समृद्ध बन्दै जगदुल्ला

जुम्ला: जुम्लाबाट चार घण्टाको मोटर यात्रापछि जुम्ला, डोल्पा र जाजरकोटको सिमाना मौरीलेक पुगिन्छ । समुन्द्री सतहबाट चार हजार मिटरको उचाईमा अवस्थित मौरीलेकमा झण्डै एक दर्जन स–साना घरहरू छन् । वर्षायामको झरी होस् या हिउँदको मुटु कमाउने जाडो, मौरीलेकमा यिनै घरहरूले जुम्ला, डोल्पा र जाजरकोटका बटुवालाई कुखुराको प्वाँख झैं लुकाउन्छन् ।

डोल्पा, भौगोलिक रूपमा नेपालकै ठूलो जिल्ला । डोल्पालीका दुःखका कथा पनि ठूलै छन् । आठ स्थानीय तह भएको डोल्पा क्रमशः विकास र प्रविधिसँग जोडिँदै छ । जुम्लासँग सिमाना जोडिएको जगदुल्ला गाउँपालिका सडक सञ्जालमा जोडिएपछि यहाँका स्थानीयले पिठ्युँमा नुन–चामलको भारी बोक्नुपर्ने बाध्यताबाट मुक्ति पाएका छन् ।

मौरीलेकको भीर छिचोलेर जगदुल्ला गाउँपालिकाको केन्द्र हुँदै अघि बढेको छ मनाङ–मुस्ताङ जोड्ने सडक । यही सडकले जगदुल्लाबासीलाई १२ दिनको पैदल यात्रा गरी नुन–चामल बोक्ने बाध्यता हटाएको छ । अहिले फोनकै भरमा सामान बस्तिबस्तीमा पुग्छ । ‘दुई दशकअघि १२ दिन हिँडेर जाजरकोटको सल्लीबजारबाट उपभोग्य सामान बोक्नु पथ्र्यो, जुम्ला सडक सञ्जालमा जोडिएपछि दुरी घटेर तीन दिन पैदल यात्रा गर्नु पथ्र्यो’ स्थानीय लालभक्त बोहोराले भने, ‘दुई वर्षयता आँगनमै गाडी पुग्छन् ।’

डोल्पाको काममारा हिमालको शितलतामा हुर्किएका जगदुल्लाबासी प्रकृतिकै कारण सम्पन्न पनि छन्, दुखि पनि । चार महिना हिँउसँगै बस्छन्, यहाँका स्थानीय । हिउँ हेर्र्दा जति रमाईलो देखिन्छ हिँउ सँगै बस्ने डोल्पालीलाई त्यति नै दुख छ । प्रकृतिले डोल्पालीलाई चिसो हिँउ मात्रै दिएको छैन, बहुमूल्य जडिबुटी पनि दिएको छ । जगदुल्लामा पाईने यार्सा, कटुकी, भुल्ते, सुमयो, सेतो चिनी जस्ता जडिबुटी संकलन गरेरै यहाँका स्थानीयले जिविका चलाइरहेका छन् । प्रति यार्सा पाँच सयका दरले बिक्री भइरहेको स्थानीय धनशीला बोहोराले बताइन् ।

जम्मा नौ वटा गाउँ मिलेर बनेको जगदुल्ला गाउँपालिका ८३.३० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । २०६८ को जनगणनाअनुसार यहाँको जनसंख्या दुई हजार दुई सय ७३ रहेको छ । डोल्पाका डोल्पोबुद्ध, से–फोक्सुण्डा, मुड्केचुला, काइके, छार्का ताङसोङ तथा जगदुल्ला गरी ६ गाउँपालिका र ठुली भेरी तथा त्रिपुरासुन्दरी गरी दुई नगरपालिका छन् । डोल्पाका आठ पालिकामध्ये विकसित र व्यवस्थित पालिका जगदुल्ला हो ।

जुम्ला सडक पुगेको १४ वर्षपछि जगदुल्ला सडक सञ्जालमा जोडिएको हो । राज्यको दयाले होइन डोल्पालीको निरन्तरको खबरदारीले सडक पुगेको गाउँपालिकाका अध्यक्ष नारासिंह रोकाया बताउँछन् । उनका अनुसार २०६८ सालमा जनता सहभागिता कार्यक्रमबाट सडक बनाउनको लागी यहाँका स्थानीय सिंहदरवार पुगेर धर्ना दिएका थिए ।

जगदुल्ला गाउँपालिका भौतिक संरचनामा पनि अब्बल छ । पालिकासँग साढे चार करोडमा व्यवस्थित प्रशासनीक भवन छ भने ४३ रोपनी जग्गा पनि छ । ‘हामी करोडाै खर्चेर गाडी किन्ने, विलासी बन्ने होडमा छैनौंँ’ रोकाया भन्छन्, ‘नागरिकलाई कसरी सम्पन्न बनाउने भन्ने सपनामा छौँ ।’

परम्परागत हानिकारक अभ्यासका विरुद्ध जगदुल्लाले उल्लेख्य काम गरेको अध्यक्षको दावी छ । पालिकाले गत आर्थिक वर्षमा अन्तरजातीय विवाह गरेका ६ जोडिलाई एक/एक लाख पुरस्कार दिएर जातीय विभेद हटाउनु पर्ने सन्देश दिएको थियो । संघीयताको मर्म र भावना झल्किने जगदुल्ला समृद्धिको यात्रातर्फ लम्किरहेको छ ।

प्रकाशित मितिः   १९ असार २०७९, आईतवार ०५:०१