बिसीले ल्याए ‘रमा’
सुर्खेत: पत्रकार पुनम विसीले आफ्नो पहिलो कृति ‘रमा’ पाठकमाझ ल्याएका छन् । कर्णालीका महिलाहरूको भोगाईलाई उनले उपन्यासमा उनेका छन् । वीरेन्द्रनगरमा एक कार्यक्रमकाबीच उपन्यासको विमोचन गरिएको छ ।
उपन्यासमा कर्णालीका महिलाको अवस्थालाई चित्रण गरिएको छ । ‘कथामा केही वर्ष पहिलेको कर्णालीका महिलाको सामाजिक अवस्था देखाउन खोजेको हो’ लेखक बिसी भन्छन्, ‘महिलाहरूका मौनताको कथा उपन्यासमा समेट्न खोजेको छु ।’
उनले २०७० देखि उपन्यासको लेखनी थालेको थिए । आठ वर्षपभित्र पुस्तक तयार पारेर बजारमा ल्याएका हुन् । विसीले भने, ‘सानो कथाका रूपमा लेख्न सुरु गरेको थिएँ । विभिन्न आरोह–अवरोहका बिच त्यो कथा अहिले उपन्यासका रूपमा तपाईंहरू सामु आउन सफल भएको छ ।’
पत्रकार विसी विभिन्न सामाजिक कार्यमा पनि सक्रिय छन् । उनले ‘पुनम फाउन्डेसन’मार्फत सुर्खेतमा रगत अभाव हुन नदिन अभियान चलाउँदै आएका छन् । फाउन्डेसन आपत्कालीन अवस्थामा रक्तदाता उपलब्ध गराउन समन्वयकारी भूमिका निर्वाह गरिरहेको छ । पत्रकार विसीले उपन्यास बिक्री–वितरणबाट आउने रकम सोही अभियानका लागि सहयोग गर्ने बताएका छन् । फाउन्डेसनले हाल निर्माण सम्पन्न गरेको ‘कर्णाली ब्लड एड’ नामक मोबाईल एप सञ्चालनको अन्तिम तयारीमा छ । पुस्तकको आम्दानी सोही एप सञ्चानार्थ खर्चिने उनले जनाए ।
प्रकाशित मितिः १८ बैशाख २०७९, आईतवार ०५:०२
साझा बिसौनी ।