फोहोर व्यवस्थापनको चुनौति

प्रदेश राजधानी वीरेन्द्रनगर दुर्गन्धित छ । फोहोरको प्रभावकारी ढंगले व्यवस्थापन हुन सकेको छैन । घर तथा व्यवसायहरूबाट दैनिक निस्कने फोहोरलाई व्यवस्थापन गर्न नसक्दा नगर कुरूप बनेको हो । सडकका छेउछाउ र नालाहरूमा जताततै फोहोर थुप्रिएको देख्न सकिन्छ । उत्पादित फोहोर व्यवस्थापनको जिम्मेवारी वीरेन्द्रनगर नगरपालिकाको हो । तर नगरपालिकाले बेवास्ता गर्दै आएको छ । कतिसम्म भने नगरपालिकाले बजारबाट उठाएको फोहोर जथाभावी फाल्ने गरेको पाइएको छ । नगरले वडा नं. १ स्थित तारेभिर नजिकै फोहोर फाल्दै आएको छ । अधिकांश फोहोर त्यहाँ नपुग्दै बाटोमै फाल्ने गरिएको भेटिएको हो ।

फोहोरको उचित व्यवस्थापन नभएको भन्दै वीरेन्द्रनगर–१ का बासिन्दाले विरोध जनाएका छन् । नगरले फोहोर व्यवस्थापनमा लापरबाही गरेपछि उनीहरूले आइतवार फोहोर लिएर गएका गाडी बीच बाटोमै रोकेका हुन् । जहाँ त्यही फोहोर फाल्दा दुर्गन्धब गाउँसम्म आएको र फोहोरमैला व्यवस्थापनमा नगरपालिकाले बेवास्ता गरेको उनीहरूको गुनासो छ । सिर्जना टोल र गंगटेखोलालगायतका स्थानमा फोहोरको थुप्रो लागेको छ । नगर क्षेत्रबाट उठाएको फोहोरलाई बस्ती नजिकैका सडक किनारा र खोला खाप्सामा फाल्ने गरिएको हो । बस्ती र सडकमै फोहोरको डंगुर थुप्रिँदा वडा नं. १ को माथिल्लो क्षेत्र प्रभावित बनेको छ । फोहोर फाल्नुपर्ने स्थानमा नभइ जंगलभर थुपार्ने गरिएपछि स्थानीय आक्रोशित भएका छन् । ल्याण्डफिल्ड साइट निर्माण भइरहेको नजिकै फोहोर फाल्नुपर्ने भएपनि जथाभाबी फाल्दा वन क्षेत्र पनि दुर्गन्धित बनेको छ । घाँस–दाउरा गर्न र गाईबस्तु चराउनसमेत नमिल्ने गरी दुर्गन्ध फैलिएको स्थानीयले बताएका हुन् । फोहोर कृष्ण सामुदायिक वन क्षेत्रमा फाल्ने गरिएको छ । कुहिने, नकुहिने फोहोर नछुट्टयाएरै जथाभाबी फाल्ने गरिएको हो । सामुदायिक वन क्षेत्रमा जताततै फोहार मात्र देखिने गरेको छ । फोहोरको उचित व्यवस्थापन नहुँदा बोट–बिरुवाहरू विनास हुनुका साथै जंगली जनावरसमेत विस्थापित भएको त्यहाँका स्थानीय बताउँछन् ।

वीरेन्द्रनगरको फोहोर व्यवस्थापनका लागि निर्माणाधीन ल्याण्डफिल्ड साइट पनि अझै पूरा भएको छैन । वीरेन्द्रनगर–१ मा रहेको कृष्ण सामुदायिक वनमा ल्याण्डफिल्ड साइट निर्माण भइरहेको छ । ल्याण्डफिल्ड साइट निर्माण थालेको लामो समय भइसक्दा पनि संरचना निर्माणका काम अझै अधुरै छन् । २०६७ सालदेखि निर्माणको प्रक्रिया अघि बढाइएको थियो । जग्गा प्राप्तिको प्रक्रिया र आईए, डीपीआरलगायतका काममा ढिलाइ भएको छ । ल्याण्डफिल्ड साइटसम्म जाने पहुँच मार्गसमेत राम्रो नहुँदा गाडीहरू बाटोमै रोकेर फोहोर फाल्ने गरेको पाइएको छ । त्यहाँसम्म पुग्नलाई भरपर्दो सडक छैन ।

प्रकाशित मितिः   २५ जेष्ठ २०७९, बुधबार ०५:०३