उद्योग वाणिज्य संघको निर्वाचन वैशाख ४ मा

सुर्खेत: सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन आगामी वैशाख ४ गते हुने भएको छ । निर्वाचन एक साता पछाडि सारिएको हो ।

यसअघि चैत २६ गते निर्वाचनका लागि मिति निर्धारण गरिएको थियो । तर व्यापारीहरूकै एउटा समूहबाट अदालतमा रिट परेपछि पूर्वनिर्धारित मितिमा निर्वाचन हुन सकेन । उच्च अदालत सुर्खेतले रिट निवेदकले मागेबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेपछि निर्वाचन समितिले नयाँ मिति तोकेको हो ।

निर्वाचन समितिले चैत २७ गते बिहान १० देखि दिउँसो तीन बजेसम्म प्रा.लि. साझेदारी फर्म र कम्पनीलगायतको मतदाता सूचीमा नाम समावेश हुनेगरी प्रतिनिधि पठाउने तथा मतदाता नामावलीमा दाबी विरोध गर्ने संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । यस्तै आइतवार नै मतदाताको अन्तिम नामावली प्रकाशन र चैत २८ गते सोमवार १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता तथा सोही दिन साँझ उम्मेदवारको सूची प्रकाशन गरिने अधिवक्ता समेत रहेका निर्वाचन समितिका नन्दबहादुर भण्डारीले जानकारी दिए ।

उनका अनुसार वैशाख २९ गते बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारी उपर दाबी विरोध र फिर्ता, सोही दिन अपरान्ह ६ बजे दाबी विरोध उपर निर्णय र उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिने छ । वैशाख २ गते राती १२ बजेसम्म चुनाव प्रचार अवधि र सोही दिन १२ बजेपछि मौन अवधि तोकिएको भण्डारीले बताए । उनकाअनुसार मतदान वैशाख ४ गते बिहान ८ बजेदेखी साँझ ५ बजेसम्म हुनेछ ।

प्रकाशित मितिः   २७ चैत्र २०७८, आईतवार ०५:०२