जग्गाधनी पुर्जा वितरणको तयारी
सुर्खेत: भेरीगंगा नगरपालिकाका चार वडाका स्थानीयलाई भोगचलन गर्दै आएको जग्गाको स्थायी पुर्जा वितरण गरिने भएको छ । नगरका वडा नं. ६, ७, ८ र ९ का झन्डै तीन सय घरपरिवारलाई जग्गाधनी पुर्जा वितरणको तयारी थालिएको हो । पहिलो चरणमा राष्ट्रिय भूमि आयोगले गत चैत अन्तिम साता भेरीगंगगा र गुर्भाकोटका गरी एक सय ३६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको थियो । ती दुुई पालिकामा दुई सय ९३ कित्ता जग्गा वितरण भएको थियो । यसअघि नै प्रक्रियामा रहेका थप परिवारलाई दोस्रो चरणमा जग्गाधनी पुर्जा वितरण गरिने भएको छ । जसका लागि हक दाबी विरोधको सार्वजनिक सूचना प्रकाशित गरिएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति सुर्खेतले भूमिसम्बन्धी समस्या समाधान गर्न पुरक प्रमाण र कागजातहरू पेस तथा कुनै दाबी विरोध वा उजुरी गर्नेसम्बन्धी ३५ दिन म्याद थप गर्न सूचना जारी गरेको हो ।
आयोग सुर्खेतका अध्यक्ष श्रीधर पौड्यालले कागजात पेस गर्नको लागि ३५ दिने सूचना प्रकाशित गरिएको जनाए । उनका अनुसार प्रचलित कानुन बमोजिम भूमिसम्बन्धी नेपाल सरकारले गठन गरेको समिति वा कार्यदलबाट बाँकी काम सम्पन्न गर्न आवश्यक कागजातहरूको माग गरिएकोे छ । भेरीगंगाका भूमिहीन परिवारलाई जग्गाधनी पुर्जा वितरणको लागि आवश्यक तयारी भइरहेको पौड्यालले बताए । साविकको कोटमाझखर्क अन्तर्गत रहेका ६ सय ७७ आवेदनमध्ये लालपुर्जा पाउन बाँकी रहेका परिवारलाई पुर्जा वितरणका लागि प्रक्रिया अघि बढाइएको हो ।
प्रकाशित मितिः २४ जेष्ठ २०७९, मंगलवार ०५:०१
साझा बिसौनी ।