विपद्को उच्च जोखिममा वीरेन्द्रनगर
सुर्खेत: वीरेन्द्रनगर मनसुनी विपद्को उच्च जोखिममा छ । नगरको उपत्यका क्षेत्र बाढी र डुवान तथा भिरालो जमिन भएका केही वडाहरू पहिरोको जोखिममा छन् । वर्षायाम सुरु भएसँगै यहाँ डुवान, कटान र पहिरोको समस्या आइरहन्छ । यसपटक पनि मनसुन लागेपछि विपद्जन्य जोखिमको त्रास सुरु भएको छ । मनसुनी विपद्ले बर्सेनि जनधनको क्षति गर्दै आएपनि प्रतिकार्य र सावधानीमा सरोकारवाला निकाय उदासीन छन् ।
जोखिमयुक्त स्थानमा धमाधम घर निर्माण भइरहँदा वीरेन्द्रनगर नगरपालिका बेखबरजस्तै बनेको छ । मापदण्डविपरीत नगरभित्र भौतिक संरचना निर्माण गरिँदा त्यसले झनै विपद्जन्य जोखिम बढाएको छ । उपत्यकाका खोर्के, इत्राम र नेवारे खोला नै च्यापेर थुप्रै घर निर्माण भएका छन् । जसले गर्दा खोलाको क्षेत्र साँघुरिँदै गएको छ । त्यसरी बसेका बस्ती जहिले पनि बाढी, पहिरो र कटानको खतरामा रहेको वीरेन्द्रनगर नगरपालिकाका योजना शाखा प्रमुख ‐इन्जिनियर) हरि केसी बताउँछन् ।
नियामक निकायको बेवास्ताका कारण वीरेन्द्रनगरमा बर्सेनि जोखिमपूर्ण बसोबास बढ्दो छ । घर निर्माणको कागजी प्रक्रिया पूरा गरेपछि नगरपालिकाले निर्माण स्वीकृत दिन्छ । तर, विपद्को जोखिमबारे अनुगमन तथा नियमन भने गर्दैन । कतिपयले जोखिम मोलेरै ऐलानी जग्गामा समेत पक्की संरचना बनाएका छन् । खोला आसपास भौतिक संरचना बनाउँदा नगरबासी र नगरपालिका दुवैले ख्याल गरिएको पाइँदैन । वीरेन्द्रनगर–३ मा मात्रै पाँच सय घरधुुरी बाढी र कटानको उच्च जोखिममा छन् । वडा अध्यक्ष विनोद सिंह विष्टले खोला किनारमा बनेका अधिकांश घरहरूमा विपद्को जोखिम रहेको बताए । ‘चाइना पुुलदेखि उत्तर र दक्षिण क्षेत्रमा खोला छेउमै बनाइएका घरहरूमा विपद्को खतरा छ,’ उनी भन्छन्, ‘स्थानीयलाई खोला क्षेत्र छोडेर संरचना बनाउन भनिए पनि अटेरी गर्ने गरिएको छ ।’ निर्माण मापदण्डमा २० मिटर जग्गा खोलालाई छोड्नुुुपर्ने भएपनि त्यसो हुुन नसकेको उनी बताउँछन् ।
वीरेन्द्रनगरको उत्तरी जलाधार क्षेत्र भएर दक्षिण बग्ने खोर्के र इत्राम खोलामा वर्षायाममा कटान हुन्छ । उपत्यकाको तल्लो तटीय क्षेत्रमा डुवानको उस्तै समस्या छ । भरपर्दो ढल व्यवस्थापन नहुनु तथा उपत्यकाको पानीको निकास साँघुरो हुँदा दक्षिणी भू–भागमा वर्षैपिच्छे डुवान हुने गरेको हो । वीरेन्द्रनगर उपत्यकाको पानी बाहिरिने एक मात्र स्थान वडा नं. ९ स्थित निकास खोला हो । उक्त ठाउँमा व्यवस्थित तटबन्धन नहुँदा आसपासका बासिन्दा डुवान र कटानको जोखिम व्यहोर्न बाध्य छन् । दुई वर्ष अघिदेखि निकास खोला तटबन्धन निर्माणको काम थालिए पनि अझै पूरा भएको छैन । बाढी र डुवानको दीर्घकालीन समस्या हल गर्न निकास खोलामा तटबन्धन निर्माण गर्न लागिएको हो । आर्थिक वर्ष २०७७÷०७८ बाट टेण्डरमार्फत काम अघि बढाइएको थियो । निवर्तमान वडा अध्यक्ष सुरेश मानन्धरले बजेट अभाव हुँदा बाँकी कामहरू हुन नसकेको जनाए । उनका अनुसार हालसम्म पाँच सय मिटरमा मात्रै तटबन्धनको काम भएको छ ।
वीरेन्द्रनगर–३ का अध्यक्ष विष्टले वडासँग समन्वय नै नगरी मापदण्ड मिचेर मनपरी रूपमा घर निर्माण भइरहेको जनाए । उनी भन्छन्, ‘जोखिम बढ्दो देखेपछि नागरिकलाई कसरी सुुरक्षित गर्न सकिन्छ भनेर अहिले केही काम अघि बढाएको छ । कार्यपालिकाको बैठकमा समेत यसबारे कुुरा उठाइएको छ ।’ वडा नं. ३ मा अब बन्ने घरका लागि वडा र नगरपालिका दुवैको अनिवार्य स्वीकृति लिनुुपर्ने व्यवस्थाका लागि पहल भइरहेको उनले बताए । विपद् जोखिम न्यूनीकरण गर्ने सवालमा वडासँगै नगरपालिकाले पनि चासो दिनुपर्ने उनको भनाइ छ ।
खोर्के खोलासहित तटबन्धन नहुँदा उपत्यकाभित्रका खोला किनाराका धेरैजसो बस्तीहरू बाढीको जोखिममा छन् । उपत्यकाका खोलाहरूमा वि.सं. २०७१ सालमा आएको बाढीले ठूलो जनधनको क्षति गरेको थियो । उतिबेला बगरमा परिणत भएका बस्तीहरू फेरि भरिएका छन् । खोला किनारामा घर बनाउनुु रहर नभएर बाध्यता भएको वीरेन्द्रनगर–४ का रूपसिंह विक बताउँछन् । ‘आफ्ना नाममा रहेको जग्गा खोला किनारामा छ, घर बनाउन कहाँ जाऊँ ?,’
उनले भने । सरकारले बलियो तटबन्धन निर्माण गरेर खोलाका बस्तीलाई सुरक्षित गर्नुपर्ने उनले बताए । नगरपालिकाले निर्माण गरेका सामान्य तटबन्धन बर्खाको भेलसँगै जाने भएकाले जोखिम रहिरहने उनको भनाइ छ । विपद्को जोखिम कम गर्न नगरपालिकाले निर्माण गरेका संरचना दिगो नभएको खोला आसपासका बासिन्दाहरूको गुनासो छ । वीरेन्द्रनगर–३ की गौरी कामीको घर पनि खोलासँगै जोडिएको छ । तटबन्धन नहुँदा पानी प¥यो कि विपत् आउने चिन्ताले सताउने गरेको उनी बताउँछिन् । अन्य ठाउँमा जमिन नभएपछि बाध्यताले खोला किनारमै घर बनाउनु परेको उनले बताइन् ।
प्रकाशित मितिः १४ असार २०७९, मंगलवार ०५:०५
रजनी याेगी ।