किसानका पक्षमा राप्रपाको प्रदर्शन

सुर्खेत: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले किसानलाई समयमै मल बीउ उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी सुर्खेतले किसानको समस्या समाधानको माग गर्दै सोमवार ¥यालीसहित धर्ना कार्यक्रम गरेको हो । केन्द्रीय कार्यक्रम अनुसार देशभरीका कृषि विकास कार्यालय, कृषि विकास निर्देशनालय र कृषि मन्त्रालयहरूमा विरोध कार्यक्रम गरिएका हुन् । जसअन्तर्गत कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा राप्रपाका नेता कार्यकर्ता धर्नामा बसेका थिए । खेतीपातिको सिजनमा किसानले मल नपाएको भन्दै त्यसको तत्काल समाधान खोज्न मन्त्रालयको ध्यानाकर्षण गरिएको हो । किसानका समस्याबारे सरकारको ध्यानाकर्षण गर्न भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अगाडि धर्नासहित विरोध कार्यक्रम गरिएको राप्रपा सुर्खेतका नेता प्रेम बिसीले बताए ।

विरोध ¥याली वीरेन्द्रनगरको मंगलगढीचोकबाट सुरु भइ बजार परिक्रमा पश्चात् मन्त्रालयमा पुगेको थियो । विरोध प्रदर्शनमा किसानका समस्या तत्कालै समाधान गर्नुपर्ने, मल बिउ र सिँचाइ सुविधा उपलब्ध गराइनुपर्ने तथा महँगी र कालोबजारी नियन्त्रण गर्नुपर्ने माग राखिएको थियो । किसानहरूका समस्या हल नगरिए आगामी दिनमा थप सशक्त रूपमा आन्दोलनका कार्यक्रम घोषणा गरिने राप्रपाले जनाएको छ ।

प्रकाशित मितिः   १४ असार २०७९, मंगलवार ०५:०२