पुस्तकविना पढाइ

जेठ १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु भइसकेको छ । विद्यालय सञ्चालनमा आइसकेका छन् । तर विद्यार्थीले पुस्तक भने पाएका छैनन् । भर्नासँगै विद्यार्थीका हातहातमै पाठ्यपुस्तक पु¥याउने सरकारको नारा औपचारिकतामै सीमित भएको छ । नयाँ शैक्षिक सत्र सुरु भएको दुई साता भइसक्दा पनि विद्यार्थीले पुस्तक नपाएका हुन् । कर्णाली प्रदेशका अधिकांश सामुदायिक विद्यालयहरूमा पाठ्यपुस्तक पुग्न सकेका छैनन् । किताब नहुँदा पठनपाठन प्रभावित भएको छ । शिक्षक र विद्यार्थी दुवै मर्कामा परेका छन् । किताब नै नभएपछि सिकाइ उपलब्धी पनि राम्रो हुने कुरै भएन । विद्यार्थी भर्ना भएर कक्षा सञ्चालन सुरु गरेको लामो समय भइसक्दा पनि पाठ्यपुस्तकको ठेगान नहुँदा शैक्षिक गतिविधि प्रभावित बनेको हो ।

दुर्गम क्षेत्रका मात्र नभइ प्रदेश राजधानी वीरेन्द्रनगरकै विद्यार्थीले पनि किताब पाउन सकेका छैनन् । वीरेन्द्रनगर नगरपालिकाले पाठ्यपुस्तक खरिदका लागि सम्बन्धित विद्यालयको खातामा रकम पठाएको छ । विद्यालयहरूले बजारमा किताब नपाउँदा खरिद गर्न नसकिएको जनाएका छन् । पुस्तक व्यवसायीहरूका अनुसार सुर्खेतमा नै पर्याप्त पाठ्यपुस्तक आएको छैन । जनक शिक्षा सामग्रीको लापरबाहीले विद्यार्थीले पुस्तक पाउन नसकेको व्यवसायीहरू बताउँछन् । जनक शिक्षा सामग्रीले पाठ्यपुस्तक छपाइमा ढिलाइ गर्दा पठनपाठन नै प्रभावित भएको हो । हरेक वर्ष कुनै न कुनै बहाना बनाएर पुस्तक छपाइमा हेलचक्य्राइँ हुने गरेको छ । विद्यालयहरूले किताब ढुवानीका लागि पुस्तक व्यवसायीहरूलाई जिम्मा दिएका छन् । तर, कहिले किताब आउने भन्ने टुँगो छैन । खास गरेर कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरूको हातमा पुस्तक परेको छैन । शिक्षकहरूका अनुसार कक्षा ४, ७ र ९ कक्षाको पाठ्यक्रमसमेत नयाँ भएका कारण यसपटक कुनै विषयका पुस्तक बिनै अध्ययन गर्नुपर्ने बाध्यता देखिएको छ । यो वर्ष पाठ्यपुस्तकको छपाइ र ढुवानीमा लापरबाही गरिँदा बालबालिकाको पढाइमा ठूलो असरपर्ने शिक्षा क्षेत्रका जानकारहरू बताउँछन् । पाठ्यपुस्तक उपलब्ध नभएपछि अहिले पाठ्यक्रमका आधारमा शिक्षकले बोर्डमा लेखेअनुसार विद्यार्थी अध्ययन गर्न बाध्य छन् ।

यसै शैक्षिक सत्रसम्म माध्यमिक तहको पाठ्यक्रम परिमार्जन गरिसक्ने सरकारको योजना छ । सोहीअनुरूप यो वर्षदेखि कक्षा चार, सात र नौमा नयाँ पाठ्यक्रम लागू भएको छ । नयाँ पाठ्यक्रम लागू हुने भएपछि सोही आधारमा पाठ्यपुस्तक छाप्नुपर्ने हुन्छ । तर, यसतर्फ जनक शिक्षा सामाग्री संवेदनशील नबन्दा अझै ३५ लाख पाठ्यपुस्तक छपाइ हुन नसकेको जनाइएको छ । कक्षा चार देखि १० सम्मका पाठ्यपुस्तक जनक शिक्षाले छाप्ने जिम्मा पाएको छ । अहिले केही विद्यालयमा कक्षा ५, ६ र ८ को पाठ्यपुस्तक पनि अभाव देखिएको छ । छापिएका पुस्तक पनि पूरा सेटमा नहुँदा बिक्रेताले ढुवानी गर्न आनाकानी गर्दै आएको बुझिएको छ । हिमाली जिल्लाका विद्यालयहरूमा पाठ्यपुस्तकको झनै अभाव छ ।

प्रकाशित मितिः   १५ जेष्ठ २०७९, आईतवार ०५:०३