तपाईंले आफ्नो रुचिको विषय पढ्नु भएन भने पनि भोलिका दिनमा तपाईं आफ्नो रूचि अनुसारकै कार्यमा फर्कनु हुन्छ । यसमा कुनै शंका छैन ।

मान्छे कि त आफ्नो रूचिअनुसारको कार्य गरेर राम्रो जिन्दगी बाँच्न सक्छ । कि त जुन कार्य गर्दछ, उक्त कार्यलाई प्रेम गरेर राम्रो जिन्दगी बाँच्न सक्दछ । यदि यसो भएन भने कर्मले दिने असन्तुष्टि त छँदैछ । हरेक दिन तनाव र दुःखी भएर बाँच्नुपर्छ ।

जसरी हुन्छ, आफ्नो पढाइ र रुचिको विषयलाई सन्तुलन गरेर अगाडी बढाउने कोसिस गर्नुस् । यसले तपार्इंलाई आशा र उत्पे्ररणा प्रदान गर्दछ ।

अन्तिममा,

१. सकभर आफ्नो रूचिको विषय छनौट गर्नुस् । यदि त्यसो भएन भने पनि एकेडेमीक पढाइ र रुचिको विषयलाई सन्तुलन गरेर अगाडी बढाउनुस् ।
२. तपाईंको सपनाको जुन करियर छ । त्यसमा हजारौं मान्छेहरू पतिस्पर्धा गरिरहेका छन् । तपाईं सर्टिफिकेटभन्दा फरक के गर्न सक्नुहुन्छ । यो समयमै ख्याल गर्नुस् ।
३. पैसा सर्टिफिकेटलाई नभइ ज्ञान र सिपको सम्मानमा दिइने रिवार्ड हो भन्ने बुझ्नुपर्छ ।
४. जिन्दगी सानदार बनाउन एकेडेमीक पढाइमा उत्कृष्ट हुनुपर्छ भन्ने छैन । तपाईंले गर्ने सानो भन्दा सानो काम किन नहोस् त्यसमा उत्कृष्ट भए पुग्छ ।
५. तपाईंलाई केही सल्लाह, सुझाव चाहिए जुन विषयमा तपार्इंलाई सल्लाह, सुझाव चाहिएको छ । उक्त विषयमा उत्कृष्टता हासिल गरेको व्यक्तिसँग जानुस् । नत्र भने गुगल र यूटुब जस्ता साइटहरूमा आफै खोज्ने र सिक्ने बानीको विकास गर्नुस् । यसले पछिसम्म सहयोग गर्नेछ ।

– आदर्श विक्रम सिंह

प्रकाशित मितिः   १९ असार २०७९, आईतवार ०५:०४