भूमिहीनलाई पुर्जा
दशकौंदेखि देशभर भूमिसम्बन्धी समस्या रहँदै आएको छ । समस्या समाधानका लागि पटक–पटक पहल भएपनि पूर्ण रूपमा समाधान हुन सकेको छैन । अहिले पनि सरकारले राष्ट्रिय भूमि आयोगमार्फत समस्या समाधानको प्रयास गरिरहेको छ । यसै क्रममा सुर्खेतको दुई वटा पालिकाका केही भूमिहीनले जग्गा पाएका छन् । शुक्रवार भेरीगंगा र गुर्भाकोट नगरपालिकाका एक सय ३६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरिएको हो । भेरीगंगामा एक सय दुई र गुर्भाकोटमा ३४ थान लालपुर्जा बाँडिएका छन् । भेरीगंगामा दुई सय ३० कित्ता संख्या जग्गा वितरण गरिएको छ । लालपुर्जा पाएका परिवार झन्डै ४० वर्षदेखि उक्त स्थानमा बसोबास गर्दै आएका हुन् । आयोगले जग्गाको पुर्जा दिएसँगै भूमिहीनहरूमा सुखीयाली छाएको छ । वर्षौंदेखि आफ्नो नामको पुर्जाको प्रतिक्षा गरिरहेका भूमिहीन परिवार अहिले खुसी भएका हुन् । वर्षाैंदेखि भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा पाउनेमा भूमिहीन, भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेका छन् ।
पहिलो चरणमा दुई वटा पालिकामा लालपुर्जा वितरण गरिएको छ । केही परिवारले जग्गाको पुर्जा पाएपनि सुर्खेतमा अझै भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको संख्या ठूलो छ । जिल्लाभर भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका ५४ हजार बढी आवेदन संकलन भएका थिए । समितिका अनुसार त्यसमध्ये भूमिहीन दलित र भूमिहीन सुकुम्बासी पाँच हजार आठ सय ९५ परिवार रहेका छन् । अव्यवस्थित बसोबासी ४८ हजार सात सय रहेको जनाइएको छ । लगत संकलनका क्रममा वीरेन्द्रनगर नगरपालिकामा सबैभन्दा धेरै आवेदन परेका थिए । समितिका अनुसार वीरेन्द्रनगर नगरपालिकामा मात्र दश हजार अव्यवस्थित बसोबासीले आफूहरूको व्यवस्थापनको माग गर्दै निवेदन दिएका हुन् । वीरेन्द्रनगरमा भूमिहीन दलित र भूमिहीन सुकुम्बासी परिवारको संख्या भने तीन हजार आठ सय ८० रहेको तथ्यांक छ ।
आयोगको काममा कुनै बाधा उत्पन्न नभए अन्य पालिकामा पनि चाँडै पुर्जा वितरण हुनेछ । आयोगले जिल्लाका अन्य पालिकाहरूमा पनि भूमिहीनलाई पुर्जा बाँड्न आवश्यक प्रक्रिया अघि बढाएको छ । प्रक्रिया पूरा भएका स्थानमा क्रमशः पुर्जा वितरण गरिने जनाइएको छ । आयोगका अनुसार अहिले पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकासँग जग्गाको नापजाँचका लागि सम्झौता भइ काम सुरु भएको छ । प्राविधिक कर्मचारीहरूमार्फत ती स्थानीय तहमा हाल जग्गाको विवरण संकलन, नापजाँच र तथ्यांकहरूको रुजु गर्ने काम भइरहेको छ । यही गति कायम राखेर काम भए सुर्खेतमा भूमिहीनहरूको समस्या समाधान हुनेछ ।
प्रकाशित मितिः २७ चैत्र २०७८, आईतवार ०५:०४
सम्पादकीय ।