माओवादी पहिलो, दोस्रोमा एमाले
नेकपा (माओवादी केन्द्र) बलियो रहेको जिल्ला हो, कालीकोट । २०७४ मा भएको स्थानीय निर्वाचनमा जिल्लाका नौ मध्ये पाँच वटा पालिका प्रमुख माआवादीले जितेको थियो । यस्तै ६ वटा पालिकाको उपप्रमुखसहित सबैभन्दा धेरै ३४ वटा वडाको अध्यक्ष पनि माओवादीले नै जितेको छ ।
निर्वाचनको नतिजाअनुसार दोस्रो स्थानमा रहेको नेकपा (एमाले) ले तीन पालिकाको प्रमुख र तीन वटामै उपप्रमुखसहित २५ वडाअध्यक्ष जितेको छ । कालीकोटमा नेपाली कांग्रेसको प्रभाव न्यून छ । एउटा मात्रै पालिका प्रमुख र १६ वडाअध्यक्ष कांग्रेसले जितेको छ ।
त्यसैगरी नेपाल मजदुर किसान पार्टीले पाँच वडा वडाअध्यक्ष जित्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले एक र एक जना स्वतन्त्र उम्मेदवारले वडा अध्यक्षमा बाजी मारेका छन् ।
जिल्लाको कालिका गाउँपालिकाको अध्यक्षमा एमालेका खडानन्द चौलागाईं विजयी भउका छन् । उनले दुई हजार दुई सय ७४ मत पाएका छन् । दोस्रो स्थानमा माओवादीका गोविन्दप्रसाद आचार्य छन्, उनले एक हजार पाँच सय दुई मत पाउँदा कांग्रेसका अभयराज शाहीले चार सय ९६ मत मात्रै पाएका छन् ।
उपाध्यक्षमा पनि एमालेकै पम्फाकुमारी शाही निर्वाचित भएकी छिन् । आठ वटा वडामध्ये चार वटामा एमाले, दुई वटामा माओवादी र दुई वटामै कांग्रेसका अध्यक्ष निर्वाचित भएका छन् ।
खाँडाचक्र नगरपालिका पनि एमालेका उम्मेदवार विजयी भएका छन् । पालिका प्रमुखमा दुई हजार दुई सय पाँच मत पाएर जसीप्रसाद पाण्डे निर्वाचित भएका हुन् । माओवादीका लक्ष्मीप्रसाद चौलागाईंले एक हजार चार सय ६१ र कांग्रेसका पदमबहादुर शाहीले एक हजार चार सय २९ मत पाएका छन् ।
उपप्रमुखमा एमालेका विजया विष्ट विजयी हुँदा सात वडाअध्यक्षमा एमाले तथा कांग्रेस र माओवादीले २÷२ वडाअध्यक्ष जितेका छन् ।
तिलागुफा नगरपालिकाको प्रमुखमा माओवादीका रत्नबहादुर शाही एक हजार आठ सय ५१ मत पाएर निर्वाचित हुँदा कांग्रेसका शंकरप्रसाद उपाध्यायले एक हजार ६ सय ८७ र एमालेका कलबहादुर शाहीले एक हजार चार सय ८० मत पाएका छन् । उपप्रमुखमा पनि माओवादीकै दन्ता नेपाली निर्वाचित भएकी छिन् ।
पालिकाका ११ वटा वडामध्ये पाँच वडाको अध्यक्ष माओवादीले जितेको छ । चार वटामा नेपाल मजदुर किसान पार्टीले जित्दा कांग्रेस र एमालेले भने एक÷एक वडा जितेका छन् ।
नरहरीनाथ गाउँपालिकाको चार वडासहित गाउँपालिका अध्यक्ष एमालेले जितेको छ । पालिका अध्यक्षमा धिरबहादुर विष्ट दुई हजार चार सय ६० मत पाएर निर्वाचित भएका हुन् । माओवादीका अग्रबहादुर विष्टले दुई हजार एक सय ३७ मत पाएका थिए । उपाध्यक्षमा भने माओवादीका मनशोभा बुढा विजयी भएकी छिन् । उनले दुई हजार दुई सय ४९ मत पाएकी थिइन् । उक्त पालिकाको तीन वटा वडाअध्यक्षमा माओवादी र दुई वटामा कांग्रेसले जितेको छ ।
पचालझरना गाउँपालिकाको अध्यक्षमा माओवादीका खङ्गराज सेजुवालले एक हजार ६ सय २३ मत पाएर निर्वाचित हुँदा कांग्रेसका भानुभक्त संज्यालले एक हजार दुई सय २४ र एमालेका चन्द्रबहादुर शाहीले एक हजार एक सय चार मत पाएका छन् । उपाध्यक्षमा पनि माओवादीकै तारा न्यौपाने छिन् । ६ वटा वडाअध्यक्ष माओवादी, दुई वटा कांग्रेस र एउटा एमालेले जितेको छ ।
पलाता गाउँपालिकामा माओवादीका लक्ष्मणबहादुर बम निर्वाचित भएका थिए । उनले पाएको मत एक हजार चार सय २० हो भने कांग्रेसका केशरसिंह बलमे एक हजार एक सय ८३ र एमालेका धिरबहादुर बलमे सात सय २४ मत पाएका थिए । उपाध्यक्षमा माओवादीका दाना न्यौपाने निर्वाचित भएकी हुन् । वडाअध्यक्षमा एमाले शून्य हुँदा माओवादीले ६ र कांग्रेसले तीन वटामा जितेको छ ।
महावै गाउँपालिकाको अध्यक्षमा कांग्रेस र माओवादीबीच प्रतिस्पर्धा भएको छ । कांग्रेसका नन्दबहादुर सिंहले एक हजार तीन सय ४५ मत पाएर निर्वाचित हुँदा माओवादीका सर्पराज सिंहले एक हजार दुई सय ७६ मत पाएका छन् । उपाध्यक्षमा भने एमालेका मनराज शाही एक हजार तीन सय २२ मतसहित विजयी भएका छन् ।
रास्कोट नगरपालिकाको प्रमुखमा माओवादीका काशीचन्द्र बराल निर्वाचित भएका छन् । बरालले दुई हजार एक सय १५ मत पाएका थिए । एमालेका मनिराज बरालले एक हजार आठ सय ३० र कांग्रेसका दानबहादुर बमले एक हजार चार सय २७ मत पाएका छन् । उपप्रमुखमा माओवादीकै मिमसरा बम छिन् । पालिकाका पाँच वडाअध्यक्षमा माओवादी र चारमा एमालेले जितेको छ ।
सान्नी त्रिवेणी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै माओवादीले जितेको हो । अध्यक्षमा डम्मरबहादुर शाहीले एक हजार सात सय ३१ मत पाएका थिए । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका गोरखबहादुर खत्रीले एक हजार दुई सय ५५ र एमालेका नवराज देवकोटाले एक हजार एक सय २३ मत पाए । उपाध्यक्षमा होइजाकुमारी बुढा विजयी भइन् । माओवादी र कांग्रेसले पालिकाका तीन÷तीन वडाअध्यक्ष जित्दा एमालेले दुई र राष्ट्रिय प्रजातन्त्र पार्टीले एउटामा वडाअध्यक्ष जितेका छन् ।
प्रकाशित मितिः २७ चैत्र २०७८, आईतवार ०५:०३
साझा बिसौनी ।