मध्यअसारसम्म ३५ प्रतिशत बजेट खर्च

चालु आर्थिक वर्षका बाँकी दुई सातामा ४० प्रतिशत बजेट खर्च गरिँदै

सुर्खेत: कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष सकिन दुई साताभन्दा कम समय बाँकी रहँदा कूल बजेटको जम्मा ३५.७७ प्रतिशत खर्च गरेको छ । जेठ मसान्तसम्म चालु र पुँजीगत गरी ३० प्रतिशत बजेट कार्यान्वयन गरेको सरकारले त्यसयताका दुई सातामा थप पाँच प्रतिशत खर्च गरेको हो । यो अवधिमा पुँजीगततर्फ ३०.०७ र चालुतर्फ ४५.८४ प्रतिशत बजेट खर्च भएको छ । सरकारले जेठ मसान्तसम्म चालु ३८.९२ र पुँजीगत २५.०४ प्रतिशत गरी समग्रमा ३०.२० प्रतिशत बजेट कार्यान्वयन गरेको थियो ।

असारमा पुँजीगत खर्च ह्वातै बढ्ने सरकारको दाबी रहेपनि त्यसअनुरूप प्रगति भने देखिएको छैन । आधा असार गइसक्दा विकासे मन्त्रालयहरूले समेत उल्लेखनीय खर्च बढाउन नसकेका हुन् । प्रदेश लेखा नियन्त्रक कार्यालयको पछिल्लो विवरणअनुसार पुँजीगत खर्चको अवस्था झनै कमजोर देखिएको छ । पुँजीगततर्फ विनियोजित २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार बजेटमध्ये अहिलेसम्म सात अर्ब ३८ करोड ३७ लाख मात्रै खर्च भएको हो ।

प्रदेश सरकारले चालु आार्थिक वर्ष २०७८÷०७९ मा कूल विनियोजित बजेटको ७७.०३ प्रतिशत बजेट कार्यान्वयन गर्ने लक्ष्य लिएको छ । तर, आर्थिक वर्ष घर्किनै लाग्दासमेत लक्ष्यको आधा बजेट पनि खर्च भएको छैन । सरकारले लक्ष्य भेट्न असार मसान्तसम्म थप झन्डै ४२ प्रतिशत रकम खर्च गर्नुपर्ने छ । चालु वर्षका लागि विनियोजित ३६ अर्ब ५४ करोड ६६ लाख मध्ये २८ अर्ब १५ करोड ४६ लाख ३५ हजार खर्च हुने अनुमान गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव झक्कप्रसाद आचार्यले बाँकी अवधिमा ४० प्रतिशत हाराहारी बजेट कार्यान्वयन हुने बताए । उनका अनुसार कतिपय योजनाको काम सम्पन्न भएपनि भुक्तानी भइनसकेकाले खर्च थोरै देखिएको हो । मसान्तसम्म बजेट खर्च ७७ प्रतिशतमा पुग्ने आकलन गरिएको उनी बताउँछन् । ‘बजेट कार्यान्वयनका लागि अधिकांश योजना सम्झौता भएर काम भइरहेको छ,’ उनले भने, ‘अन्तिम बिल भुक्तानी भएपछि खर्च बढेको देखिने छ ।’ साढे ११ महिनामा साढे १३ अर्ब हाराहारी मात्रै खर्च गरेको सरकारले अनुमान गरेजति बजेट कार्यान्वयनमा भने चुनौति देखिएको छ । लक्ष्यमा पुग्न चालु र पुँजीगत गरी अबका दुई सातामा २१ अर्बभन्दा बढी बजेट कार्यान्वयन गर्नुपर्ने देखिएको छ ।

कर्णाली सरकारले विगतमा पनि बजेटको ठूलो हिस्सा असारमा खर्चिने गरेको थियो । आर्थिक वर्षको अन्त्यमा खर्च गर्ने परिपाटीका कारण आलोचित हुँदै आएको सरकारले यसपटक पनि उही प्रवृत्तिलाई निरन्तरता दिएको छ । यसपटक पनि आर्थिक वर्षको अन्तिमतिर खर्चको अपेक्षित प्रतिफल आउने आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले बताए । ‘बजेट खर्चको प्रक्रिया धमाधम चलिरहेको छ,’ उनले भने, ‘मसान्तसम्म प्रतिफल आउला ।’ हरेक वर्षको बजेट सार्वजनिक गर्दा साउनबाटै कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएको सरकारले ११ महिनासम्म भने विकास बजेट न्यून मात्रै खर्च गर्दै आएको छ ।

प्रदेश सरकार गठन भएदेखि नै असारे विकासको अन्त्य गर्ने दाबी गरिए पनि खर्च प्रणालीमा भने सुधार हुन नसकेको हो । पुँजीगत खर्च बढाउन कार्यसम्पादन करार सम्झौतालगायतका प्रयास भएपनि त्यसको समेत प्रभावकारी कार्यान्वयन भएको छैन । कर्णाली सरकारमा वित्तीय विचलनको बेथिति पनि देखिने गरेको छ । हतारमा खर्च गर्ने प्रवृत्तिको निरन्तरता मात्र नभइ यसैबेला ठूलो बजेट रकमान्तर गरिँदै आएको पाइँन्छ । वित्तीय प्रगति देखाउन असार मसान्तमा रकमान्तर गरी हचुवामा खर्च गर्ने गरिएको हो । यसपटक पनि कतिपय मन्त्रालयहरूले करोडौँ बजेट विनियोजित शीर्षकभन्दा फरक क्षेत्रमा रकमान्तर गरी खर्च गरिसकेका छन् ।

 

प्रकाशित मितिः   १९ असार २०७९, आईतवार ०५:०५