चीनसँगको नाका बन्द

सुर्खेत: स्थानीय तहको निर्वाचनका लागि चिनसँग सीमा जोडिएको कर्णालीका दुई वटा नाका बन्द गरिने भएको छ । तिब्बततर्फ हुम्ला र डोल्पा जिल्लाका सीमा नाका मतदान हुने दिनसम्म बन्द रहनेछन् ।

नाकामा सुरक्षा व्यवस्थालाई कडा पारिएको त्यहाँ सुरक्षा अधिकारीहरूले बताएका छन् । १० जिल्ला रहेको कर्णालीको भारतसँग सिधा खुला नाका छैन । दक्षिणतर्फ बाँके र बर्दियासँग जोडिएकाले बाँके र सुर्खेतको बीचमा रहेको बबई नाकामा पनि कडा निगरानी राखिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले रातोपाटीलाई जानकारी दिए । उनले भने, ‘हाम्रो खुल्ला नाका छैन । बाँकेबाट आउने सवारी साधन उतैबाट बन्द हुनेभएकोले हामीलाई त्यही समस्या छैन ।’

हिमाली जिल्ला हुम्लामा चीनसँग जोडिएका सीमा नाकाहरू भने पूर्ण रूपमा बन्द गर्ने निर्णय भएको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी अनुपम पौडेलले जानकारी दिए । ‘तिब्बतसँग जोडिएको ठूलो नाकाको रूपमा हिल्सा नाकालाई लिइन्छ । यो नाका नाम्खा गाउँपालिकामा पर्दछ । उक्त नाका मंगलवार मौन अवधि सुरुभएदेखि बन्द गरिएको छ,’ उनले भने, ‘चीनतर्फबाट भने कोरोना भाइरस (कोभिड–१९) को समय देखिनै बन्द गरेको छ । खासै आवतजावत नभए पनि हाम्रो तर्फबाट वैशाख ३० गते रातीसम्मका लागि बन्द गर्ने निर्णय गरिएको छ ।’ पौडेलले वैशाख २१ गते नै सीमा नाका बन्द गर्ने निर्णय भएको बताए । हिल्सा बाहेक अन्य लिमी लाप्चा, दोजाङ, नेप्का लगायतका साना खुला सीमाहरूमा पनि सुरक्षा व्यवस्थालाई कडा गरिएको अधिकारीहरूले बताएका छन् ।

डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले भने, ‘सिमानाकामा रहेका सुरक्षा अधिकारीहरूसँग कुनै सम्पर्क हुन सकिरहेको छैन । यहाँ खुला नाका भनेर चिनिने भनेको तितर हो । यद्यपि त्यहाँ यसअघिदेखि नै कडा सेक्युरिटी प्रदान गरिएको अवस्था छ । कोभिडको समयदेखि आवतजावत गर्ने त्यस्तो अवस्था पनि छैन ।’ उनका अनुसार डोल्पाका खुला सीमा नाकाका रूपमा क्याटो र मरिमलाई पनि लिइन्छ । त्यहाँ पनि सुरक्षा कडा गरिएको उनले बताए ।

प्रकाशित मितिः   २९ बैशाख २०७९, बिहीबार ०५:०२