गुरुयोजनाविहीन सहर

वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी सहर हो । बढ्दो सहरीकरणले पछिल्ला वर्षहरूमा नगर क्षेत्र अव्यवस्थित बन्दै गएको छ । वीरेन्द्रनगर कस्तो बनाउने भन्नेबारे अहिलेसम्म कुनै ठोस योजना बनेको छैन । नगरको गुरुयोजनाविनै अस्तव्यस्त रूपमा विकास निर्माणका काम अघि बढाइँदै आएको छ । जसको असरले नगर क्षेत्र कुरूप बन्दै गएको छ । नगरसँग व्यवस्थित बस्ती विकासको योजना छैन । सडक, भवन र अन्य भौतिक संरचना निर्माणको निश्चित मापदण्ड नहुँदा अव्यवस्थित विकास तीव्र बनेको छ । वीरेन्द्रनगर प्रदेशको राजधानी भएकाले यहाँ जनसंख्याको चाप दिनानुदिन बढ्दै छ । सुगम नगरपालिका भएकाले सहरीकरणको प्रभाव उस्तै छ । नगरमा बसाइँसरी आउनेहरूको संख्या ठूलो छ । तर, सहरीकरणलाई व्यवस्थित गर्ने मुख्य दायित्व रहेको नगरपालिका भने गुरुयोजनाविहीन छ । पुरानो गुरुयोजना प्रभावकारी रूपमा कार्यान्वयन भएको छैन । प्रस्तावित नयाँ गुरुयोजना अलपत्र अवस्थामा छ ।

वीरेन्द्रनगरमा २५ वर्षे सोचसहितको दीर्घकालीन गुरुयोजना बनाइएको पनि छ । त्यसलाई अन्तिम रूप दिएर नगर कार्यपालिकाबाट पास गर्न बाँकी छ । कार्यपालिकाबाट पास गरेर मात्र गुरुयोजना लागू गर्नुपर्ने हुन्छ । अघिल्लो कार्यकालमा जनप्रतिनिधिहरूको जस लिने होडबाजी र कतिपय कानुनी जटिलताका कारण यो कामले पूर्णता पाउन नसकेको बुझिएको छ । यसतर्फ अबका जनप्रतिनिधिको ध्यान जान आवश्यक छ । कुनै पनि क्षेत्रको व्यवस्थित र योजनाबद्ध विकासका लागि त्यसको ‘मास्टर प्लान’ चाहिन्छ । योजनाविनाको विकासले नागरिकलाई सेवाभन्दा बढी सास्ती दिन्छ । अहिले वीरेन्द्रनगरमा त्यस्तै भएको छ । नगरमा जथाभावी रूपमा कित्ताकाट र घर निर्माण भइरहेका छन् । नगर क्षेत्रमा मनोमानी भौतिक संरचना बनाइँदा सडक विस्तार, ढल निकास, ट्राफिक व्यवस्थापनलगायतमा चुुनौती छ । यो समस्या हरेक वर्ष बढ्दै जाने देखिन्छ ।

कृषियोग्य क्षेत्रको रूपमा लिइएको उपत्यकाको दक्षिणी भागमा धमाधम प्लटिङ्ग गरी घर बनेका छन् । जग्गा प्लटिङ्गका नाममा जथाभावी बनाइएका साँघुरा सडकले विकास निर्माणका क्रियाकलाप सञ्चालन गर्नसमेत कठिनाइ छ । खेत मासेर धमाधम घडेरी निर्माण गर्ने र त्यसमा घर बनाउने कामलाई नियन्त्रण गर्न जरुरी भइसकेको छ । चौडा सडक, ढल निकासको उचित प्रबन्ध र फोहोर व्यवस्थापनको विकल्पबारे योजना बनाउन ढिला गरिँदा जटिल समस्याहरू आउन सक्छन् । अब पनि झन्डै चार दशक पुरानो गुरुयोजनाका भरमा विकासका गतिविधि अघि बढाइनु सान्दर्भिक हुन सक्दैन । नगरको दीर्घकालीन र व्यवस्थित विकासका लागि जतिसक्दो छिटो नयाँ गुरुयोजनालाई पूर्णता दिएर कार्यान्वयनमा लिन आवश्यक देखिन्छ ।

प्रकाशित मितिः   १९ जेष्ठ २०७९, बिहीबार ०५:०३