उम्मेदवारका आश्वासनले आजित मतदाता

सुर्खेत: वीरेन्द्रनगर–२ खोलीगाउँका ७८ वर्षीय औसिया थारुको घरमा केही दिनयता निकै चहलपहल छ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै आँगनमा भोट माग्नेहरू आइरहन्छन् । ‘चार÷पाँच दिन भयो, भोट माग्न आउनेका आश्वासन सुन्नमै दिन बितेका छन्,’ औसिया भन्छन्, ‘चुनावका बेला यसरी घर–घर धाउनेहरू जितेपछि कता हराउँछन् होला ?’ औसियाको मात्रै होइन उनका छिमेकीका घरमा पनि मतदाता फकाउनेको उस्तै भीड लाग्ने गरेको छ । वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनमा जनमत आफ्नो पक्षमा पार्न उम्मेदवारहरू घरदैलो कार्यक्रमअन्तर्गत दिनहुँजसो मतदाता भेट्न गइरहेका हुन् । उनीहरू चुनावी प्रतिबद्धता हात–हातमा बोकेर जनताको दैलोमै पुग्ने गरेका छन् ।

औसियाको घरमा यसपटक भोट माग्न जानेहरूमध्ये अधिकांश अघिल्लो स्थानीय तहको चुनावमा पनि गएका थिए । तीमध्ये केही उम्मेदवारलाई उनले मत हाले र जिते पनि । तर, उनका सुख–दुःख बुझ्न पाँच वर्षसम्म कसैले आँगनमा टेकेनन् । ‘अहिले फेरि चुनाव आयो, बल्ल नेताहरू देखिन थाले,’ औसियाले भने । पञ्चायतदेखिको राजनीति हेर्दै आएका उनी आज पनि नेताहरूको प्रवृत्तिमा खासै फरक नभएको बताउँछन् । थुप्रै निर्वाचनमा नेताका व्यवहारलाई नजिकबाट नियालेका औसिया भन्छन्, ‘नेताको काम जनतालाई झुक्याउनु मात्र त रहेछ । भोट दिएरै बुढो भइयो, हाम्रा दिन फेरिएनन् ।’ भोट माग्न आउनेदेखि दिक्क भएका उनले अहिलेको चुनावमा भोट नहालौँकी जस्तो मन भइरहेको बताए । ‘आजसम्म भोट दिएर हामीले के पायौँ ?,’ उनले थपे, ‘यसको जवाफ नेताबाट आउनुप¥यो अनि मात्र भोट दिने हो ।’

खोलीगाउँकै ७९ वर्षीया कलावती थारुले यसपालि पनि घरमा नेताहरूको लर्को लाग्ने गरेको बताइन् । तपाईंहरूका समस्या देख्ने छौँ भोट दिनुहोला भन्दै उम्मेदवारहरू आइरहेको उनी बताउँछिन् । ‘खोइ, कुन–कुन पार्टीका आए त्यो त म जान्दिन,’ कलावतीले भनिन्, ‘बिहानदेखि साँझसम्म आमा भोट दिनुहोला भन्दै आइरहेकै छन् ।’ त्यसरी घरमा आउनेहरूले बाटो बनाउ“छौँ । खानेपानी र उपचारको सुविधा दिन्छौँ भन्ने गरेको उनले सुनाइन् । चुनावताका उम्मेदवारहरूका आँखा सबैभन्दा पहिले विपन्न समुदायमा पर्छन् । बजार क्षेत्रमा भन्दा यस्तो बेला नेताहरू अनेकन् अभाव झेलिरहेका समुदाय र बस्तीमा पस्ने गरेका छन् । ती ठाउँमा आश्वासन दिएर भोट प्रभावित गर्न सकिन्छ भन्ने बुझाइ उनीहरूमा देखिन्छ । त्यसैले नेताहरू चुनावका बेला सहरी क्षेत्रभन्दा गाउँ केन्द्रित हुने गरेका छन् । वडा, गाउँ र नगरमा उम्मेदवार बनेकाहरू धेरैजसो स्थानीय तहको दोस्रो कार्यकालका लागि फेरि चुनावी मैदानमा छन् । यो अवधिमा राम्रो काम गरेकाहरू त्यसैलाई भजाएर भोट माग्दैछन् भने नयाँ अनुहारहरू आफूले जिते बस्तीको मुहारै फेरिदिन आश्वासन बाँडिरहेका भेटिन्छन् ।

वीरेन्द्रनगरको खोलीगाउँमा थारु समुदायको बाहुल्यता छ । स्थानीय बुुद्धिराम थारुका अनुसार यो बस्तीमा खानेपानीको चरम अभाव छ । ‘हाम्रो मुुख्य समस्या नै खानेपानी हो । विगतका चुनावमा पनि नेताहरूको ध्यानाकर्षण गराएकै थियौँ,’ उनले भने, ‘यसमा कसैले चासो दिएनन् ।’ थारु समुदायमा जीविकोपार्जनका लागि कठिनाइ नभए पनि भौतिक पूर्वाधारको विकास भने अत्यावश्यक रहेको उनी बताउँछन् । चुुनाव आउँदा नेताहरूले भोलि नै घर–घरमा धारा जोडिदेलान् जस्तो गर्ने गरेको बुद्धिरामले सुनाए । थारु समुदायमा यसपटक पनि मत माग्न आउनेको घुुइँचो छ । भोट माग्न आउने अनुहारदेखि आश्वासनसम्म उही पुरानै भएपछि विश्वास लाग्नै छाडेको यो समुदायका अगुवाहरूको भनाइ छ ।

उम्मेदवारहरूले मतदातालाई विश्वस्त पार्न भोटका लागि मात्र आग्रह गर्दैनन् । मतदाताको समस्या सुनेर डायरीमा टिपोटसमेत गर्छन् । घरआँगनमा पुग्ने जोकोही उम्मेदवारले विकासका दर्जनौँ आश्वासन मात्रै बाड्ने गरेको वीरेन्द्रनगर–९ कि लक्ष्मीकुमारी चौधरीले बताइन् । उनी यसअघिका निर्वाचित स्थानीय तहका जनप्रतिनिधिदेखि खुसी छैनन् । कारण उनले विश्वास गरेका जनप्रतिनिधिले देखिने गरी गतिलो कामै गरेनन् । लक्ष्मीको परिवारमा १० वटा भोट छन् । त्यही भएर पनि उम्मेदवारहरू घरदैलोमा उनको घर छुटाउँदैनन् । ‘दुई÷चार वटा पर्चा पम्पलेट हातमा थमाउँछन्,’ लक्ष्मी भन्छिन्, ‘ठूला–ठूला आश देखाएर जान्छन् । यसपालि त भोट हालौँ कि नहालौँजस्तो भएको छ ।’ चुनाव जितेपछि आफ्नो नभइ गाउँको मुहार फेर्ने जनप्रतिनिधि चाहिएको उनले बताइन् ।

उसो त स्थानीय निर्वाचनमा थारु समुदायबाट पनि उम्मेदवार बनेका छन् । गएको स्थानीय तह निर्वाचनजस्तै यसपटक वीरेन्द्रनगरका वडा नं. २, ९ र १० मा रहेका थारु समुुदायका व्यक्तिलाई सबैजसो पार्टीले वडा सदस्यको उम्मेदवार बनाएका छन् । वडा र नगरका मुख्य पदमा भने उक्त समुदायलाई उम्मेदवार बनाइएको छैन । वीरेन्द्रनगर–९ का मानबहादुर चौधरी वडा सदस्यका उम्मेदवार बनेका छन् । थारु समुुदायको हकहितको लागि आफूले नेकपा (एमाले)बाट उम्मेदवारी दिएको उनी बताउँछन् । ‘अहिलेसम्म हाम्रो समुुदायबाट नेतृत्व तहमा कोही पुुगेको अवस्था छैन । समुुदायको पक्षमा काम गर्न मेरो उम्मेदवारी परेको हो,’ उनले भने ।

वीरेन्द्रनगर नगरपालिकामा थारु समुुदायको जनसंख्या ६ हजार एक सय ११ रहेको छ । निर्वाचनमा सबैको ध्यान केन्द्रित हुने वीरेन्द्रनगरका थारु बस्तीहरूबाट पार्टीले मुख्य नेतृत्वमा भने अहिलेसम्म कसैलाई अघि बढाएका छैनन् । उक्त समुदायले वडाध्यक्षसमेत पाएको छैन । राजनीतिमा आफ्नो समुदायलाई ठूूलो पद दिन दलहरू हिचकिचाउने गरेको थारु समुदायका अगुवा मानबहादुर चौधरी ‘पन्ना’ बताउँछन् । थारु समुुदायको अध्ययन तथा अन्वेषणमा सक्रिय उनले नेतृत्वमा अवसरदेखि शिक्षा, स्वास्थ्य र रोजगारीका सवालमा राजनीतिक दल र स्थानीय सरकार उक्त समुदायप्रति गम्भीर नबनेको जनाए । ‘यसअघिका स्थानीय जनप्रतिनिधिको कार्यकाल नै सकियो,’ उनले भने, ‘तर यो समुुदायको सामान्य आवश्यकतासमेत पूरा भएनन् ।’ वीरेन्द्रनगर नगरपालिकाले थारु समुुदायलाई जोड्ने खालको कुुनै नीति, कार्यक्रम र बजेटको प्रबन्धसमेत नगरेको उनले बताए । स्थानीय सरकारले थारु जातीको बाहूल्यता भएको ठाउँमा स्थानीय पाठ्यक्रम निर्माण गरी थारु भाषामा शिक्षण गर्नुपर्ने उनको भनाइ छ ।


प्रकाशित मितिः   २१ बैशाख २०७९, बुधबार ०५:०५