भोट के मा ?

हरेक देशका नागरिकहरूको भावनामा परिवार, समुदाय, समाज र देशको स्तरोन्नतिका बारेमा सधैँ चासो रहन्छ । जब अभिव्यक्त विचार, उठाइएका आवाजहरू वा जनआन्दोलन स्खलनको गोरेटोतर्फ उन्मुख हुन्छन् । त्यतिबेला समयले कोल्टे फेर्छ । अवस्था हतास हुन्छ । चलिरहेको वातावरणमा सन्नाटा छाउँछ । भूमण्डलीकरणमा धुमिल दृश्य देखिन थाल्छ । जुन भइरहन्छ । चलिरहन्छ ।

कुनै मुद्दामा सशक्त रूपमा लागियो भने त्यसको समाधान खोज्नुपर्छ, हुनुपर्छ । चाहे त्यो समस्या जति नै जटिल किन नहोस् । अझ नेतृत्वमा बेसी जटिलताको सामना गर्नुपर्ने हुन्छ । त्यसैले नै नेताको परिचय आम मानिसभन्दा अलि भिन्न हुन्छ ।

जतिबेला अब्राहम लिङ्कन लगातार हारिरहेँ त्यो समय उनको लागि कति अँध्यारो र लामो थियो होला ? नेताको सम्बन्धमा अब्राहम लिङ्कन जस्तो हार्ने र इतिहास बनाउने मान्छे मानव जीवनमा अब सायदै जन्म हुन्छ होला । नेताकै सम्बन्धमा २७ वर्ष जेल जीवन बिताएर अफ्रिकाको राजनीतिक जीवनमा मात्र नभइ त्यहाँका काला र गोरा जातिका मानिसहरूको दैनिक जीवनमा अकल्पनिय परिवर्तन ल्याएका नेल्सन मण्डेला फेरि–फेरि जन्मन्छन्, दोहोरिन्छन् होला र ? यस्ता कयौं नेता छन् जसले राजनीति धैर्यताको अनुपस्थितिमा तहसनहस हुन्छ भन्ने ज्वलन्त उदाहरण प्रस्तुत गरेका छन् । एउटा राजनीतिज्ञ स्थिर हुन सकेन भने उसले निर्माण गरेका विचारहरू त बदलिने नै भए । स्वभाविक रूपमा उसको नियतमा पनि प्रश्न चिह्न उठ्छ । तसर्थ कुनैपनि नेता अवसरवादी नभइ आशावादी भयो भने आम नागरिकको त्यस्ता नेतामाथि विश्वास बनिरहन्छ ।

समय त आज पनि चलिरहेकै छ । फरक हाम्रो दैनिक जीवनका विभिन्न चुनौती र अवसरले पार्छन् । एउटा नेता कति बेचैनका रातहरू काट्छ होला ? सधैँजसो हुने सकारात्मक र नकारात्मक आलोचना कति समयको अन्तराल पश्चात् ‘ओके छ त’ लाग्न सुरु हुन्छ होला ? कहीँ न कहीँ केही न केही बोलिरहनु पर्ने बानीले उनीहरूलाई पोख्त बनाउँछ होला कि पतनतर्फ लैजान्छ होला ? उनीहरू कार्यकर्ता बनाउनतर्फ बढी ध्यान दिन्छन् होला कि आफ्नो व्यक्तित्व र नियत बनाउनतर्फ ? हावामा महल बनाउने सपना कति सेकेण्डसम्म विश्वास गर्न सकिन्छ होला, हुन त झुटको आयु कति नै हुन्छ र ? अफवाह छिटो फैलन्छ भन्ने थाहा पाउन गिता नै पाठ त गर्नु पर्दैैन होला ? चेतनाको समय बदलिएको छ ।

अब आम नागरिकले बुझ्न पर्ने कुरा के छ भने एउटा नेतालाई नैतिक रूपमा सुधार्नुपर्छ । काम र कुराको तालमेल मिल्यो भने मात्र यो सहि नेता हो भनेर आफ्नो निर्णय लिने हो, भोट गर्ने हो । मिठो भाषणले मात्र नागरिकको दैनिकीमा परिवर्तन आउँदैन । आम नागरिकको दैनिकीमा परिवर्तन ल्याउने भनेको सिर्फ कामले मात्र हो । अब काम मात्र विकल्प बन्नुपर्छ । भन्ने होइन, काम गर्ने नेता चाहियो ।

फेक नेताहरू यतिसम्म बाठा भइसके कि भाषण लेख्नको लागि विज्ञलाई राखेका हुन्छन् । जुन नेतालाई म के बोल्ने भन्ने अरुले लेखिदिनुपर्छ । र, म के बोल्ने भन्ने पढेर बोल्नुपर्छ भने त्यस्ता नेताले राजनीतिबाट अवकाश जुन उमेरमा लिँदा पनि हुन्छ । किनभने राजनीतिमा विचारको ठूलो महत्व हुन्छ । समृद्ध देश बनाउने एउटै विचार हो । जुन दिन म समृद्ध देश बनाउछु भनेर कुनै नेताको अन्तर्मनबाट आउँछ, तबमात्र ऊ समृद्धिको गोरेटोतर्फ अगाडि बढ्छ । नत्र, अरुले लेखिदिएको भाषण रट्ने, नेपाललाई विकसित देशसँग तुलना गर्ने, विकासको नाममा भावि योजना भनेर विज्ञहरूले तयार पारेका कोरा कागजका अक्षर बाहेक केही नदेखाउने खालका नेताले विकास गरेर देखाउने सपनालाई बेलैमा तिलाञ्जली दिएको राम्रो हुन्छ । नेपालका विभिन्न राजनीतिक परिवर्तनले कसरी कुर्सी हडप्ने भन्ने कुटनितीको विकास गरेको छ ।

छिमेकी मुलुक भारतका आमआदमी पार्टीका जन्मदाता अरविन्द केजेरीवालबाट सिक्नु नैतिकताको राजनीति कस्तो हुन्छ । उनले कुनै राजनीतिक दलसँग प्रतिस्पर्धा गर्नको लागि सत्तामा गएर नातावाद, कृपावाद र भ्रष्टाचार गर्नको लागि पार्टी स्थापना गरेनन् । उनले आम नागरिकका समस्याहरू पहिचान गरे । तिनी समस्याहरूलाई मुख्य मुद्दा बनाए । सही योजना बनाए र त्यसलाई कार्यान्वयन गरे । काम गरे । र, देखाइ दिए सरकार नै नागरिकको अभिभावक हो । उनी भाषणभन्दा धेरै काम गर्छन् । उनले भ्रष्टाचार न्यूनिकरण, शिक्षा, बिजुली तथा स्वास्थ्य सुधारमा ल्याएको आमूल परिवर्तनको पाठ हरेक देशको सरकारको प्रेरणादायी कहानी बनेको छ । यदि कुनै नेता सहि नियतले नेतृत्व गर्छ भने अरविन्द केजेरिवाल जस्ता उदाहरणीय व्यक्ति बन्न सक्छन् भन्ने उदाहरण स्वयम् केजेरिवाल नै हुन् ।

नेताले जुन दिन कुनैपनि एजेण्डालाई विभिन्न विषय विज्ञहरूको सल्लाहलाई सुनेर, बुझेर आफ्नै पहलमा अगाडि बढाउछन् । त्यतिबेला समाज प्रगतिको राजमार्गतर्फ अग्रसर भएको हुन्छ । नेताको बोली र आचरणको तालमेल मिलेन भने निरन्तर यस्ता नेताहरू असफल हुने, समाजबाट तिरस्कृत हुने र कहिलेकाहीँ पुत्ला जलाउनु पर्ने स्थितिसम्म सिर्जना हुन्छ । त्यसैले सहि नेता र नेतृत्व छनौट हाम्रो मुख्य विषय हो । जसलाई न कुनै पदको मोह हुन्छ न त अवसरवादी नै । परिआएको खण्डमा आफ्नो पद त्यागी नागरिकहरूका बिचबाट समस्याको हल निकाल्ने नेता नै सहि नेता हुन सक्छ ।

भोट के मा ?

भोट के माभन्दा तपार्इं जुन पार्टीमा आस्थावान हुनुहुन्छ । उक्त पार्टीको मतदान चिन्ह् तपाईको मस्तिष्कमा आयो होला ? यो पनि हुन सक्छ कि तपाईंको मुखबाट फ्याट्ट तपाईंलाई मन पर्ने पार्टीको चुनाव चिन्ह्को नाम निस्क्यो । हुन सक्छ कि पाँच वर्ष अगाडी बेस्सरी चिच्याई चिच्याई भनेको नाराको याद आयो । कहिल्यै तपाईंले आफूलाई प्रश्न गर्नुभएको छ, किन यो पार्टीप्रति म आस्थावान छु ? यदि अहिले गरिहाल्नु भयो भने पनि यस्ता विविध कारण हुन सक्छन् । काका त्यही पार्टीको नेता भएर, घरका यही पार्टी भन्छन् । मैले उतिबेला देखि यही पार्टी बाहेक अरु पार्टीको नाम सुनेको छैन । यो पार्टी सत्तामा छ । यो पार्टीमा आवद्ध दाइले जागिर खोज्देको हो । ससुराली पनि यही पार्टीको भएर आदि, इत्यादि । पार्टीका सिद्धान्तसँग मतलब राख्ने कति प्रतिशत होलान् ? होइन, होइन कति जना होलान् ?

कहिल्यै यसरी पनि सोची हेरौं । यदि मैले मेरो मतदान म जुन पार्टीमा आस्थावान छु । त्यो पार्टीको उम्मेदवारलाई भन्दा जो उम्मेदवार मेरो स्थानीय तहको नेतृत्व लिनको लागि उपयुक्त छ । सक्षम छ । उसलाई गरे भने के हुन्छ होला ? कस्तो खालको परिवर्तन आउँछ होला ? यिनी प्रश्न हामीले आफूसँग ग¥र्यौ भने यस्तो खालको उत्तर पाउछौँ । यदि मैले म आस्थावान पार्टीको उम्मेदवारलाई मतदान गर्छु भने उसले हामीलाई मतदान गरेको आधारमा अन्य नागरिक र हामीलाई भेदभाव गरी हाम्रो बचाउ गर्ने छ । यदि मैले म आस्थावान भएको वा नभएको पार्टीको सक्षम उम्मेदवारलाई मतदान गरे भने उसले सबैको समान बचाउ गर्नेछ । निर्णय हाम्रो हातमा छ । हामी आफू मात्र बाँच्न चाहाने कि सबैलाई बचाउने ? यदि सबैलाई बचाउन चाहने हो । सबैले समान हक, अधिकार पाउन भन्ने चाहने हो । आफ्नो ठाउँ समयमै रूपान्तरण भएको हेर्न चाहने हो भने सहि उम्मेदवार छान्नु हाम्रो पहिलो कर्तव्य हो । हाम्रो भोट नै हाम्रो आवाज हो । हाम्रो भोट नै हाम्रो भविष्य हो ।

-आदर्श विक्रम सिंह

प्रकाशित मितिः   ३ बैशाख २०७९, शनिबार ०५:०३