कमजोर शैक्षिक गुणस्तर

सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर कमजोर छ । भौतिक संरचना, शिक्षक र शैक्षिक सामग्रीको अभाव छ । सरकारी विद्यालयलाई गुणस्तरी शिक्षा दिन चुनौती छन् । अन्य प्रदेशको तुलनामा कर्णालीको शैक्षिक अवस्था झन् नाजुक छ । यहाँका अधिकांश सामुदायिक विद्यालयमा आवश्यक पूर्वाधार छैनन् । जनशक्तिदेखि भौतिक संरचनाको समस्या छ । जसले गर्दा सिकाइ उपलब्धि अपेक्षाकृत हुन सकेको छैन् । शैक्षिक गुणस्तर सुधार गर्न कठिनाइ छन् । शिक्षा राज्यको उच्च प्राथमिकतामा पर्नुपर्ने हो । तर, तीनै तहका सरकारले यसमा बेवास्ता गर्दै आएका छन् । भौतिक निर्माणलाई मात्र विकास ठान्ने सोच र कार्यनीतिका कारण शिक्षामा पर्याप्त लगानी छैन । अर्कोतिर सार्वजनिक शिक्षामा भएको न्यून लगानीकोे समेत सदुपयोग भएको पाइँदैन । सरोकारवाला निकाय यस्ता सवालमा चुकेका छन् ।

संघीयता पछि माध्यमिक तहसम्मका विद्यालय हेर्ने अधिकार स्थानीय तहलाई दिइएको छ । त्यसको अनुगमन तथा समन्वयको अधिकार प्रदेशलाई छ । यी दुवै तहका सरकार भने शैक्षिक कार्यनीतिका सन्दर्भमा अलमलमा देखिन्छन् । शैक्षिक सुधार विकासका प्रयासमा एक निकायले अर्कोलाई देखाएर पन्छिने प्रवृत्ति छ । विकासका अरु पूर्वाधारमा ठूलो लगानी गरिरहेका पालिकाहरूले शिक्षाका लागि भने न्यून बजेट विनियोजन गर्दै आएका छन् । शिक्षा साझा अधिकार क्षेत्र भएका कारण पनि एकले अर्काको भर पर्नुपर्ने अवस्था छ । स्थानीय र प्रदेश सरकारका अधिकार क्षेत्र प्रष्ट नहुँदा शैक्षिक विकासमा बाधा पुगिरहेको छ । सामुदायिक विद्यालयमा कुन तहको सरकारले लगानी गर्ने र अनुगमन तथा निरीक्षण कसले गर्ने भन्ने अन्योल कायमै छ । शिक्षा नीति बनाउनेदेखि स्थानीय पाठ्यक्रम निर्माण गरेर लागू गर्नेसम्मको अधिकार भएपनि स्थानीय सरकारले त्यसमा कम चासो दिएका छन् ।

कर्णालीमा ठूलो संख्यामा शिक्षकको दरबन्दी खाली छ । निम्नमाध्यमिक र माध्यमिक तहका सामुदायिक विद्यालयमा विषयगत शिक्षक छैनन् । केही बाहेक धेरै विद्यालयमा भौतिक पूर्वाधारसमेत गतिला बनाइएको छैन । शैक्षिक वातावरण र शिक्षक–विद्यार्थी अनुपात नमिल्दा सामुदायिक विद्यालयको गुणस्तर सुधार नभएको हो । स्थानीय सरकारको दोस्रो कार्यकालका लागी अब आउने जनप्रतिनिधिले शिक्षाको सवाललाई उच्च प्राथमिकतामा राख्नुपर्ने देखिएको छ । शिक्षा क्षेत्रमा लगानी बढाएर कर्णालीको शैक्षिक गुणस्तरीय माथि उकास्न आवश्यक छ । त्यसका लागि स्थानीय सरकार बढी उत्तरदायी बन्नुपर्दछ ।

प्रकाशित मितिः   १८ बैशाख २०७९, आईतवार ०५:०३