कांग्रेसभित्र कलह बढ्दै
सुर्खेत: नेपाली कांग्रेस सुर्खेतभित्रको आन्तरिक कलह बढ्दै गएको छ । स्थानीय निर्वाचनका लागि मनोनयन दर्ता गर्ने पहिलो दिन नै संस्थापन इतर समूहले छुट्टै भेला गरेर संस्थापन पक्षको चर्को आलोचना गरेको छ ।
४० प्रतिशत नपाए उम्मेदवारी नदिने इतर समूहको घोषणा
कांग्रेस सुर्खेतका निवर्तमान सभापति कमलराज रेग्मीको नेतृत्वमा भएको भेलाले संस्थापन पक्षले एकलौटी गर्न खोजेको भन्दै त्यसको खबरदारी गर्ने निष्कर्ष निकालेको हो । संस्थापन इतर पक्षलाई पेलेर जाने, बेवास्ता गर्ने प्रवृत्ति बढेको भन्दै यसले पार्टीभित्रका इमान्दार नेता, कार्यकर्ता मर्कामा परेको समूहको निष्कर्ष छ ।
भेलाले पार्टी नेतृत्वले एकलौटी ढंगले एउटा समूहलाई निषेधगरेर अगाडि बढ्नु कसैको लागि पनि फाइदा नहुने ठहर गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै निर्वतमान सभापति रेग्मीले पार्टीभित्रैबाट कांग्रेसलाई कमजोर बनाउन खोजिएको आरोप लगाए । स्थानीय निर्वाचनको लागि मनोनयन दर्ता गर्ने दिनसम्म पनि जिल्ला नेतृत्वले कुनै समन्वयन गरेको भन्दै रेग्मीले आक्रकोश व्यक्त गरे ।
वर्षौदेखि पार्टीमा योगदान गरेकाहरूलाई उपेक्षा गरेर पार्टीमा कुनैपनि योगदान नभएकाहरूलाई जिम्मेवारी दिनु दुखद् भएको उनको टिप्पणी थियो ।
जिल्लाको वडातहदेखि पालिकासम्म आफूहरूलाई सम्मानजनक ४० प्रतिशत उम्मेदवारी नहुँदासम्म कुनैपनि पद नलिने उक्त समूहले जनाएको छ । सोहीअनुसार वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा सिफारिस गरिएका नेताहरू नारायण कोइराला र भुपेन्द्र केसीले उम्मेदवारी फिर्ता लिएका छन् । उनीहरूले हरेक क्षेत्रमा सम्मानजनक प्रतिनिधित्व नभएसम्म उम्मेदवार नबन्ने बताएका छन् ।
निवर्तमान जिल्ला सचिवसमेत रहेका केसीले पार्टीभित्र इतर पक्षलाई मिलाउनुको सट्टा सिद्धान्त नमिल्नेलाई साथमा लिन खोज्ने प्रवृत्तिले कांग्रेस कमजोर बनेको बताए । यस्तै अर्का नेता नारायण कोईरालाले पार्टीभित्र फरक मत भएपनि सहअस्तित्व र सम्मानको वातावरण बनाउनुपर्नेमा जोड दिए ।
प्रकाशित मितिः १२ बैशाख २०७९, सोमबार ०५:०१
साझा बिसौनी ।