बसाइँ सहरमा, मतदान गाउँमा

सुर्खेत: दैलेखको भगवतीमाईं गाउँपालिका–२ का अमरबहादुर शाही वीरेन्द्रनगरमा व्यवसाय गर्छन् । झन्डै एक दशकदेखि नियमित यतै बस्ने उनी बुधवार परिवारसहित गाउँ हिँडे । वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा मतदान गर्न उनको परिवार गाउँ गएको हो । ‘नजिकका आफन्त यसपालि वडामा उम्मेदवार बन्नुभएको छ,’ शाहीले भने, ‘यस्तो बेला एक मतको पनि महŒव हुन्छ, नगइ पनि भएन ।’ उनको परिवारमा चार भोट छन् । २०७४ को स्थानीय तह निर्वाचनमा पनि शाहीको परिवार यसैगरी भोट हाल्न गाउँ पुगेको थियो ।

दैलेखकै डुङ्गेश्वर गाउँपालिका–५ का रमेश न्यौपाने काठमाडौंमा पढ्छन् । उनी पनि स्थानीय तहको निर्वाचनमा भोट हाल्न गाउँ फर्किएका छन् । बुधवार वीरेन्द्रनगर बसपार्कमा भेटिएका उनले मतदान गर्नकै लागि आफूसहित सात/आठ जना साथीहरू गाउँ जान लागेको बताए । २० वर्षीय न्यौपाने पहिलो पटक मताधिकारको प्रयोग गर्दैछन् । ‘पहिलो पटक भोट हाल्दैछु, त्यसैले उत्साहित पनि भएको छु,’ उनले भने । न्यौपानेका अनुसार गाउँबाट नेताहरूले फोन गरेर नआइ हुँदैन भनेपछि उनीहरू भोट हाल्न हिँडेका हुन् । उनले आउनका लागि उम्मेदवारले गाडीको व्यवस्थासमेत गरिदिएको बताए ।

शाही र न्यौपाने प्रतिनिधिमूलक मतदाता हुन् । स्थानीय तहको निर्वाचन नजिकिएसँगै मत हाल्न गाउँ जानेको केही दिनयता लर्को लाग्ने गरेको छ । कामका सिलसिलामा सहरमा बस्नेहरू चुनावका बेला धमाधम आ–आफ्ना गाउँ फर्किन्छन् । बाहिर भएका त्यस्ता अधिकांश मतदातालाई उम्मेदवारहरूले आउने जाने खर्चको प्रबन्ध गरेर बोलाउने गरेका छन् । यसपालिका स्थानीय चुनावमा पनि गाउँ फर्कनेको चापले बसपार्कमा भिड छ भने सवारी साधनहरू भरिभराउ देखिन्छन् । यात्रु बढेपछि गाडी पाइनसमेत मुस्किल हुने गरेको छ । मतदाता नामावली भएकै ठाउँबाट मात्र मतदान गर्न पाइने भएकाले चुनावमा अस्थायी रूपमा बसेको ठाउँ छोड्नेको संख्या अधिक हुने गरेको हो ।

कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगरबाट पनि मतदान गर्न बाहिरिनेहरूको संख्या ठूलो देखिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । दुई÷तीन दिनयता दैलेख, कालीकोट, सल्यान, जाजरकोटलगायतका जिल्ला जाने यात्रुको चाप बढेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक ‐डीएसपी) रामप्रसाद घर्तीले गाउँ जानेको संख्या केही बढेको बताए । उनी भन्छन्, ‘अरु बेलाको तुलनामा अहिले १० प्रतिशत जति बढी मानिसहरू वीरेन्द्रनगरबाट बाहिरिएको आकलन छ ।’ प्रहरीले वीरेन्द्रनगरबाट चुनावकै लागि गाउँ जानेहरूको यकिन विवरण भने नराखेको उनले जनाए । प्रहरीका अनुसार सामान्य अवस्थाभन्दा सार्वजनिक र निजी सवारी साधनहरू पनि यो समयमा बढी नै गुडेको पाइएको छ ।

वीरेन्द्रनगरमा प्रदेशका दशवटै जिल्लाका मानिसहरू पेसा, व्यवसाय र विभिन्न कामको सिलसिलामा बस्ने गरेका छन् । उनीहरू यतिबेला मतदानका लागि आफ्नो ठाउँ फर्किएका हुन् । धेरैजसो स्थानीय तहको निर्वाचनमा मत हाल्न गाउँ गएपछि बजार क्षेत्रहरूमा मानिसहरूको चाप घटेको छ भने कतिपय व्यवसायसमेत बन्द गरिएका छन् । वर्षभरी बाहिरै बस्ने भएपनि मतादाता जनप्रतिनिधि चुन्न भने गाउँमै जाने गरेका छन् । उनीहरू उम्मेदवारका एजेन्डा हेरेर सक्षम व्यक्तिलाई चुन्न नभइ आफन्त र नजिकका व्यक्तिलाई जिताउन पेसा व्यवसाय नै बन्द गरेर मत हाल्न गाउँ हानिने गरेका हुन् । यसरी भोट दिएर फर्किएका मतदाता अर्को चुनावमा मात्रै फेरि गाउँ पुग्छन् । ‘बसाइँ वीरेन्द्रनगरमै भएपनि हामीले नामावली यता सारेका छैनौँ,’ चिङ्गाड गाउँपालिकाकी सुमित्राकुमारी जिसी भन्छिन्, ‘मत हाल्न गाउँमै जानुपर्छ ।’ उनले पनि आफूसहित गाउँका धेरै मतदाता बुधवार नै हिँड्ने तयारी गरिरहेको बताइन् ।

स्थानीय तह निर्वाचनका लागि मतदान गर्न एक दिन बाँकी छ । अधिकांश मतदाता गाउँ पुगिसकेका छन् । नजिकको दूरीमा रहेकाहरू बिहीवार जाने तरखरमा छन् । मतदानको दिन सवारी साधन सञ्चालन गर्न नपाइने भएकाले मतदाताहरू त्यसअघि नै आफ्नो गन्तव्यमा लागि सक्छन् । निर्वाचनका बेला यसरी मतदाता ओसारे पनि नखस्ने मतको संख्या भने अझै ठूलो छ । कर्णाली प्रदेश निर्वाचन कार्यालयका अनुसार विगतका निर्वाचनहरूमा प्रदेशभरमा करिब ७० प्रतिशत मत खस्ने गरेको थियो । झन्डै ३० प्रतिशत मतदाता मतदानमा सहभागी नहुने गरेका हुन् । यसपटकको स्थानीय तह निर्वाचनमा पनि यही हाराहारीमा मत खस्ने अनुमान गरिएको छ । यो पटकको स्थानीय तह निर्वाचनमा कर्णालीमा १३ हजार ६५ जना उम्मेदवार रहेको प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले बताए । उनका अनुसार प्रदेशभर १० लाख एक हजार दुई सय ८२ जना मतदाता छन् ।

प्रकाशित मितिः   २९ बैशाख २०७९, बिहीबार ०५:०४