सुर्खेतका ३८ वडामा एमालेका सर्वसम्मत उम्मेदवार
सुर्खेत: नेकपा (एमाले) सुर्खेतले जिल्लाका ९९ मध्ये ३८ वडामा सर्वसम्मत उम्मेदवार टुङ्ग्याएको छ । एमालेले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ती वडाहरूबाट सर्वसम्मत उम्मेदवारको सिफारिस गरेको हो । शनिवारसम्म ५३ वडाबाट उम्मेदवारको सिफारिस आइसकेको एमाले सुर्खेतका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले जनाए ।
उनका अनुसार ३८ वडामा सर्वसम्मत र १५ वडाबाट आकांक्षी उम्मेदवारका नामावली आएका हुन् । उम्मेदवार सिफारिस गर्न बाँकी रहेका ४६ वडा कमिटीलाई वैशाख ६ गतेभित्र नामावली पठाइसक्न जिल्ला पार्टीले निर्देशन गरेको छ । शनिवार सम्पन्न जिल्ला कमिटीको तेस्रो पूर्ण बैठकले यस्तो निर्देशन गरेको हो । साथै, बैठकले स्थानीय तह निर्वाचनमा पार्टीले उठाउनुपर्ने उम्मेदवारहरूको अन्तिम टुङ्गो लगाउने जिम्मेवारी सचिवालयलाई दिइएको छ ।
बैठकले सत्तारुढ गठबन्धन सत्ता स्वार्थको गठजोड भएको ठहर गर्दै यसलाई परास्त गर्न सम्पूर्ण पार्टी पंक्ति एकताबद्ध हुने निर्णय गरेको तिमिल्सेनाले बताए । जिल्लाका नौ वटै पालिकाले पाँचदेखि सात जनासम्म सदस्य रहेको निर्वाचन लक्षित प्रचार समिति गठन गरी प्रचारप्रसार कार्यलाई व्यवस्थित र तीव्र बनाउन स्थानीय कमिटीलाई निर्देशन गरिएको छ । जिल्ला पार्टी अध्यक्ष अमृतबहादुर बिसीको अध्यक्षतामा भएको बैठकमा एमाले सुर्खेतका इन्चार्ज नवराज रावत र सहइन्चार्ज मोहनमाया ढकालले स्थानीय निर्वाचन लक्षित गतिविधिलाई तीव्रता दिन पार्टी पंक्तिलाई निर्देशन गरेका थिए । बैठकमा नौ वटै पालिकाका अध्यक्षहरूले स्थानीय कमिटीको अवस्थाबारे रिपोर्ट पेस गरेका थिए ।
प्रकाशित मितिः ३ बैशाख २०७९, शनिबार १८:०१
साझा बिसौनी ।