जुम्लामा गठबन्धन टुट्यो, प्रदेशको निर्णय अस्वीकार

जुम्ला : जुम्लामा सत्तारुढ गठबन्धन टुटेको छ । प्रदेशस्तरीय संयन्त्रबाट स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने सहमित भएपनि जिल्लामा भने त्यसलाई अस्वीकार गरिएको छ ।

भागबन्डा नमिल्दा गठबन्धन टुटेकाे हो । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष वीरबहादुर कुवँरका अनुसार प्रदेशले तालमेलको निर्णय गरेपनि जिल्लामा भागबन्डा नमिलेको हो  कांग्रेस र समाजवादीले एक्लै चुनाव लड्ने भनेपछि माओवादीले पनि सोही अनुसार अघि बढ्ने निर्णय गरेको उनले जनाए । ‘प्रदेशको निर्णय समाजवादी पार्टीले अस्वीकार गरेपछि गठवन्धन टुटेको हो’ उनले भने  ।

अब भने तीन पार्टी एक्ला-एक्लै चुनाव लड्ने भएका हुन् ।

नेकपा एकीकृत समाजवादीकाअध्यक्ष तिर्थ बुढाले भावन्डामा सम्मानजनक प्रतिनिधित्व नहुने भएपछि प्रदेशको निर्णय अस्वीकार गरिएको बताए । समाजवादीलाई  तिला र सिंजा गाउँपालिकाको अध्यक्ष दिने सहमति भएको थियो । तर समाजवादीका जिल्ला नेतृत्वले भने गुठीचौर र हिमा गाउँपालिकामा दाबी गरेको हो । मागेको पालिका नपाएपछि समाजवादी गठबन्धनबाट बाहिरिएको छ ।

नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति दीपबहादुर शाहीले तीन पार्टीमा भागबन्डा नमिल्दा आजदेखि गठबन्धन टुटेको बताए ।

प्रकाशित मितिः   ११ बैशाख २०७९, आईतवार १९:४६