नगर कार्यपालिकामा एमालेको प्यानल विजयी

सुर्खेत: वीरेन्द्रनगर नगरपालिकाको कार्यपालिका सदस्यमा नेकपा (एमाले)को प्यानलै विजयी भएका छन् । नगर कार्यपालिकाका आठै जना सदस्य एमालेबाट निर्वाचित भएका हुन् । बुधवार भएको मतदानमा एमाले उम्मेदवारले समान ५४ मत प्राप्त गरे । नेपाली कांग्रेसका उम्मेदवारले २८ मत ल्याए । वीरेन्द्रनगरको कार्यपालिका सदस्यमा महिलातर्फ टीकाकुमारी गुरूङ, तृप्तीकुमारी विक, यमुना नेपाली, लक्ष्मी चौधरी र सरिता चौधरी निर्वाचित भएका छन् । त्यस्तै दलित कार्यपालिका सदस्यतर्फ गंगाराम सुनार र रचना बाठा निर्वाचित भए । नगर कार्यपालिकाको अल्पसंख्यक सदस्यमा नवराज गुरुङ निर्वाचित भएका छन् ।

यसैबीच चौकुने गाउँपालिकामा कार्यपालिका सदस्य निर्वाचनमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच तालमेल भएको छ । कार्यपालिकामा निर्वाचित हुनुपर्ने ६ जना सदस्यका लागि माओवादी केन्द्रले एमालेसँग सहकार्य गरी कांग्रेसलाई हराएको हो । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा भने माओवादी केन्द्रले कांग्रेससँग गठबन्धन गरी अध्यक्ष जितेको थियो । बुधवार भएको गाउँ कार्यपालिकाको निर्वाचनमा चार जना माओवादी केन्द्र र दुई जना एमालेबाट कार्यपालिका सदस्य निर्वाचित भएका छन् । एमालेसँग तालमेल गरी माओवादीले आफूले चार र एमालेबाट दुई जना सदस्यलाई उम्मेदवार बनाएको थियो ।

एमालेबाट महिला सदस्यमा कमलादेवी विक र दलित तथा अल्पसंख्यक सदस्यमा शंकरबहादुर कामी उम्मेदवार बनेका थिए । माओवादी केन्द्रबाट महिला सदस्यमा अम्बि विक, पद्मादेवी विश्वकर्मा र हजुराकुमारी विष्ट उम्मेदवार थिइन् । माओवादी केन्द्रबाटै दलित तथा अल्पसंख्यक सदस्यमा उज्जीरे ढोली उम्मेदवार थिए । स्थानीय तह निर्वाचनमा माओवादी केन्द्र र कांग्रेसबीच गठबन्धन गरी पालिका अध्यक्षमा माओवादी केन्द्रका खड्क विक निर्वाचित भएका थिए । पालिका उपाध्यक्षमा कांग्रेसका नरबहादुर बान्तोला निर्वाचित भएका थिए । गाउँपालिकाका १० वडामध्ये कांग्रेस र एमाले चार÷चार तथा माओवादी केन्द्रले दुई वटा वडा जितेका थिए ।

प्रकाशित मितिः   १९ जेष्ठ २०७९, बिहीबार ०५:०१