गुरुयोजनाविनाको विकास

कानुनी जटिलता र जस लिने होडबाजीले नगरको प्रस्तावित ‘मास्टर प्लान’ अलपत्र

सुर्खेत: कर्णालीको राजधानी सहर वीरेन्द्रनगरलाई व्यवस्थित बनाउने ठोस योजना अझै बनेको छैन । बढ्दो सहरीकरणले अस्तव्यस्त बन्दै गएको नगर गुरुयोजनाविहीन छ । ‘मास्टर प्लान’विनै नगरपालिकाले हचुवाका भरमा विकास निर्माणका काम गर्दै आएको हो । झन्डै चार दशकभन्दा पुरानो गुरुयोजनाका भरमा वीरेन्द्रनगरमा विकास निर्माण हुँदै आएका हुन् । व्यवस्थित सहरका रूपमा अघि बढाउन दीर्घकालीन सोचसहितको गुरुयोजनाको अवधारणा अघि सारिएको भए पनि त्यसले पूर्णता पाउन नसकेको वीरेन्द्रनगर नगरपालिकाका निवर्तमान प्रमुख देवकुमार सुवेदी बताउँछन् । उनका अनुसार कानुनी जटिलता, जस लिने होडबाजी र मुआब्जा वितरणमा कठिनाइजस्ता कारणले बनिसकेको गुरुयोजना पनि लागू नभएको हो । वीरेन्द्रनगर नगरपालिकाले करिब ६८ लाख रूपैयाँ खर्च गरेर निर्माण गरेको गुरुयोजना कार्यान्वयनमा नलिँदा अलपत्र परेको छ ।

पाँच वर्षअघि नगरमा जनप्रतिनिधि आएसँगै गुरुयोजनाको प्रक्रिया अघि बढाइएको थियो । ‘९० प्रतिशत काम सम्पन्न भइसकेको छ,’ सुवेदी भन्छन्, ‘केही कानुनी जटिलता र कतिपय विषयमा राजनीतिक सहमति जुट्न नसक्दा पास गरेर लागू गर्न सकिएन ।’ उनका अनुसार प्रस्तावित गुरुयोजनामा भू–उपयोग नीति, सडकको मापदण्ड निर्धारणलगायतका काम भएका छन् । सडकको मापदण्ड तोकिएको भए पनि नक्साङ्कन हुन भने बाँकी नै छ । नगरले बनाएको नयाँ गुरुयोजनामा साविकका गाउँ विकास समिति (हाल नगर क्षेत्रमा पर्ने) लाई पनि समेटिएको छ । नगरको विस्तारित क्षेत्रको योजनासमेत बनाइएको हो । लाटीकोइली, उत्तरगंगा, जर्बुटा, रतु, गर्तन, र गढीलगायतका क्षेत्रलाई गुरुयोजनामा समावेश गरिएको छ । उक्त गुरुयोजना निर्माणको जिम्मा सहरी विकास मन्त्रालयको भवन विभागले लिएको थियो । गुरुयोजना निर्माण गरी तयार नेपाल नाम संस्थाले किताबसमेत सार्वजनिक गरिसकेको सुवेदीले जनाए । ‘अन्तिम चरणमा आएर जनप्रतिनिधिबीच नै कसले जस लिने भन्ने प्रतिस्पर्धाजस्तो वातावरण बन्यो,’ उनले भने, ‘कार्यपालिकाबाट पास गर्न सकिएन । गुरुयोजनालाई राजनीतिक नाफा घाटाका रूपमा हेरिँदा पनि समस्या भएको हो ।’ प्रस्तावित २५ वर्षे गुरुयोजनामा वीरेन्द्रनगरको अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाउने, डुबानको समस्या हल गर्ने र योजनाबद्ध विकास गर्नेलगायतका अवधारणा अघि सारिएको छ । तर, उक्त गुरुयोजना लागू नहुँदा विकास निर्माणका काम अस्तव्यस्त रूपमा भइरहेका छन् ।

वीरेन्द्रनगरको विकासक्रमका जानकार एवम् सरकारी सेवानिवृत्त इञ्जिनियर ओमदत्त रेग्मी यसअघि रत्न राजमार्गभन्दा उत्तरको भागलाई बस्ती व्यवस्थापन र दक्षिण भागलाई कृषि क्षेत्रका रूपमा विकास गर्नेगरी गुरुयोजना निर्माण गरिएको बताउँछन् । उनका अनुसार वीरेन्द्रनगर–८ मा आवास क्षेत्र, ७ मा सरकारी निवासलगायत व्यवस्थित गुरुयोजना निर्माण भएको थियो । ‘विगतको योजना प्रभावकारी रूपमा कार्यान्वयन भएन, नयाँ गुरुयोजना बनाएर लागू पनि गरिएन,’ उनले भने, ‘पछिल्ला वर्षहरूमा वीरेन्द्रनगर झनै कुरूप बन्दै गयो ।’ पुरानो गुरुयोजनामा बस्ती विकास, कृषि क्षेत्र, सडक, खेल र खुला मैदान, पार्क, ढल, सरकारी कार्यालयको क्षेत्र र संस्थानहरूको क्षेत्र छुट्याइएको थियो । नगर कस्तो बनाउने भन्ने ठोस योजनाको अभावमा मनोमानी संरचनाहरू निर्माण भइरहेको उनको बुझाइ छ । अबको गुरुयोजना दिगो बनाउन ढल निकास, फोहोर व्यवस्थापन, ट्राफिक व्यवस्थापन र सडकको मापदण्डमा विशेष ख्याल गरिनुपर्ने रेग्मीले बताए ।

वीरेन्द्रनगरको गुरुयोजनाको इतिहास हेर्दा वि.सं. २०२८ सालबाट व्यवस्थित रूपमा अगाडि बढ्न खोजेको देखिन्छ । सुर्खेत उपत्यका बसोबास आयोगमार्फत तत्कालीन भवन विभाग कार्यालयका प्रमुख माधवभक्त माथेमाले यहाँको गुरुयोजना निर्माण गरेका थिए । सोही आधारमा वि.सं.२०३१ सालमा नगर विकास समितिले समेत गुरुयोजनाको काम थालेको पाइन्छ । वीरेन्द्रनगरमा वि.सं. २०२९ देखि २०४५ सालसम्म भौतिक योजना टोलीले गुुरुयोजना तयार पारेको थियो । जसलाई ‘माथेमा प्लानिङ’ पनि भन्ने गरिन्छ । त्यसबेला दुई सय ३२ विगाह जग्गा अधिग्रहण गरेर गुरुयोजना कार्यान्वयनमा लगिएको थियो । वीरेन्द्रनगरका साविकका १२ वटा वडामात्रै गुरुयोजनाभित्र समेटिएका थिए । हाल नगरभित्र पर्ने लाटीकोइली, उत्तरगंगा, गढी, जर्बुटालगायत क्षेत्रलाई संरक्षित क्षेत्रको रूपमा राखिएको थियो ।

‘माथेमा प्लान’ले राजमार्गको तल्लो क्षेत्रलाई कृषि क्षेत्र भनेर निर्धारण गरेको थियो । वि.सं. २०३६ सालमा प्लान संशोधनपछि उक्त क्षेत्रमा आवास निर्माण थालिए । अहिले उक्त क्षेत्र घना बस्तीमा रूपान्तरण भइसकेको छ । कृषियोग्य जमिन मासेर धमाधमbभवन निर्माण गरिएपछि त्यसलाई व्यवस्थित बनाउन नगरपालिकालाई चुनौती भएको छ । तीव्र गतिमा भइरहेको बस्ती विकासलाई रोक्न सक्ने अवस्था नगरपालिका छैन । नगरले तयार पारेर कार्यान्वयनमा लिन नसकेको नयाँ गुरुयोजनामा पनि उपत्यकाको सबै क्षेत्रलाई व्यवस्थित सहरको रूपमा विकास गर्न प्रस्ताव गरिएको छ ।

नगरको गुरुयोजना निर्माण गरी कार्यान्वयनमा लैजाने पहिलो प्राथमिकता रहेको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले बताइन् । उनले रत्न राजमार्गदेखि दक्षिणपट्टिको भू–भागलाई कसरी व्यवस्थित सहर बनाउने भन्ने विषयमा छलफल चलाएर काम अघि बढाइने जनाइन् । ‘अघिल्लो कार्यकालमा पनि यो विषयलाई महŒवका साथ राखिएको हो,’ यसअघि नगर उपप्रमुख रहेकी ढकालले भनिन्, ‘विविध कारणले गुरुयोजना निर्माण गरी लागू गर्न सकिएन् ।’ यसलाई अब उच्च प्राथमिकताका साथ अगाडि बढाउने योजनामा स्थानीय सरकार रहेको उनको भनाइ छ ।

प्रकाशित मितिः   १८ जेष्ठ २०७९, बुधबार ०५:०५