बजार अनुगमन फितलो

सुर्खेत: बजारमा देखिएका बेथिति रोक्न स्थानीय सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको सरोकारवालाले बताएका छन् । शनिवार वीरेन्द्रनगर नगरपालिकाले आयोजना गरेको बजार व्यवस्थापन, अनुगमन तथा उपभोक्ता हित संरक्षणसम्बन्धी अन्तरक्रियाका सहभागीले यस्तो बताएका हुन् । बजार व्यवस्थित गर्न आफै कानुन बनाएर कार्यान्वयन गर्ने अधिकार रहेको नगरपालिकाले अपेक्षित सक्रियता नदेखाएको सरोकारवालाको टिप्पणी छ । बजार व्यवस्थित गर्न अनुगमनका थुप्रै संयन्त्र भएपनि त्यसको परिणाम सोचेअनुरूप नभएको सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले बताए । प्रभावकारी अनुगमन र बदमासी गर्नेमाथि कारबाही नहुँदा बजार अनियन्त्रित भएको उनले जनाए । ‘नगरको भूमिका देखावटी मात्रै भयो,’ उनले भने, ‘सिजनमा एक÷दुई पटक बजार हेर्दैमा बेथिति न्यूनीकरण हुँदैन ।’ बजार कसैको नियन्त्रणमा नरहेको भन्दै कँडेलले नियमित र प्रभावकारी अनुगमनको खाँचो रहेको औंल्याए । ‘अन्डर बिलिङ’का कारण उपभोक्तादेखि व्यवसायीसम्म मर्कामा परिरहेकाले यसको समस्या हल गर्न पनि नगरपालिका लाग्नुपर्ने उनले बताए ।

सरोकारवालाले बजार अनुगमन औपचारिकतामा सीमित भएको समेत बताएका छन् । उपभोक्ता हित सरक्षण मञ्च सुर्खेतका सचिव बिन्दुलाल रेग्मीले वीरेन्द्रनगर नगरपालिकाले बजार अनुगमन कार्यविधि, ऐन र नियमावली बनाइसकेको अवस्थामा पनि त्यसको कार्यान्वयन फितलो भइरहेको जनाए । ‘बजारमा अनुगमन भइरहेकै छ,’ उनले भने, ‘उपभोक्ता ठगिने क्रम भने रोकिएको छैन, बनाएका ऐन÷कानुन कडाइ साथ लागू नगर्दासम्म सुधार हुने छाँट देखिँदैन ।’ नियामक निकायको कमजोर उपस्थितिकै कारण व्यवसायीहरूमा अटेरीपनासमेत बढेको उनले बताए । स्थानीय सरकारसँगै व्यवसायीहरूको छाता संस्था उद्योग वाणिज्य संघले पनि बजार व्यवस्थापनमा जिम्मेवार बनेर अगुवाइ गर्नुपर्ने सरोकारवालाले बताएका छन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतका प्रमुख भेषराज थापाले संयुक्त अनुगमन भइरहे पनि कारबाहीको दायरामा कमै व्यक्ति तथा फर्महरू आउने हुँदा प्रभावकारितामा प्रश्न उठ्ने गरेको बताए । उनले बजारमा हुने कैफियत नियन्त्रणका लागि अरु निकायभन्दा नगरपालिकाले बढी जोड दिनुपर्ने सुझाए । ‘नगरपालिकाले अनुगमनमा नै बेवास्ता गरेकोजस्तो देखिन्छ,’ उनले भने, ‘संयुक्त अनुगमनमा नगरको प्रतिनिधित्वसमेत कम हुने गरेको छ ।’ उनका अनुसार पछिल्ला वर्षहरूमा बजार क्रमिक रूपमा सुधार भने हुँदै गएको छ । नगरपालिकासँग आवश्यक कानुन र अधिकार भएपनि बजार अनुगमनका लागि प्राविधि जनशक्ति तथा स्रोत–साधनको अभाव रहेको बताइएको छ । नगर उपप्रमुख निलकण्ठ खनालले आगामी दिनमा कम्तीमा महिनाको एक पटक भएपनि बजार अनुगमन गर्ने र सुरुमा सचेतनाका कार्यक्रमा जोड दिइने जनाए । बजारमा बेथिति रहेको भन्दै खनालले नगरले सरोकारवालासँग समन्वय गरेर अघि बढ्ने बताए ।

वीरेन्द्रनगरका सबैजसो वडामा बजार विस्तार भइरहेकाले वडास्तरसम्मै अनुगमन संयन्त्र बनाइनुपर्ने सरोकारवालाले सुझाएका छन् । बजार अनुगमनमा अहिलेसम्म भएका प्रयासलाई संस्थागत गर्दै नगर र वडाहरूले प्रभावकारी कार्ययोजना बनाएर अघि बढ्ने तयारी गरिएको वडा नं. ९ का अध्यक्ष ऋषि गिरीले बताए । उनले अनुगमनको ठोस योजना निर्माण र गुणस्तर जाँच गर्ने ल्याबका लागि पनि आवश्यक पहल गरिने जनाए ।

प्रकाशित मितिः   १९ असार २०७९, आईतवार ०५:०२