खेतीपातीको मौसममा मलको हाहाकार

सुर्खेत: खेतीपातीको सिजनमा रासायनिक मल (युरिया) को अभाव देखिएको छ । किसानहरू यतिबेला धान रोपाइँको तरखरमा छन् । अनुदानको मल बिक्री–वितरणको जिम्मा पाएको पूर्ण सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतको गोदाम भने खाली छ । सिजनमा मलले भरिभराउ हुनुपर्ने गोदाम रित्तो भएको हो ।

जेठ र असारमा धान खेतीको लागि आवश्यक पर्ने रासायनिक मल विभागमा माग गरेर पठाए पनि अझै आइनपुगेको कम्पनीका प्रादेशिक कार्यालय प्रमुख अमूल्यलाल श्रेष्ठले बताए । उनका अनुसार धान रोपाइँको लागि मात्रै युरिया १५ सय मेट्रिक टन, डीएपी पाँच सय मेट्रिक टन र पोटास ५० टन माग गरिएको छ । ‘माग अनुसारको मल कहिल्यै प्राप्त हुँदैन,’ उनले भने, ‘विगतका वर्षमा सहकारीले एक सय क्वीन्टल माग गर्दा ५० क्वीन्टलसम्म उपलब्ध गराइन्थ्यो, यसपालि त्यही पनि पाइने निश्चित छैन । अहिलेसम्म गोदाम खाली छ ।’

कर्णाली प्रदेशका जिल्लाहरूमा रासायनिक मल बिक्री–वितरण गर्दै आएको कम्पनीसँग यस पटकको रोपाइँ सिजन सुरु भइसक्दा पनि एक बोरा मल छैन । मलको चरम अभाव हुँदा खेतीपातीका काम निकै प्रभावित भएको किसानहरूले बताएका छन् । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म कर्णाली प्रदेशका तीन जिल्लामा एक हजार ६० मेट्रिक टन युरिया, ६ सय ८० मेट्रिक टन डीएपी र ७५ टन पोटास खपत भएको थियो । खपत भएको आधारमा थप मल माग गरी पठाएको श्रेष्ठले बताए । सुर्खेत, दैलेख र जाजरकोटमा कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतबाट मल निर्यात हुने गरेको छ । यसरी पठाइने मल सहकारी संस्थामार्फत किसानलाई बिक्री–वितरण गरिन्छ । कम्पनीले कर्णालीका आठ जिल्लामा दर्ता भएका एक सय आठ वटा सहकारी संस्थामार्फत मल वितरण गर्छ । सल्यान र रूकुम–पश्चिम बाहेकका जिल्लामा कम्पनीको प्रादेशिक कार्यालयबाट मल पठाइँदै आएको छ । कर्णाली प्रदेशका अधिकांश जिल्लामा रासायनिक मल बढी खपत भइरहे पनि हिमाली जिल्लामा भने मलको प्रयोग कम छ ।

सरकारले तीन प्रकारको खेतीको लागि रासायनिक मल अनुदानमा उपलब्ध गराउँदै आएको छ । धान, गहुँ, मकैको लागि किसानलाई रासायनिक मल उपलब्ध गराउने गरिएको छ । तर, मल पर्याप्त नहँुदा किसानले हरेक वर्ष खेतीपातीको सिजनमा हैरानी खेप्दै आएका छन् । अनुदानमा आउने मलमध्ये ७० प्रतिशत कृषि सामग्री र ३० प्रतिशत अर्ध सरकारी स्वामित्वको साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडबाट वितरण हुन्छ । साल्ट ट्रेडिङ्गको गोदामा समेत यसपटक मलको मौज्दात शून्य छ ।

कर्णालीलाई अर्गानिक प्रदेश भन्ने गरिए पनि यहाँ रासायनिक मलको माग धेरै छ । वर्षायाम लागेसँगै अहिले किसानहरूलाई खेतबारीको चटारो छ । खेतीपातीका बेला बर्सेनि कर्णालीमा मल अभावको समस्या दोहोरिरहन्छ । मुख्य सिजनमै मलमा किसानलाई धोका हुने गरेको हो ।

विगका वर्षजस्तै यसपटक पनि किसानले मल नपाएका हुन् । बर्खे धानको खेती गर्ने तयारी गरेपनि मल नपाएको वीरेन्द्रनगर–१० कि दिपा आचार्यले बताइन् । ‘गत वर्ष थोरै भएपनि सहकारीमार्फत मल किन्न पाइएको थियो,’ उनले भनिन्, ‘यसपालि मल कतै पाइएको छैन । रोपाइँ कसरी गर्ने होला खै ?’ बजारमा मलको हाहाकार भएपछि उनीजस्तै थुप्रै किसान अहिले मर्कामा परेका हुन् । दैलेखको नारायण नगरपालिका–१ का किसान नरेन्द्र सिजापति बजारमा मल नपाउँदा समस्या भएको बताउँछन् । ‘मलविनै खेत रोप्नुपर्ने बाध्यता आइलाग्ने हो कि भन्ने चिन्ता लागेको छ,’ उनले भने । किसानहरूका अनुसार धान र मकैको लागि बढी मल खपत हुने गरेको छ । बेलैमा मल नहाल्दा बालीनाली सप्रन नसक्ने उनीहरू बताउँछन् ।

प्रदेशभर मलको अभाव रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका योजना महाशाखा प्रमुख राजु भुजले जनाए । उनका अनुसार रासायनिक मल आयातका लागि मन्त्रालयले समेत आवश्यक समन्वय गरिरहेको छ । उनी भन्छन्, ‘हामीले पनि पहल गरिरहेका छौँ, असार १५ सम्म भएपनि केही मात्रामा मल आपूर्ति हुनेछ ।’ मागको सम्पूर्ण परिमाण आयात गर्नुपर्ने भएकाले पनि सधँै रासायनिक मलको अभाव हुने गरेको सरकारी अधिकारीहरू बताउँछन् । कृषि बालीमा प्रयोग हुने युरिया, डीएपी र पोटासजस्ता मलको उत्पादन नेपालमा हुँदैन । मल आयातका लागि ग्लोबल टेण्डरमा जानुपर्ने हुन्छ । सरकारले समयमै मल खरिदका लागि आवश्यक प्रक्रिया अघि नबढाउँदा हरेक वर्ष उही समस्या आउने गरेको हो । नेपालमा खासगरी भारत, चीन, बंगलादेश, भियतनामलगायत मुलुकबाट मल आयात हुन्छ । यस वर्ष पनि मल आउने यकिन नभएकाले धान रोप्ने बेला थप अभाव चर्किने देखिएको छ । सिजनमा मल नपाइने देखिएपछि उत्पादन घट्ने पिरलो किसानलाई छ । कृषि सामग्री कम्पनी, साल्ट ट्रेडिङ्ग र विगतमा मल वितरण गर्दै आएका सहकारीहरूमा किसान दैनिक धाइरहेका छन् । मल नपाउँदा उनीहरू रित्तो हात फर्कनु परेको छ ।

प्रकाशित मितिः   ३ असार २०७९, शुक्रबार ०८:४५