खानेपानीकै संकट

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानी अभावको समस्या पुरानै हो । विशेष गरेर उपत्यकामा पानीको अभाव छ । यहाँको अभाव टार्न विभिन्न स्रोतको उपयोग गरिएको छ । तर पर्याप्त हुन सकेको छैन । मागअनुसार पानी आपूर्ति हुन सकेको छैन । गर्मीको समयमा हुने खानेपानीको चरम संकटसँग यहाँका नागरिक अभ्यस्त भइसकेका छन् । तर यस वर्ष पनि बर्खायाम सुरु भइसक्दा पनि संकट उस्तै छ । अहिले पनि वीरेन्द्रनगरमा गर्मीयामकैजस्तो खानेपानीको संकट छ । यहाँका उपभोक्ताहरूको धारामा अहिले चार दिनको फरकमा एक पटक पानी आउँछ । खानेपानीकै लागि नागरिकले हैरानी बेहोरिरहेका छन् । पानीका स्रोत कम र माग अत्यधिक हुँदा समस्या दिनानुदिन चुलिँदै गएको हो ।

वीरेन्द्रनगरमा सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले २० हजार धारामार्फत खानेपानी सेवा दिइरहेको छ । संस्थाका अनुसार स्रोत भने १५ हजार धारामा नियमित पानी वितरण गर्नलाई पनि पर्याप्त छैन । भएका स्रोतहरूबाट पनि हरेक वर्ष पानी घट्दै गएको छ । सीमित स्रोतका कारण माग र आपूर्तिको सन्तुलन मिलाउन हम्मेहम्मे परिरहेको छ । वीरेन्द्रनगरमा दैनिक औसत प्रतिसेकेण्ड तीन सय २० लिटर खानेपानी आवश्यक पर्छ । अहिले पानीको क्षमता भने एक सय ५७ लिटर प्रतिसेकेण्ड मात्रै छ । हाल उपत्यकामा प्रतिसेकेण्ड ९५ लिटर पानी खपत भइरहेको छ । खडेरीको समयमा दुुई सय २९ लिटर प्रतिसेकेण्ड पानीको अभाव देखिने गरेको छ । अन्य समयमा एक सय ६३ लिटर प्रतिसेकेण्ड पानीको अभाव हुुने गरेको हो ।

कर्णाली प्रदेशको राजधानी भएसँगै वीरेन्द्रनगर उपत्यकामा जनघनत्व ह्वातै बढेको छ । बढ्दो जनसंख्याका कारण पानीको माग अधिक छ । माग धेरै हुँदा खानेपानी वितरणमा समस्या हुने गरेको छ । वर्षायाममा झनै खानेपानी असमान रूपमा वितरण भइरहेको छ । असारमा सडक निर्माणका काम बढी हुँदा पाइप लाइनमा नोक्सानी हुने, धमिलो तथा लेदो पानीले गर्दा वितरणमा कठिनाइ भइरहेको जनाइएको छ । पछिल्ला वर्षहरूमा मुुहान पनि सुुक्दै गएको छ । उपत्यकाको खानेपानी संकट टार्ने दीर्घकालीन उपायका रूपमा भने भेरी लिफ्टिङ्ग आयोजनालाई अघि बढाउन लागिएको छ । अहिले उक्त आयोजनाको निर्माणपूर्वका प्रक्रियाहरूको काम भइरहेको छ । तीनै तहका सरकार र विश्व बैंकको संयुक्त लगानीमा आयोजना अघि बढाउन लागिएको हो । सो आयोजना निर्माणका लागि करिब सात अर्ब बजेट लाग्ने अनुुमान गरिएको छ । यो आयोजनालाई जतिसक्दो छिटो निर्माण गरी सञ्चालनमा ल्याउन सकेमा मात्रै यहाँको खानेपानी अभाव दीर्घकालीन रूपमा समाधान हुने छ ।

प्रकाशित मितिः   १४ असार २०७९, मंगलवार ०५:०३