विचार

अटेरी युवा र राजनीतिक चेतना

केही समय अगाडि युवालाई राजनीतिमा लाग्नको लागि अभिप्रेरित गर्न यो भनाईको साहारा लिनु पर्थ्यो, ‘यदि तपाईं असल हुनुहुन्छ र राजनीतिक नेतृत्व गर्नु हुँदैन भने खराब व्यक्तिहरू नेतृत्वको लागि अगाडि बढ्नेछन् । नतिजा स्वरूप तपाईं जिन्दगीभर खराब व्यक्तिद्वारा शासित हुनुहुनेछ ।’

राजनीतिमा युवा सहभागीता न्यून छ । पछिल्लो राजनीतिक गतिविधिहरूलाई नियाल्ने हो भने राजनीतिले युवालाई एकजुट हुन र राष्ट्रियतासँग बाँध्न मद्दत गरेको छ । कुनै समय सडकमा, चोकमा, चिया पसलमा देश बनेन भनेर गुनासो गर्ने युवाहरू अहिले यो देश बनाउन राजनीतिक नेतृत्वमा उम्मेदवारी दिँदै छन् ।

युवाहरूले कयौं वर्षदेखि नेताहरूलाई गाली गरे । ‘तिमीहरूले यो देश बिगा¥यौ, बेच्यौ’ भने । यसपटक राजनीतिक प्रणालीको किचलोलाई ‘फेस’ गर्नको लागि राजनीतिक नेतृत्वमा युवा सहभागिता बढेको छ ।

स्थानीय तहको निर्वाचन वैशाख ३० गते हुने निर्वाचन आयोगको निर्णय केही अटेरी युवाहरूको चेतनासम्म पुग्यो । सोही कारणले केही युवाहरू राजनीतिक नेतृत्व गर्ने अटेर गर्दैछन् । आँट गर्दैछन् । यसमा मतदाता अर्थात् हामी आमनागरिकले मतदान गरेर उनीहरूलाई साथ दिने कि नदिने ? यो नितान्त हाम्रो हातमा छ । यदि यिनी अटेरीहरूलाई यो जटिल समयमा हामीले साथ दिएनौं भने आगामी पुस्ताको भविष्यका लागि सोच्ने अटेरीहरू पाउन मुस्किल हुनेछ । परिवर्तनको समय यहीँ हो । सहि निर्णय लिनको लागि उपयुक्त समय यहीँ हो । आफ्नो गाउँ–ठाउँको विकास गर्ने अटेरी छान्ने समय यहीँ हो । हामीले कुन पार्टीलाई मतदान ग¥यौ भन्ने कुरा हामीलाई बाहेक कसैलाई थाहा हुँदैन । त्यसैले यो पटक कुनै पार्टीलाई होइन । सहि व्यक्तिलाई मतदान गर्नेछु ।

युवाहरू राजनीतिमा आएर नेतृत्व गर्नु पर्छ । उही नेता, त्यही काम भनेर सम्भावना र गुनासाका गन्थन–मन्थन नभएका पनि होइनन् । तर, तिनी गन्थन–मन्थनमै सीमित भए । अहिलेको स्थानीय तहको निर्वाचनमा यदि कुनै स्वतन्त्र उम्मेदवार देख्नु भयो भने त्यो युवा हुनुपर्छ । त्यसै भनिएको होइन, ‘कुनै पनि देश विकासमा युवाको सबैभन्दा ठूलो योगदान हुन्छ ।’

कुल जनसंख्याको ४० प्रतिशत युवा रोजगारीको नाममा देश र विदेशमा ठक्कर खाइरहेका छन् । जुन युवासँग न राम्रो सीप छ, न त शिक्षा नै । त्यसैले पनि नेपालको शिक्षा प्रणालीमाथि सधैं प्रश्न चिन्ह खडा हुन्छ । जुन गतिमा प्रश्न सोधिन्छ, त्यही रफ्तारमा अवस्था शान्त पनि भइहाल्छ । हामी कुनै पनि समस्या समाधानको लागि पहल त गर्छौँ तर गरिरहन सक्दैनौं । यो ठूलो विडम्बना हो ।

नेपाली राजनीतिमा जुन अटेरी युवाहरू आएका छन् । यिनीहरू कुन समय र अवस्थासम्म अटेर गर्न सक्छन् होला ? कि यिनीहरू एकपटकको अटेरीलाई उपलब्धी मानेर अस्ताउलान् ? कि यिनीहरूले अटेर गरेको देखेर अन्य युवा पनि अटेर गर्ने आँट गर्लान् ? कथाको रोचक मोड त्यतिबेला आउनेछ, जतिबेला अधिकांश अटेरीहरू पराजित हुनेछन् । वर्षाैंदेखि मस्तिष्कमा कुनै वादको चेतना जरा गाडेर बसेको छ । जराले जमिन छोड्न अलिकति समय र मेहनत त लाग्छ नै । त्यो निरन्तरको मेहनत र वादको डोरी चुडिनेबेलासम्मको धैर्य अटेरीहरूसँग होला कि नाई ? यो हो, अटेरीहरूलाई सबैभन्दा जटिल प्रश्न ।

अटेरी गर्नु केही नयाँ, केही सिर्जनशील र परिवर्तनको शंखघोष त भइहाल्यो । अटेरीहरूले पद पाएनन् भने आफ्नो ऐजेन्डा स्थापित गर्न बारबार खबरदारी गर्छन कि नाई ? यदि कुनै व्यक्तिले पार्टीका ऐजेन्डा बोकेर चुनाव जित्छ भने त्यहाँका नागरिकलाई सुहाउँदो विकास कुन हो, त्यसबारेमा ऊ त्यति जानकार नहुन पनि सक्छ । यदि तपाई अटेरी हो भने तपाईंले आफ्नो माटो सुहाउँदो विकासका कार्ययोजना बनाउनु भएको होला । जसले जित्छ, उसलाई सजग बनाउँदै । सल्लाह दिँदै अगाडि बढ्नु बुद्धिमानी हुन्छ । अन्य पार्टीका नेताले जसरी चुनावमा हारियो भनेर ठेकेदार बनेको तपाईंले सुहाउँदैन । मुख्यतः पहिलो तपाईं युवा हो । दोस्रो तपाईं अटेरी हो ।

हार–जीतका लागि समयलाई पर्खनु पर्नेछ । त्यो समय वैशाख ३० को स्थानीय तह निर्वाचनको समय हो । प्रश्न फेरि उठ्छ, यदि उनीहरू पराजय भए भने आफ्नो गाउँठाउँ बनाउने सपनालाई स्थिर राख्लान कि पराजयसँगै आत्मसमर्पण गर्लान् ? देश विकास नहुनुको सबैभन्दा ठूलो कारण के हो ? यिनै युवाहरूको उत्तर हुन्थ्यो । राजनीतिक अस्थिरता । अटेरीहरू पराजय भएपछि कुलेलाम ठोक्लान कि आफ्ना बिचारमा स्थिर भएर गाउँठाउँको विकासमा लाग्छन् होला ? यिनी अटेरीहरूसँग आशा धेरै छ । त्यसैले प्रश्न पनि धेरै छन् । विजय र पराजयको नतिजाले पनि प्रश्न उठाउने नै छ । विजय भए भने कसरी काम गर्छन् ? साच्चिकै भने जसरी काम गर्लान् ? त्यस्तै पराजय पछि पनि के गर्लान् ? स्थिर हुन सक्लान कि नसक्लान् ?

विवेकानन्दको एउटा भनाइ छ, ‘उठ जाग । त्यतिबेलासम्म नरोक्केऊ, जतिबेलासम्म तिम्रो लक्ष्य प्राप्त हुँदैन ।’ यो जागेको समय हो । हार जित कुनै प्रतिस्पर्धामा सहभागी भएपछिको परिणाम हो । सबैभन्दा मुख्य कुरा हो, नरोकिनु जतिबेलासम्म तपाईंले देखेको लक्ष्य पूरा हुँदैन ।

जो एकपटकको हारलाई जिन्दगीभरको हार सम्झेर बस्छ । ऊ नेता हुन र नेतृत्व गर्न लायकको व्यक्ति नै होइन । अझ नेतृत्व सम्बन्धीका मास्टरहरू भन्छन्, नेतृत्व कुनै पद होइन । जुन पदबाट पनि गर्न सक्ने परिवर्तन हो । कुनै व्यक्ति साचो नेता हो भने उसले पद पाउला र काम गरौंला भनेर कुनै उत्तम समय प्रतिक्षा गरेर बस्दैन । साचो लिडरले त चाहे कुनै पदमा होस् या नहोस् परिवर्तनका लागि, कुनै पनि साझा समस्या समाधानका लागि आवाज उठाइरहन्छ । निरन्तर पहल गरिरहन्छ ।

तपाईंको गाउँठाउँ, सहरबजारमा कुनै व्यक्तिविना पद र सामाजिक स्वार्थका लागि अहोरात्र खटिरहेको छ । लागिरहेको छ भने यो पटकको मतदान उसलाई पनि हो । यदि त्यसो भएको छैन भने शतप्रतिशत मत युवालाई हुनुपर्छ । अटेरीहरूलाई हुनुपर्छ । पार्टीको झण्डाका अगाडि झुक्नेलाई अहिलेसम्म मतदान गर्यौँ । अब राष्ट्रिय झण्डा बोक्नेलाई मतदान गरौं ।

जुन युवाहरू अटेरी भएर देखिएका छन् । यिनीहरू पद, पावर र पैसाबाट उछट्टिएका वर्ग हुन् । यिनीहरू नेपाली राजनीतिको चरम चपेटाबाट उन्मुक्तिका लागि वर्षौदेखि नियन्त्रण गरेको आक्रोश पोख्न पनि आएका हुन् । सत्ता र शक्तिको यति ठूलो कर्मकाण्ड भइरहँदा नदेखेजस्तो गर्नेहरू धेरै भए, केही आफ्नो नै भए । यसबीचबाट पनि यदि कसैले विद्रोह गर्छ भने त्यो अटेरी समूह नै हुनुपर्छ ।

-आदर्शविक्रम सिंह

प्रकाशित मितिः   १८ बैशाख २०७९, आईतवार ०५:०४