३३ केभीको विकल्प

कर्णाली प्रदेशमा विद्युत अभावको समस्या विकराल छ । प्रदेशमा हाल ३३ केभी प्रसारण लाइनमार्फत प्राधिकरणले विद्युत सेवा दिँदै आएको छ । माग बढी र आपूर्ति कम हुँदा यहाँ विद्युत अभाव दिनानुदिन चुलिँदो छ । भरपर्दो विद्युत सेवा नभएकै कारण व्यवसायी तथा आम उपभोक्ता मर्कामा छन् । पछिल्लो समय विद्युत अनियमितसँगै भोल्टेजको समस्या पनि बढ्दै गएको छ । छिनछिनमा विद्युत जाने–आउने भइरहँदा विद्युतीय उपकरण बिग्रिएर क्षति हुने जोखिम बढेको छ । कर्णालीका सुर्खेत, दैलेख, जाजरकोट, कालीकोटलगायतका जिल्लामा बिजुली नियमित छैन । लामो समयदेखि विद्युतमा देखिएको समस्या समाधान नगरिँदा उपभोक्ता र व्यवसायीहरू मर्कामा परेका हुन् ।

अहिलेको समस्या समाधान गर्न विकल्पको खोजी भइरहेको छ । विकल्पको रूपमा सुदूरपश्चिम प्रदेशको कैलालीबाट ३३ केभी क्षमताको प्रसारण लाइन विस्तारको काम अघि बढाइएकोे छ । लाइन विस्तारका लागि टेण्डरसमेत भइसकेको छ । अबको केही दिनमा लाइन विस्तारका लागि सम्झौताको तयारी भइरहेको छ । उक्त सम्झौताअनुसार कैलालीको चिसापानी–सोल्टा हुँदै सुर्खेतको बाबियाचौरसम्म प्रसारण लाइन ल्याइने छ । प्रसारण लाइनलाई बड्डिचौर–बाङगेसिमल हुँदै वीरेन्द्रनगरस्थित बुदबुदी सब–स्टेशनमा जोडिनेछ । कैलालीको मोहन्याल गाउँपालिकाको सोल्टासम्म ३३ केभी लाइन यसअघि नै विस्तार भइसकेको छ । सोल्टाबाट बाबियाचौरसम्म लाइन विस्तारका लागि २४ किलोमिटरमा पोल र तार विस्तार गर्न टेण्डर आह्वान गरिएको छ । असार १५ गतेसम्म सम्झौता गरेर दुई महिनाभित्रै बाबियाचौरस्थित विद्युतको सब–स्टेशनमा लाइन जडान गर्ने तयारी गरिएको छ । यो क्षेत्रमा रुखहरू नपर्ने भएकाले पनि छिटै लाइन विस्तार गर्न सकिने प्राधिकरणका प्राविधिकहरूले बताएका छन् । कैलालीबाट ल्याउन लागिएको ३३ केभी प्रसारण लाइन हाल सञ्चालित लाइनमा भने जोडिने छैन । त्यसका लागि छुट्टै विद्युतीय संरचना खडा गर्नुपर्ने छ । उक्त लाइनको विद्युत अहिलेकै पावरमा थप्ने नभइ विकल्पको रूपमा प्रयोग हुनेछ ।

३३ केभी प्रसारण लाइन ल्याउने योजना अघि बढेको भएपनि यो दीर्घकालिन विकल्प भने होइन । सुर्खेतसहित कर्णालीको विद्युत संकट समाधान गर्न १३२ केभी हाइटेन्सन लाइन विस्तार नै उत्तम विकल्प हो । उक्त प्रसारण लाइन विस्तार थालिए पनि कामको गति भने निकै सुस्त छ । प्रसारण लाइन क्षेत्रमा पर्ने रूख कटानको अनुमतिमा ढिलाइ हुँदा निर्माणाधीन आयोजनाको काम प्रभावित बनेको छ । यस्ता प्राविधिक समस्या समाधान गरेर लाइन विस्तार गर्नुको उत्तम र उपयुक्त विकल्प हो । यसतर्फ सरोकारवालाहरूको ध्यान जान जरुरी छ ।

प्रकाशित मितिः   ३ असार २०७९, शुक्रबार ०५:०३