सार्वजनिक शौचालयको व्यवस्थापन भद्रगोल

सुर्खेत: वीरेन्द्रनगर नगरपालिकामा दर्जनौ सार्वजनिक शौचालय सञ्चालनमा छन् । तीमध्ये अधिकांश शौचालयको सञ्चालन व्यवस्थापन व्यवस्थित नहुँदा प्रयोगविहीन जस्तै बनेका छन् । पछिल्लो समय सार्वजनिक स्थलमा शौचालय नहुँदा समस्या हुने गरेको आवाज उठ्ने गरेपनि यहाँ लाखौं खर्चिएर निर्माण गरिएका संरचनाको प्रयोग हुन नसकेको हो । नगरपालिकाकै लगानीमा बनेकामध्ये कतिपय शौचालयको सञ्चालन अस्तव्यस्त छ । सञ्चालनको व्यवस्थित मापदण्ड नबनाउँदा सार्वजनिक शौचालयको प्रयोग र संरक्षणमा समस्या भएको छ ।

झन्डै दुई वर्ष अघि नगरका पाँच वटा वडामा एक करोड २६ लाख ५३ हजार लागतमा सार्वजनिक शौचालय निर्माण गरिएको थियो । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम ‐यूएनडीपी), अन्तरनिर्भर समाज सुर्खेत र वीरेन्द्रनगर नगरपालिकाको साझेदारीमा सामुदायिक पूर्वाधार विकास कार्यक्रम अन्तर्गत विभिन्न स्थानमा शौचालय निर्माण गरिएका थिए । जसअन्तर्गत वडा नं. १ को वडा कार्यालय, वडा नं. ४ को जिरो ड्याम, वडा नं. ६ को बसपार्क, वडा नं. ८ को बुलबुले चोक र वडा नं. ९ को काँक्रेविहारमा सुविधायुक्त शौचालय बनेका छन् । यीबाहेक नगरमा अरु सार्वजनिक शौचालय पनि छन् । ती शौचालयहरूको सञ्चालन तथा नियमन गर्न निश्चित मापदण्ड बनाउन बाँकी रहेको नगरपालिकाका योजना तथा वातावरण शाखा प्रमुख प्रकाश पौडेल बताउँछन् । उनले हाल शौचालयको सञ्चालन व्यवस्थापन सम्बन्धित वडा कार्यालयले स्थानीय उपभोक्ता समितिमार्फत गर्ने व्यवस्था मिलाइएको जनाए । सार्वजनिक शौचालयको प्रयोग गरेवापत न्यून शुल्क लिने गरिएको छ । शौचालय प्रयोग गर्दा दररेटमा भने एकरूपता छैन । शुल्कमा एकरूपता कायम गर्न नगरपालिकाले पहल गर्ने पौडेलले बताए । ‘अहिले दररेट फरक–फरक छ, कहीँ पाँच र कतै १० रूपैयाँ लिने गरिएको पाइन्छ,’ उनले भने, ‘त्यसका लागि नियमन गरेर व्यवस्थित गर्नुपर्ने देखिएको छ ।’

वीरेन्द्रनगरलाई सफा, सुविधासम्पन्न र व्यवस्थित बनाउन महŒवाकांक्षी लक्ष्यसहित सार्वजनिक शौचालयको अवधारणा अघि सारिएको हो । नागरिकहरूमा तोकेको शुल्क तिरेर शौचालयको प्रयोग गर्ने सोच नहुँदा बनेका संरचना पनि कमै मात्रै प्रयोगमा आएका हुन् । वीरेन्द्रनगर–४ को जिरो ड्याममा सुविधासम्पन्न सार्वजनिक शौचालय छ । उक्त शौचालयको प्रयोग भने निकै न्यून हुने गरेको पहरेदार दिपेन्द्र परियारले जनाए । उनका अनुसार त्यहाँ मानिसहरूको चहलपलसमेत कम छ । ‘दिनमा एक/दुई जना पनि शौचालय प्रयोग गर्न आउँदैनन्,’ उनले भने, ‘कुनै दिन त १० रूपैयाँ आम्दानीसमेत हुँदैन ।’ उनका अनुसार शौचालय सञ्चालनबाट पानी, बत्ती र साबुनको पैसासमेत उठाउन मुस्किल छ । कतिपयले शौचालय प्रयोग गरिसकेपछि पैसा तिर्न नमान्ने गरेको उनको भनाइ छ । उक्त शौचालय २५ लाख लगानीमा निर्माण गरिएको थियो ।

मानिसहरूको निकै भिडभाड हुने वीरेन्द्रनगर बजार क्षेत्रमा पनि सार्वजनिक शौचालय छन् । मंगलगढीचोकमा रहेको शौचालय पनि छिटफुट मात्र प्रयोगमा आउने गरेको छ । शौचालयमा पानीको समस्या रहेको व्यवस्थापक इन्द्रकुमार सुनारले बताए । ‘दिनमा त्यस्तै तीन÷चार सयमात्र आम्दानी हुने गरेको छ । पानीको निकै समस्या हुँदा कहिले बुलबुलेबाट र कहिले बजारमा किनेर शौचालयमा हाल्नुपर्ने बाध्यता छ ।’ सिटी बसपार्क नजिकै निर्माण गरिएको शौचालय पनि प्रयोगविहिन जस्तै छ । दिनमा छिटफूट २०÷२२ जना मात्र शौचालय प्रयोग गर्न आउने गरेको व्यवस्थापक मानरूपा शाहीले बताइन् । त्यहाँ अपाङ्गमैत्री शौचालय बनेपनि अपाङ्गगता भएका व्यक्तिहरू प्रवेशका लागि सहज छैन । शौचालयको गेट बन्द हुने हुँदा समस्या भइरहेको शाहीले जनाइन् । सुविधायुक्त शौचालय सञ्चालनमा भएपनि त्यसबाट आम्दानी भने निकै न्यून भइरहेको उनी बताउँछिन् । बसपार्क हाताभित्र रहेको शौचालयबाट भने दिनमै पाँच हजारसम्म आम्दानी भइरहेको छ ।

प्रकाशित मितिः   ३ असार २०७९, शुक्रबार ०८:३०