क्षतिग्रस्त संरचनाको मर्मत

मनसुन सुरु भएसँगै दैनिकजसो वर्षा भइरहेको छ । आकाशे वर्षाले कृषकहरू रोपाइँको चटारोमा छन् । तर यही बेला वीरेन्द्रनगरबासीले भने खानेपानीको संकट खेपिरहेको छन् । धारामा पानी आउँदैन । कहिलेकाहीँ आउने पानीको पनि भर हुँदैन । कतै ४÷५ दिनको अन्तरमा आउँछ भने कतै हप्ता दिनको फरकमा आउने गरेको छ । कतिपय क्षेत्रमा त महिनादिनसम्म पानी नआएको गुनासो नागरिकको छ । विगतका वर्षहरूमा गर्मीयाममा हुने पानीको संकट यसपटक भने वर्षात्सम्मै लम्बिएको छ ।

भौतिक संरचना निर्माण गर्दा भएका क्षति मर्मत नगर्दा पनि खानेपानी वितरण प्रभावित बनेको छ । वीरेन्द्रनगरको वडा नं. ३ स्थित पतेनी रोडका उपभोक्ताले विगत एक महिनादेखि पानीको हाहाकार खेपिरहेका हुन् । सडक निर्माणका क्रममा पाइप लाइन काटिएका छन् । तर, मर्मत नगरिँदा त्यो क्षेत्रमा खानेपानीको संकट थप चुलिएको छ । यरीचोकदेखि पतेनी रोडसम्म नयाँ जडान गरिएका धारामा केही दिनको अन्तरालमा पानी आए पनि पुुराना धारामा एक महिनायता पानी नै नआएको हो । यस विषयमा टोल सुुधार समितिदेखि वडा नगर र सुुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाको ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको उपभोक्ताको गुनासो छ । वीरेन्द्रनगरका वडा नं. ९, १०, ११ र १२ मा पनि खानेपानीको उस्तै संकट छ । हप्तौदेखि धारामा पानी नआउँदा उपभोक्तालाई निकै कठिनाइ भइरहेको छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरले यतिबेला खानेपानीको चरम संकट खेपिरहेको छ । खानेपानीको यस्तो हाहाकार पहिलो पटक भएको भने होइन । नगरबासीले वर्षाैंदेखि पानीको अभाव झेल्दै आएका छन् । पछिल्लो समय समस्या झनै विकराल बनेको छ । विगत केही वर्षदेखि माग धेरै र आपूर्ति न्यून हुँदा आलोपालो पानी वितरण गरिँदै आएको थियो । यो वर्ष पनि असार लाग्नुअघि एक साताको फरकमा एक पटक भएपनि उपभोक्ताका धारामा पानी आउथ्यो । तर, असार सुरु भएयता धारामा फिटिक्कै पानी आएको छैन । मनसुनको महिनामा पनि वीरेन्द्रनगर काकाकुलजस्तै बनेको छ ।

वीरेन्द्रनगर उपत्यकामा सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले खानेपानी उपलब्ध गराउँदै आएको छ । वर्षातसँगै पानीको मुहान नै प्रभावित बनेको छ । केही दिनयता मुहानमा नै पिउनयोग्य पानी नहुँदा वितरण नगरिएको संस्थाले जनाएको छ । पानी मुहानमै लेदो र धमिलो छ । बाढी र पहिरोले खानेपानीका कतिपय संरचनामा समेत ठूलो क्षति पुगेको छ । तत्कालका लागि क्षति भएका संरचनाहरू मर्मत गरेर पानी विरतण सहज बनाउन जरुरी छ भने दीर्घकालीन विकल्पको खोजी र निर्माण गर्न ढिला गर्नु हुँदैन ।

प्रकाशित मितिः   १९ असार २०७९, आईतवार ०५:०३