मल नहुँदा मर्का

असार महिना मध्यान्तरनिजक छ । असारलाई ‘मानो रोपेर मुरी उब्जाउने’ महिनाका रूपमा चिनिन्छ । विशेष गरेर यो धान रोप्ने समय हो । तर यतिबेलासम्म कर्णाली प्रदेशका अधिकांश जिल्लामा यसपटक फाटफुट मात्रै रोपाइँ भएको छ । मध्यअसार हुन लाग्दा पनि यसपालि न्यून क्षेत्रमा मात्रै धान रोपिएको छ । कृषि विकास निर्देशनालयको विवरणअनुसार सुर्खेतमा सबैभन्दा कम र जुम्लामा धेरै क्षेत्रमा रोपाइँ भएको छ । सुर्खेतमा तीन र जुम्लामा ९५ प्रतिशत रोपाइँ सम्पन्न गरिएको छ । प्रदेशभरभरको हिसाब गर्दा भने कूल २५ प्रतिशत हाराहारी मात्रै रोपाइँ भएको छ । यो न्यून हो । सबैभन्दा धेरै रोपाइँ हुने असार महिनामै रोपाइँको रौनक बढ्न सकेको छैन । कृषकहरू चिन्तित बनेका छन् ।

असारको दोस्रो साता लागि सक्दा दैलेखमा ३० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गत वर्ष उक्त जिल्लामा यो अवधिमा ४० प्रतिशत रोपाइँ गरी सकिएको थियो । वर्षा नहुँदा धेरैजसो स्थानमा धान रोप्न सुरु नै नभएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यस्तै जाजरकोटमा ४० प्रतिशत, सल्यानमा ३५ प्रतिशत, हुुम्लामा ७२ प्रतिशत, मुुगुुमा ३४ प्रतिशत र डोल्पामा ५० प्रतिशत रोपाइँ सकिएको कृषि विकास निर्देशनालयले जनाएको छ । त्यस्तै, कालीकोटमा ६० प्रतिशत रोपाइँ भएको छ । उक्त जिल्लामा यसपालि अघिल्लो वर्षको तुुलनामा ढिलागरी रोपाइँ सुरु गरिएको थियो । जुुम्लामा भने लगभग धान रापेर सकिनै थालेको छ । २९ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने यो जिल्लामा ९५ प्रतिशत रोपाइँ भएको हो । त्यहाँ अधिकांश भू–भागमा मार्सी धान रोपिन्छ भने थोरै स्थानमा मात्रै चन्दननाथ एक र तीन जातको धान रोप्ने गरिएको छ ।

पर्याप्त वर्षा र रासायनिक मल अभावमा प्रदेशभर धान रोपाइँ प्रभावित भएको हो । सिँचाइ सुविधा नभएका ठाउँमा धान रोपाइँ हुन सकेको छैन । समयमै पानी नपर्दा धान रोप्न ढिलाइ भएको हो । प्रदेशका धेरैजसो क्षेत्रमा आकाशे पानीका भरमा खेती गर्नुपर्ने बाध्यता छ । मनसुन बेलैमा सक्रिय नहुँदा यो वर्ष किसानहरूलाई समयमै धान रोप्न समस्या भएको बताइएको छ । सिँचाइ पुगेका स्थान र खोला आसपास क्षेत्रमा भने धान रोपिएको छ । आकाशकै पानीको भर पर्नुपर्ने ठाउँमा अझै रोपाइँ हुन सकेका छैनन् । अर्कोतर्फ धान खेतीको लागि आवश्यक पर्ने रासायनिक मल अभाव हुुँदा किसान मर्कामा परेका छन् ।

प्रकाशित मितिः   १३ असार २०७९, सोमबार ०५:०३