मतदानको पर्खाइ
स्थानीय तहको निर्वाचनका लागि मतदान गर्ने दिन सम्मुखमै आइपुगेको छ । शुक्रवार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म देशभरका विभिन्न मतदानस्थलहरूमार्फत आम मतदातालाई आफ्ना जनप्रतिनिधि चयन गर्न मतदान गर्नेछन् । आगामी पाँच वर्ष स्थानीय सरकारको नेतृत्व छान्नेछन् । निर्वाचन आयोगले मतदानका लागि आवश्यक सबै तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । निर्वाचन आयोगका अनुसार देशभर १० हजार सात सय ५६ मतदानस्थलमा २१ हजार नौ सय ५५ मतदान केन्द्र तोकिएका छन् । राजनीतिक दल तथा उम्मेदवारहरूले आफनो चुनावी प्रचार अभियान मैझारो गरिसकेका छन् । मंगलवार रातिदेखि मौन अवधि सुरु भइसकेको छ । अर्थात अब मतदान हुन मात्रै बाँकी छ ।
यसपटकको निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार सात सय २३ जना मतदाताले आफ्नो मत दिन पाउनेछन् । निर्वाचनबाट सात सय ५३ स्थानीय तहमा ३५ हजार दुई सय २१ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् । यसमध्ये तीन सय ९० जना निर्विरोध निर्वाचित भइसकेका छन् । निर्विरोध निर्वाचितमध्ये वडाध्यक्षमा ६ र सदस्यमा २९ गरी ३५ जनाले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका थिए । निर्वाचनमा ६५ राजनीतिक दल चुनावी प्रतिस्पर्धामा छन् । उम्मेदवारको संख्या स्वतन्त्रसहित एक लाख ४५ हजार ११ छ । यसमा ८९ हजार तीन सय १३ पुरुष र ५५ हजार ६ सय ९८ महिला छन् । दुई सय ९३ नगर प्रमुखका लागि तीन हजार दुई सय ३८ जना र चार सय ६० गाउँपालिका अध्यक्षमा तीन हजार ९२ जनाले उम्मेदवारी दिएका छन् । दुई सय ९२ उपप्रमुख पदमा एक हजार नौ सय ६४ र चार सय ६० गाउँपालिका उपाध्यक्षमा दुई हजार एक सय ६३ जनाको उम्मेदवारी परेको छ । त्यस्तै ६ हजार सात सय ४३ वडाध्यक्षका लागि ३२ हजार चार सय ९५ जनाले उम्मेदवारी दिएका छन् । ६ हजार सात सय ४३ महिला सदस्यका लागि २५ हजार ६ सय जना प्रतिस्पर्धामा छन् । १३ हजार चार सय ८६ खुला वडा सदस्यमा छानिन ५३ हजार एक सय ७४ जना र ६ हजार सात सय ४३ दलित महिला सदस्यमा २३ हजार दुई सय ८५ ले उम्मेदवारी दिएका छन् ।
निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन सुरक्षा व्यवस्था कडा पारिएको छ । यस हिसाबले अब निर्वाचनको अन्तिम प्रक्रियाको रूपमा मतदान गर्न मात्रै बाँकी छ । अर्थात नागरिकको फैसला आउन बाँकी छ । नागरिकहरू मतदान प्रक्रिया सुरुवातको पर्खाइमा छन् ।
प्रकाशित मितिः २९ बैशाख २०७९, बिहीबार ०५:०३
सम्पादकीय ।