शिवालयचोकमा ज्येष्ठ नागरिक मिलन केन्द्र

सुर्खेत: वीरेन्द्रनगर–७ इत्राम स्थित शिवालयचोकमा ज्येष्ठ नागरिकहरूका लागि मिलन केन्द्र बनाइएको छ । ज्येष्ठ नागरिकलाई दिउँसोको समयमा भेटघाट तथा सामाजिक गतिविधि गर्न सहज होस् भन्ने उद्देश्यले झन्डै एक सय क्षमताको हल निर्माण गरिएको हो । वडामा गठित ज्येष्ठ नागरिक सेवा समाज, विभिन्न सरकारी निकाय र व्यक्तिहरूको सहयोगमा संरचना निर्माण गरिएको अगुवा ज्येष्ठ नागरिक चुडामणि वाग्लेले बताए । उनका अनुसार केन्द्रको हल निर्माण भइ सञ्चालनमा आइसकेको छ भने शौचालय तथा पर्खाल निर्माणलगायतका काम पनि अघि बढाइएको छ ।

केन्द्रको भवन निर्माणका लागि संस्थागत रूपमा वडा कार्यालय र प्रदेशको सामाजिक विकास मन्त्रालयले आर्थिक सहयोग गरेका छन् । त्यस्तै,  डा. डम्बर खड्काले एक लाख र डा. सुशील समदर्शीले ५० हजार रूपैयाँ प्रदान गरेको जनाइएको छ । शौचालय, घेरबार, रंगरोगन तथा अन्य संरचना निर्माणका लागि सामाजिक विकास मन्त्रालयले १५ लाख बजेट दिएको केन्द्र स्थापनाको अगुवाइ गरिरहेका ज्येष्ठ नागरिक वाग्लेले जनाए । सोही भवनको संरचना निर्माणका लागि वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले शनिवार ५० हजार रूपैयाँ व्यक्तिगत रूपमा सहयोग गरेका छन् । सुवेदीले ज्येष्ठ नागरिक सेवा समाजका अध्यक्ष मोतिप्रसाद चपाईंलाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् । उनले नगरपालिका ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा प्रदान गर्ने सवालमा गम्भीर रहेको बताए । नगरका सबै वडालाई ज्येष्ठ नागरिकमैत्री बनाउन सोही अनुसारका भौतिक पूर्वाधार र वातावरण निर्माणमा आफूहरू लागिपरेको सुवेदीको भनाइ थियो ।

स्थानीय शिक्षक देवप्रसाद गौतमले वृद्ध अवस्थाका कारण घरमा एक्लै बस्ने गरेका ज्येष्ठ नागरिकलाई त्यहाँ जम्मा भएर आफ्नो पुस्ताका भावना तथा अनुभव साटासाट गर्न सजिलो हुने अपेक्षा व्यक्त गरे । ज्येष्ठ नागरिकलाई भुल्ने थलो निर्माण भएको भन्दै उनले भजनकृतन, दिवा भोजनस्थल र स्वास्थ्य परीक्षणका लागि पनि उक्त स्थल उपयोगी हुने जनाए । उनका अनुसार केन्द्रको भवन निर्माणमा आर्थिक सहयोग गरेका स्थानीय चिकित्सकहरूले हरेक महिना त्यहाँ भेला हुने ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षणसमेत गरिदिने वचन दिएका छन् । ज्येष्ठ नागरिक सेवा समाजमा हाल ५० जना आवद्ध छन् । अक्षयकोष स्थापना गरी करिब डेढ लाख रकम जम्मा गरिसकेको समाजले आगामी दिनमा आजिवन सदस्यको संख्या थप गर्दै जाने बताएको छ ।

प्रकाशित मितिः   २७ चैत्र २०७८, आईतवार ०५:०१