प्रदेशसभा अवरुद्ध

सुर्खेत: प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले कर्णाली प्रदेशसभा अवरुद्ध गरेको छ । सरकारसँग विगतमा भएको सहमति विपरीत आगामी वर्षको बजेटमा टुक्रे योजनाहरू समेटिएको भन्दै एमालेले आइतवारको बैठक अवरुद्ध गरेको हो । सरकारले सभामुख राजबहादुर शाहीको रोहवरमा भएको सहमति विपरीत टुक्रे योजनामा बजेट विनियोजन गरेको एमालेको आरोप छ । प्रतिपक्षी दल एमालेले बजेट संशोधनको मागसमेत गरेको छ । गएको संसद् अधिवेशनमा एमाले र सत्तारुढ गठबन्धनबीच १५ लाखभन्दा साना रकमका योजना कार्यान्वयन नगर्ने सहमति भएको थियो । तर, उक्त सहमतिको बेवास्ता गर्दै आगामी बजेटको रातो किताबमा साना योजना समेटिएको एमालेले जनाएको छ । एमाले संसदीय दलका नेता यामलाल कँडेले आफूहरूले निरन्तर रचनात्मक सुझाव दिँदै आएपनि सरकारका गतिविधि नसचिएको जनाए ।

प्रकाशित मितिः   १३ असार २०७९, सोमबार ०५:०२