स्थानीय पाठ्यक्रम बने, किताब बनेनन्

सुर्खेत: वीरेन्द्रनगर नगरपालिकाले स्थानीय विषयवस्तु समेटेर पाठ्यक्रम निर्माण गरेको झन्डै एक वर्ष भयो । चालु शैक्षिक सत्रदेखि नगर क्षेत्रका आधारभूत तहका विद्यालयमा पाठ्यक्रम लागू समेत गरिसकिएको छ । तर, विद्यार्थीका हातमा भने अझै पाठ्यपुस्तक परेका छैनन् । स्थानीय पाठ्यक्रम निर्माण गरी लागू भएको लामो समयसम्म पनि नगरले विद्यार्थीलाई पुस्तक दिन नसकेको हो । नगरभित्रका सबै सामुुदायिक तथा संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरिएका छन् । पाठ्यपुस्तक भने निर्माणको प्रक्रियामै रहेको नगर शिक्षा शाखा प्रमुख (उप–सचिव) धिरेन्द्रप्रसाद लम्साल बताउँछन् । उनका अनुसार हाल पाठ्यपुस्तक निर्माण तथा छपाइका कामहरू अघि बढाइएको छ ।

सल्यानको बागचौर नगरपालिकाले दुई वर्ष अघिदेखि स्थानीय पाठ्यक्रम लागू गरिसकेको छ । नगरपालिकाका ६९ विद्यालयमा स्थानीय पाठ्यक्रम लागू भएका छन् । ‘हामी र हाम्रो बागचौर नगर सेरोफेरो’ नामक पाठ्यक्रम लागू गरेको उक्त नगरपालिकाले अहिलेसम्म पाठ्पुस्तक निर्माण गरेको छैन । आगामी शैक्षिक सत्रदेखि विद्यार्थीले पाठ्यपुस्तक पाउनेगरी नीतिगत निर्णय भएको शिक्षा शाखामा कार्यरत शिक्षक रविकिरण वलीले जनाए । आगामी शैक्षिक सत्रमा सबै विद्यार्थीले पुस्तक पाउने छन्,’ उनले भने, ‘६८ सामुदायिक विद्यालय र एउटा संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रम लागू भएको छ ।’ स्थानीय विषयवस्तु समेटिएका पाठ्यक्रम निर्माण भएपछि विद्यार्थीले पनि रूचि देखाएर पढ्ने गरेको उनको भनाइ छ । स्थानीय पाठ्यक्रम अहिले नगरपालिकामा रहेका विद्यालयका कक्षा १ देखि ८ सम्म पठनपाठन थालिएको छ । पालिकामा स्थानीय पाठ्यक्रम निकै प्रभावकारी देखिएको वली बताउँछन् ।

स्थानीय विविधता झल्कने गरी पालिकाहरूले पाठ्यक्रम निर्माण गरेको जनाएका छन् । कक्षा १, ३ र ६ का विद्यार्थीका लागि पाठ्यक्रम बनाइएको वीरेन्द्रनगरले नगरको भूगोल, इतिहास, सम्पदा र वातावरण संरक्षणजस्ता विषयलाई प्राथमिकतामा राखेको छ । बागचौर नगरपालिकाले पनि स्थानीय भाषा, कला संस्कृति, पर्यटन र पर्यावरण लगायतका सवाल समेटेर पाठ्यक्रम निर्माण गरेको जनाइएको छ । यी दुवै पालिकाले पाठ्यपुस्तक निर्माणमा ढिलाइ गर्दा विद्यार्थीहरूको सिकाइ भने प्रभावित भएको छ । विद्यार्थीले स्थानीय पाठ्यक्रममा रूचि दिएपनि किताब नहुँदा सिकाइ सहजीकरणमा समस्या हुने गरेको शिक्षकहरूले बताउने गरेका हुन् ।

दैलेखको नारायण नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गरेको छ । त्यहाँ पनि कतिपय कक्षाका पाठ्यपुस्तक बनेका छैनन् । राष्ट्रिय पाठ्यक्रमको ढाँचाअनुसार नगरपालिकाले तरकारी खेतीसम्बन्धी पाठ्यक्रम निर्माण गरी पठनपाठन थालेको छ । कक्षा १ देखि ५ सम्म उक्त विषयको पठनपाठन भइरहेको हो । केही कक्षाका पाठ्यपुस्तक बनेका र कतिपयको बन्नेक्रममा रहेको नगर शिक्षा शाखा प्रमुख हिमालयजंग शाहले बताए । नारायणमा ६ र ७ कक्षाका लागि पाठ्यक्रम निर्माणको काम थालिएको छ । पाठ्यक्रम लागू भएका कक्षामा आफ्नै गाउँ–ठाउँको विषयवस्तु समावेश भएकाले विद्यार्थीले छिटो सिक्ने गरेको पाइएको शाखा प्रमुख शाहले जनाए । ‘फिल्ड भिजिट र प्रयोगात्मक क्रियाकलापबाट सिकाइने हुँदा विद्यार्थीहरूले सहजै सिक्न सकिरहेका छन्,’ उनले भने ।

त्यस्तै, कालीकोटको रास्कोट नगरपालिकाले दुई वर्ष अघिदेखि स्थानीय पाठ्यक्रम पढाउन थालेको छ । सुरुको वर्ष कक्षा १ र ४ मा पाठ्यक्रम लागू गरेको नगरले अहिले कक्षा ६ सम्म सोही विषय पढाउने गरेको हो । रास्कोटका आधारभूत विद्यालयहरूमा ‘जीवन प्रर्वद्धन शिक्षा’ नामक स्थानीय पाठ्यक्रम निर्माण गरिएको छ । नगरपालिकाका नौ वटै वडाका ३१ सामुदायिक विद्यालयमा स्थानीय पाठ्यक्रम पठनपाठन गर्ने गरिएको छ । नगर शिक्षा शाखा प्रमुख प्रभुलाल न्यौपानेका अनुसार पाठ्यक्रममा स्वास्थ्य, नैतिक शिक्षा र कृषिजस्ता विषयवस्तु समावेश गरिएका छन् । नयाँ शैक्षिक सत्रबाट कक्षा ७ मा पनि स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी गरिएको छ । सथानीय पाठ्यक्रममा योग शिक्षा, रैथाने बालीलगायतका विषय पनि समेट्दै लैजाने नगर शिक्षा प्रमुख न्यौपानेले बताए । पाठ्यक्रम लागू भएका सबै कक्षाका विद्यार्थीले भने यहाँ पनि किताब पाएका छैनन् । पाठ्यपुस्तक छपाइका कामहरू भइहरको जनाइएको छ ।

कर्णालीका कतिपय स्थानीय तहले राष्ट्रिय पाठ्यक्रम प्रारूपअनुसार स्थानीय पाठ्यक्रम निर्माण नै गरेका छैनन् । पाठ्यक्रम निर्माण गरेका केही पालिकाले समेत लागू गर्न ढिलाइ गरिरहेका छन् । दैलेखको दुल्लू नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेको लामो समय भइसक्दा पनि लागू गरेको छैन । राष्ट्रिय पाठ्यक्रमको ढाँचाबमोजिम नगरपालिकाले ‘हाम्रो भाषा, हाम्रो संस्कृति’ नामक पाठ्यक्रम तयार पारेको छ । पाठ्यक्रममा केही परिवर्तन गर्नुुपर्ने देखिएकाले लागू नगरिएको नगरले जनाएको छ ।

अधिकांश स्थानीय तहले पाठ्क्रम लागू गरेपनि पुस्तक नहुँदा बालबालिकाको सिकाइ मापन गर्न समस्या भएको शिक्षकहरूले बताएका छन् । आधारभूत तहका विद्यालयमा स्थानीय पाठ्यक्रम निर्माण गरी पढाउनुपर्ने प्रावधान छ । कक्षा १ देखि ८ सम्मका विद्यार्थीका लागि १०० पूर्णाङ्कको स्थानीय वा मातृभाषा विषयको पाठ्यक्रम निर्माण गरी लागू गर्नुपर्ने भए पनि स्थानीय तहहरूले यसमा ढिलासुस्ती गर्दै आएका छन् । पाठ्यक्रम विकास केन्द्रको विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनुसार स्थानीय आवश्यकतामा आधारित शिक्षा प्रदान गर्ने गरी पाठ्यक्रम तयार पार्नुपर्ने भनिएको छ । जसमा स्थानीय आवश्यकताको पहिचान गरी अनुकूल हुने विषयहरू समेटेर पाठ्यक्रम निर्माण गर्नुपर्ने हुन्छ । स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्ने अधिकार पाएका पालिकाहरूले पाठ्यक्रम निर्माण गरेपनि पाठ्यपुस्तक बनाउन बेवास्ता गर्दै आएका छन् । बजेट र दक्ष जनशक्तिको अभावमा पाठ्यपुस्तक तयार गर्न ढिलाइ भइरहेको पालिकाहरूको भनाइ छ ।

प्रकाशित मितिः   ३ बैशाख २०७९, शनिबार ०५:०५