पूर्वाधारमा लगानी
देश चुनावी माहोलले तातिए पनि पर्यटकीय क्षेत्रहरूको चहलपहल घटेको छैन । यो सुखद् संकेत हो । कोरोना महामारीका कारण विगत दुई वर्षदेखि क्षतिग्रस्त भएको पर्यटन व्यवसाय केही समययता आएर सुध्रिदै गएको छ । सुधारको गति दिनप्रति दिन बढ्दो छ । यसले व्यवसायीमा समेत खुसीयाली छाएको छ । पर्यटकीय क्षेहरूमा पर्यटकहरूको आगमन बढ्दै गएको छ । पर्यटकीय क्षेत्र चलायमान हुनु भने देशको अर्थतन्त्र चलायमान हुनु हो । आम्दानी बढ्नु हो । रोजगारीका अवसर सिर्जना हुनु हो । तथ्यांकअनुसार पछिल्लो तीन महिनामा ४० हजारभन्दा बढी बाह्य पर्यटक नेपाल भित्रिएका छन् । आन्तरिक पर्यटकहरू देशभित्रका विभिन्न पर्यटकीय क्षेत्र घुमघाममा व्यस्त छन् । यसले पर्यटन व्यवसायमा आशाको सञ्चार गराएको छ । पर्यटन व्यवसाय मुलुकको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको व्यवसाय पनि हो । त्यसैले यसको चलायमान हुन अपरिहार्य छ । जुन पछिल्ला दिनमा देखिएको छ । आन्तरिक तथा बाह्य पर्यटकहरूको चहलपहल बढ्न थालेको छ ।
अर्थतन्त्रको प्रमुख र बलियो खम्बाको रूपमा पनि पर्यटनलाई हेर्ने र चर्चा गर्ने गरिएको छ । यो किन पनि भने पर्यटकीय दृष्टिले मुलुक प्रचुर सम्भावनाले भरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकहरू आकर्षित गर्न सक्ने थुप्रै सम्पदा छन् । तर विडम्बना के छ भने भएका पर्यटकीय स्थलहरूको उपयोग हुन सकेको छैन । पर्यटकीय क्षेत्रमा आवश्यक आधारभूत पूर्वाधार निर्माणमा समेत बेवास्ता र हेलचक्य्राइँ हुँदै आएको छ । कर्णाली प्रदेश पनि यही अवस्थाबाट अघि बढिरहेको छ । जसले गर्दा पर्यटन क्षेत्रबाट लिनसक्ने जति लाभ लिन सकेको छैन ।
प्रदेशका पर्यटकीय स्थलको विकास एवम् प्रवद्र्धनका लागि थालिएका अधिकांश भौतिक पूर्वाधार निर्माणका काम लामो समयदेखि लथालिङ्ग छन् । पर्यटकीय क्षेत्रको स्तरोन्नति गर्न सुरू गरिएका काम लामो समयदेखि अधुरै रहेका हुन् । सुर्खेतस्थित प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यहरूमा पूर्वाधार निर्माणमा ढिलासुस्ती गरिएको हो । बजेट अभाव, ठेकेदार कम्पनीको लापरबाही र सरकारी निकायको बेवास्ताका कारण तोकिएको मितिमा पूर्वाधार निर्माण भएका छैनन् । पूर्वाधार विकास गरी थप पर्यटक भिœयाउने सरकारी तथा निजी क्षेत्रको उद्देश्य थियो । संरचना निर्माणको प्रगति सुस्त भएपछि उक्त योजना सफल हुन सकेको छैन । जीर्ण बनेका संरचना भत्काइएका छन् । बनाउन थालिएका नयाँ भौतिक संरचना पूरा भएका छैनन् । तिनको विकास तथा विस्तारमा धेरै समय लगाइँदा पर्यटकीय गतिविधिमा असर परेको हो ।
प्रकाशित मितिः २१ बैशाख २०७९, बुधबार ०५:०३
सम्पादकीय ।