कर्णालीका सबै जिल्लामा पुग्यो मतपत्र
सुर्खेत: स्थानीय तहको निर्वाचनका लागि कर्णाली प्रदेशका सबै जिल्लामा मतपत्र पुर्याइएको छ । कर्णालीका दश जिल्लासहित देशभरका ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएको निर्वाचन आयोगले जनाएको छ ।
प्रदेशका हुम्ला, डोल्पा र मुगुमा हेलिकोप्टरमार्फत मतपत्र ओसारिएको हो । अन्य जिल्लामा गाडीमार्फत झन्डै ११ लाख मतपत्र पठाइएको हो । प्रदेश निर्वाचन कार्यालयका अनुसार प्रदेशभरि १० लाख एक हजार दुई सय ८२ मतदाता छन् । ‘सबै मतदातालाई पुग्ने मतपत्रमा केही प्रतिशत थपेर मतपत्र पठाइएको छ,’ प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसादल चालिसेले भने, ‘मौन अवधि सुरु हुनुअघि नै सबै मतपत्र सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगिसक्नेछ ।’ उनले सदरमुकामबाट स्थानीय तहसम्म निर्वाचन कार्यालयले ढुवानीको व्यवस्था मिलाउने बताए ।
आयोगका अनुसार कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला, प्रदेश नं. १ का मोरङबाहेक सबै जिल्ला र गण्डकीको पोखरा महानगरबाहेक सबै स्थान, वागमती प्रदेशका पाँच जिल्लामा मतपत्र पुगिसकेको छ । वैशाख १८ गते लुम्बिनी प्रदेशका १२ जिल्लामा मतपत्र पठाइने निर्वाचन आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालाले जानकारी दिए ।
काठमाडौंबाट लामो दूरीमा रहेका पूर्व र पश्चिमका अधिकांश जिल्लामा मतपत्र पुगिसकेको छ भने अन्य जिल्लामा पुग्नेक्रम जारी रहेको छ । मनाङ र मुस्ताङ जिल्लामा हेलिकप्टरबाट मतपत्र ढुवानी गरिएको छ । निर्वाचन आयोगले यही वैशाख १३ गतेदेखि मतपत्र ढुवानी सुरु गरेको थियो । हालसम्म छ वटा महानगर र भक्तपुर जिल्लाबाहेक ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ भइसकेको छ ।
प्रकाशित मितिः १८ बैशाख २०७९, आईतवार ०५:०१
साझा बिसौनी ।