कर्णालीको आगामी बजेट

आकार घट्यो, प्राथमिकता फेरियो

सुर्खेत: कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि बजेट ल्याएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले बुधवार प्रदेशसभामा आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार बराबरको बजेट सार्वजनिक गरेका छन् । कर्णाली सरकारले चालु आर्थिक वर्षको तुलनामा आगामी बजेटको आकार घटाएको छ । चालु वर्षमा ३६ अर्ब ५४ करोड ६६ लाख बजेट रहेकोमा आगामी वर्षका लागि त्योभन्दा झन्डै चार अर्ब कम बजेट प्रस्तुत गरिएको हो ।

मन्त्री विष्टले सार्वजनिक गरेको आगामी बजेटमा पुँजीगततर्फ १९ अर्ब ४३ करोड पाँच लाख २४ हजार विनियोजन गरिएको छ । यो कूल बजेटको ५९.५८ प्रतिशत हो । त्यस्तै, चालुतर्फ नौ अर्ब १६ करोड ४९ लाख अर्थात् २८.११ प्रतिशत बजेट विनियोजन भएको छ । सरकारले स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ चार अर्ब एक करोड ५७ लाख २९ हजार विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्य आन्तरिक राजस्वबाट ७१ करोड २९ लाख ७४ हजार, चालु आर्थिक वर्षको खर्च नभइ बाँकी रहन जाने अनुमानित चार अर्ब ५५ करोड ४५ लाख ८५ हजार र संघीय सरकारबाट राजस्व बाँडफाँट वापत प्राप्त हुन आएको नौ अर्ब दुई करोड २० लाख रहेको छ । आर्थिक मामिला तथा योजनामन्त्री विष्टले वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको १० अर्ब ७२ करोड ६४ लाख र सशर्त अनुदानको पाँच अर्ब ६९ करोड ६७ लाख रकम पनि परिचालन गरिने बताए ।

यस्तै, कर्णाली सरकारले नेपाल सरकारबाट प्राप्त हुने समपूरक वापतको एक अर्ब २१ करोड ५० लाख, विशेष अनुदान ६६ करोड ८० लाख प्राप्त हुने अनुमान गरेको छ । वैदेशिक सहायताबाट सञ्चालित हुने कार्यक्रम तथा आयोजना कार्यान्वयनका लागि दुई करोड पाँच लाख चार हजार स्रोत परिचालन गर्ने जनाइएको छ ।

प्रदेश सरकारले चालु बजेटलाई स्वास्थ्य क्षेत्रमा लक्षित गरेको भएपनि आउँदो बजेटमा भने पूर्वाधार निर्माणमा प्राथमिकता दिएको छ । पाँच वर्षे कार्यकालको अन्तिम बजेट भएकाले यसलाई योजना सम्पन्न गर्ने वर्षका रूपमा लिएको मन्त्री विष्टले बताए । सोहीअनुसार आगामी बजेटलाई सडक पूर्वाधार र कृषि क्षेत्रको विकासमा लगाइने सरकारले जनाएको छ । ‘विगतका वर्षमा सुरु भइ अधुरा रहेका योजनालाई मूर्त रूप दिन बजेटमा प्राथमिकता दिइएको छ,’ मन्त्री विष्टले भने आगामी वर्षको बजेट कार्यान्वयनबाट प्रदेशमा आधारभूत पूर्वाधार निर्माण हुने, बहुआयामिक गरिबीमा कमी आउनुका साथै खर्च प्रणालीमा सुधार भइ वित्तीय अनुशासन कायम हुने सरकारको अपेक्षा छ । यद्यपि, आगामी वर्षका लागि पनि अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिएर बजेट विनियोजन गरिएको छ ।

प्रकाशित मितिः   २ असार २०७९, बिहीबार ०५:०२