दलित एकताले दललाई घुँडा टेकायो

जुम्ला: राजनीतिक दलहरूले दलित मतादातालाई निर्वाचनमा अनेक प्रलोभन देखाएर आफ्नो स्वार्थ अनुकूल प्रयोग गर्दै आएका छन् । शक्ति प्रदर्शन, राजनीतिक भेला वा विजय उत्सवजस्ता सबैजसो गतिविधिमा बाजा बजाउनेदेखि अनेक भूमिकामा दलितलाई दलले प्रयोग गर्छन् । केही दिन पहिले सम्पन्न स्थानीय तहको निर्वाचन २०७९ मा पनि यसले निरन्तरता पायो । यसपालि पनि जुम्लाका अधिकांश पालिकामा दलित समुदायलाई राजनीतिक दलले उपयोग मात्रै गरे । निर्वाचन परिणाम हरहालतमा आफ्नो पक्षमा पार्ने प्रयासले निरन्तरता पायो । दलित मतादातालाई अनेक प्रलोभनमा पारी मत आफ्नो पक्षमा पार्ने होडबाजी राजनीतिक दलमा परम्पराजस्तै बनेको छ । यो समुदायलाई राजनीतिक दलले उपयोग मात्रै गरिरहेको दलित समुदायका अगुवाहरू बताउँछन् ।

स्वतन्त्र उम्मेदवारी दिए, दलितको प्यानलनै विजयी गराए

दलित समुदायका लागि दलित कोटाको वडा सदस्यबाहेक अन्य मुख्य भूमिकामा टिकट पाएर निर्वाचित हुनु भनेको ‘फलामको चिउरा चपाउनु’ सरह मानिन्छ । दलित मतादाता बढी भएको वडादेखि पालिकासम्म उनीहरूलाई प्रमुख पदमा जानबाट विमुख गराइन्छ । राज्यले जातीय भेदभाव उन्मूलन घोषणा गरेपनि त्यसको कार्यान्वयन पक्ष फितलो छ । दलित समुदायका अगुवाहरू भन्छन्, ‘त्यसले समाजमा अनुभूति गराएको छैन ।’ एक प्रकारले अहिले पनि दलहरूले दलित समुदायमाथि राजनीतिक हिंसा गरिरहेका छन् ।’ यही असन्तुष्टि र विभेदको यसपटक भने जुम्लाको एउटा पालिकामा विद्रोह भएको छ । जिल्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्वर–८ को दलित समुदाय यसपालिको स्थानीय निर्वाचनमा चुपचाप बसेन । दलित समुदाय एकजुट भए । वडा तहमा उनीहरूले राजनीतिक दलविरुद्ध आफ्नो प्यानल नै खडा गरे । निर्वाचन जिते ।

‘पञ्चायत, बहुदलदेखि गणतान्त्रिक शासन व्यवस्थासम्म राजनीतिक दलले जसलाई भन्यो उसलाई मतदान गरियो, हजार हण्डर खाएपछि दलित एकताको जन्मभयो, यसपाली हाम्रै जीत भयो,’ स्थानीय युवा वीरबहादुर कामीले भने । दलित समुदायबाट स्वतन्त्र उम्मेदवार बनेका धनबहादुर कामीले दुई सय ८८ मत ल्याएर वडा अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मातृकाप्रसाद उपाध्यायले दुई सय २० मत ल्याए । कनकासुन्दरी–८ मा स्वतन्त्रको प्यानलनै विजयी भएको हो । स्वतन्त्र प्यानलबाट दलित महिला सदस्यमा निर्वाचित चनाखी कुलाल भन्छिन्, ‘हिजो आफ्नो अधिकारको लागि प्रश्न गथ्र्यौं, सबै एकजुट भएर आज जवाफ दिने ठाउँमा पुगेका छौँ ।’

कनकासुन्दरी–८ मा ६ वटा बस्ती छन्, कुलालबाडा, भट्ट भण्डारीबाडा, रोकायाबाडा, सञ्जेलबाडा, सुमलगाउँ र प्याउसेरा । जहाँका दुई सय २५ दलित घरधुरीमा ६ सय मतादाता छन् । वडामा कूल मतादाता संख्या एक हजार तीन सय छ । दलित मतादाता भन्छन्, ‘चुनावमा दलित मतादाता किन्न पाइन्छ भन्ने हेपाहा प्रवृत्ति छ, दलित र गैर दलितका खानेपानीका धारादेखि मृत्युपछि अन्तिम संस्कार गर्ने घाटसमेत अलग–अलग छन्, हाम्रा प्रतिनिधिले अधिकारको खोजी गर्ने छन्, भेदभाव हटाउन कम्मर कसेर लाग्नेछन् ।’

गैर दलितका समस्या र गुनासालाई पनि उत्तिकै सम्बोधन गर्दै वडामा काम गर्ने नवनिर्वाचित वडा अध्यक्ष धनबहादुर कामी बताउँछन् । संविधानले नै निषेध गरेको छुवाछुत पूर्णरूपमा हटाउन देशभरका दलित समुदायले आफ्ना जनप्रतिनिधि निर्णायक तहमा पु¥याउनुपर्ने उनको धारणा छ । धनबहादुर भन्छन्, ‘दलितले छोएको सीप चल्छ, श्रम चल्छ, तर पानी चल्दैन, अब हाम्रो वडाबाट विकास निर्माणसँगै छुवाछुत मुक्त र सभ्य समाज निर्माणको थालनी हुनेछ ।’

प्रकाशित मितिः   २४ जेष्ठ २०७९, मंगलवार ०५:०२