वर्षायाममै खानेपानी संकट

सुर्खेत: बर्खायाम सुरु भइसक्दा पनि वीरेन्द्रनगरमा खानेपानीको हाहाकार छ । अहिले चार दिनको फरकमा एक पटक उपभोक्ताका धारामा पानी आउँछ । पानीका स्रोत कम र माग अत्यधिक हुँदा समस्या दिनानुदिन चुलिँदै गएको हो ।

वीरेन्द्रनगरमा सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले २० हजार धारामार्फत खानेपानी सेवा दिइरहेको छ । संस्थाका अनुसार स्रोत भने १५ हजार धारामा नियमित पानी वितरण गर्नलाई पनि पर्याप्त छैन । भएका स्रोतहरूबाट पनि हरेक वर्ष पानी घट्दै गएको छ । सीमित स्रोतका कारण माग र आपूर्तिको सन्तुलन मिलाउन हम्मेहम्मे परिरहेको सुुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका कार्यालय प्रमुख डम्बर गौतम बताउँछन् । उनका अनुसार वीरेन्द्रनगरमा दैनिक औसत प्रतिसेकेण्ड तीन सय २० लिटर खानेपानी आवश्यक पर्छ । अहिले पानीको क्षमता भने एक सय ५७ लिटर प्रतिसेकेण्ड मात्रै छ । हाल उपत्यकामा प्रतिसेकेण्ड ९५ लिटर पानी खपत भइरहेको छ । गौतमले खडेरीको समयमा दुुई सय २९ लिटर प्रतिसेकेण्ड पानीको अभाव देखिने गरेको जनाए । अन्य समयमा एक सय ६३ लिटर प्रतिसेकेण्ड पानीको अभाव हुुने गरेको छ ।

खानेपानीको संकट हुन थालेपछि स्रोतको मर्मत कार्यमा जोड दिइएको संस्थाले जनाएको छ । वर्षाको समय सुरु भएसँगै पानीका संरचनाहरूमा भल पसेर क्षति पुगेको छ । उपत्यकाका मुख्य खानेपानीका स्रोत खरी खोला, बोरी खोला र इत्राम खोलाको पानी पिउन नमिल्ने गरी भल पसेको कार्यालय प्रमुख गौतमले बताए । ‘त्यहाँ अहिले मर्मतको काम भइरहेको छ,’ उनले भने, ‘दुुई/तीन दिनपछि मात्रै पानी नियमित हुनेछ ।’ सुख्खायाममा खानेपानी खपत बढी र स्रोत कम हँुुदा समस्या हुन्छ भने वर्षायाममा समेत बाढी पहिरो र भलले खानेपानी सेवा अवरुद्ध हुने गरेको हो ।

खानेपानीको समस्यालाई मध्यनजर गर्दै संस्थाले वैकल्पिक स्रोतको खोजी गरी काम अघि बढाएको छ । जसअन्तर्गत वीरेन्द्रनगर–१६ मा रहेको दुुनदुुरे खोलाको पानी उपत्यकामा ल्याउन लागिएको कार्यालय प्रमुख गौतमले जानकारी दिए । उक्त स्रोतको पानी केही समयमै उपत्यकामा ल्याउनेगरी काम सुरु भएको हो । दुनदुरे खोलाको पानी उपत्यकामा ल्याए सात हजार धारा थप गर्न सकिने संस्थाले बताएको छ । त्यो स्रोतबाट सुख्खायाममा पनि प्रतिसेकेण्ड १५ लिटर पानी आपूर्ति गर्न सकिने आकलन गरिएको छ । दुनदुरे खोलाबाट ल्याइने पानीलाई करैखोलास्थित प्रशोधन केन्द्रमा मिसाइनेछ । जसका लागि साढे ६ किलोमिटर पाइप लाइन विस्तार गरिँदै छ । केही वर्षअघि खरी र बोरीखोलाको पानी थप गरेको संस्थाले अब भने साढे चार करोड लागतमा दुुनदुुरे खोलाको पानी पनि ल्याउन लागेको हो ।

कर्णाली प्रदेशको राजधानी भएसँगै वीरेन्द्रनगर उपत्यकामा जनघनत्व ह्वातै बढेको छ । बढ्दो जनसंख्याका कारण पानीको माग अधिक छ । माग धेरै हुँदा खानेपानी वितरणमा समस्या हुने गरेको छ । वर्षायाममा झनै खानेपानी असमान रूपमा वितरण भइरहेको छ । असारमा सडक निर्माणका काम बढी हुँदा पाइप लाइनमा नोक्सानी हुने, धमिलो तथा लेदो पानीले गर्दा वितरणमा कठिनाइ भइरहेको जनाइएको छ । ‘पछिल्ला वर्षहरूमा मुुहान पनि सुुक्दै गएको छ,’ कार्यालय प्रमुख गौतम भन्छन्, ‘स्रोत थपिए केही राहत भने पक्कै हुुनेछ ।’

वीरेन्द्रनगर उपत्यकामा हाल खरी खोला, बोरी खोला, झुप्रा, इत्राम खोला र खार्के खोलाबाट पानी ल्याइएको छ । यी स्रोतको पानी पनि अपुग भएपछि आलोपालो गरेर वितरण गरिँदै आएको छ ।

उपत्यकाको खानेपानी संकट टार्ने दीर्घकालीन उपायका रूपमा भने भेरी लिफ्टिङ्ग आयोजनालाई अघि बढाउन लागिएको छ । उपत्यकाबासीको वर्षौंदेखिको खानेपानी समस्या समाधान गर्न भेरी नदीबाट पानी ल्याउनु नै उत्तम विकल्प रहेको जनाइएको छ । अहिले उक्त आयोजनाको निर्माणपूर्वका प्रक्रियाहरूको काम भइरहेको छ । तीनै तहका सरकार र विश्व बैंकको संयुक्त लगानीमा आयोजना अघि बढाउन लागिएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले जनाएको छ । सो आयोजना निर्माणका लागि करिब सात अर्ब बजेट लाग्ने अनुुमान गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाका इन्जिनियर विशाल अधिकारीका अनुसार भेरी लिफ्टिङ्ग आयोजनाको पहिलो चरणका संरचना बनाउन साढे तीन अर्ब देखि चार अर्बसम्म र दोस्रो चरण तथा वितरण संरचनाका लागि तीन अर्ब हाराहारी बजेट लाग्ने देखिएको छ । आयोजनाको काम सुरु हुुने समय यकिन भने भइसकेको छैन । हालसम्मको प्रगति हेर्दा केही महिनाभित्र टेण्डर प्रक्रियामा जान सक्ने सम्भावना देखिएको अधिकारीले बताए ।

वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा उपत्यकाको खानेपानी समस्यालाई पनि प्राथमिकता राखेको छ । उपत्यकाको खानेपानी समस्यालाई दिगो समाधान गर्न भेरी लिफ्टिङ्ग आयोजना अगाडि बढाउन संघीय सरकार, प्रदेश सरकार र विकास साझेदारहरूसँगको सहकार्य गर्दै आवश्यक ‘म्याचिङ फण्ड’ को व्यवस्था गरिने नगरपालिकाले जनाएको छ । आयोजना निर्माण स्थलसम्म पहुँच मार्ग विस्तारलगायत अति आवश्यक पूर्वाधारका कार्यका लागि नगरले ५० लाख बजेट विनियोजन गरेको छ । खानेपानीको अल्पकालीन समस्या हल गर्न तत्कालै डिप बोरिङ, ओभरहेड ट्यांकी निर्माण र खानेपानी प्रणाली सुधार गरिने भएको छ । त्यसका लागि वीरेन्द्रनगर नगरपालिकाले एक करोड बजेट छुट्याएको छ ।

प्रकाशित मितिः   १३ असार २०७९, सोमबार ०५:०५