मृत भेटिइन् हराएकी बालिका

सुर्खेत: चार दिनदेखि हराएकी बालिका मृत अवस्थामा भेटिएकी छिन् । जेठ २१ गतेदेखि हराइरहेकी गुर्भाकोट–५ कि सात वर्षीया गृष्मा विक मृत फेला परेकी हुन् ।

उनी घरनजिकैको बारीको कान्लामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए । उनका अनुसार गृष्माको शव खाल्डामै बसालिएको अवस्थामा भेटिएको हो । शव गाड्न खोजिएको हो वा अन्य कुनै कारणले खाल्डोमा भेटिएको भन्ने अनुसन्धान भइरहेको छ ।

२१ गते उनी हराएपछि आफन्तले सोमवार बेलुकासम्म खोजी गरेका थिए । खोजीका क्रममा नभेटिएपछि सोमवार बेलुका ६ बजे प्रहरीलाई खबर गरेका थिए । प्रहरी चौकी मालारानीबाट खटिएको टोलीले उनको शव फेला पारेको डीएसपी कार्कीले बताए । शवको पोष्टमर्टमका लागि कर्णाली प्रदेश अस्पतालमा राखिएको छ ।

घटनामा संलग्न रहेको आशंकामा एक जना युवकलाई अनुसन्धानका लागि नियन्त्रणमा लगिएको उनले जानकारी दिए । मृत भेटिएकी बालिकाकी आमा छैनन् । बुवा रोजगारीका लागि हेटौंडा गएका छन् । हजुरआमासँग बसिरहेकी उनी हजुरआमासँग गाउँ जाँदा छुटेकी थिइन् ।

प्रकाशित मितिः   २५ जेष्ठ २०७९, बुधबार ०५:०४