गठबन्धनभित्र भागबन्डाको कसरत

सुर्खेत: सत्तारुढ पाँच दलले स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय गरेसँगै कसले कुन पालिकाको नेतृत्व लिने भन्ने कसरत सुरु भएको छ । सुर्खेतमा क्रियाशील गठबन्धन दलले पनि त्यसका लागि छलफल थालेका छन् । केन्द्रको समिकरणजस्तै जिल्लामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेल गर्ने निर्णय भएको छ । तर, स्थानीय तहको पदमा भागबन्डा टुङ्गिएको छैन । नेताहरूका अनुसार अहिले गठबन्धन दलले आ–आफ्ना पार्टी कमिटीहरूमार्फत उम्मेदवार सिफारिसका लागि छलफल थालेका छन् । गठबन्धन दलहरूबीच पनि छलफल र बैठकहरू भइरहेका छन् । वडामा देखिएका उम्मेदवारका आकांक्षीका नाम माथिल्ला कमिटीहरूमा सिफारिस गर्ने काम दलहरूले गरेका हुन् । अहिले नाम सिफारिस गरिएपनि प्रदेशबाटै एकमुष्ट उम्मेदवारी भागबन्डा भएर आउन सक्ने कतिपय नेताहरूको आकलन छ । तर, अघिल्लो स्थानीय तह निर्वाचनमा जुन पार्टीले जितेको पालिका तथा वडा हो, त्यहाँ उसैको उम्मेदवार बन्ने सहमति भएकाले सोहीअनुरूप दाबी गर्न थालिएको छ ।

गठबन्धनमा आवश्यकता र औचित्यका आधारमा केही स्थानमा उम्मेदवार फेरबदल हुन सक्ने जनाइएको छ । त्यसका लागि जिल्लास्तरका नेताले प्रदेश र केन्द्रको निर्णय पर्खिरहेको बताएका छन् । कुन पालिकामा आफ्नो पकड बलियो छ ती स्थानमा चुनावी अड्कलबाजी गर्न थालिएको छ । गठबन्धनभित्रको ठूलो दल कांग्रेस सुर्खेतमा पनि बलियो छ । नौ वटा स्थानीय तहका ९९ वटै वडामा मजबुत संगठन रहेको कांग्रेस निर्णायक भूमिकामा देखिन्छ । विगतका स्थानीय निर्वाचनको मत परिणाम र जनमतका आधारमा पनि स्वाभाविक रूपमा आफ्नो पार्टीले धेरै पालिकाको नेतृत्वका लागि दाबी गर्ने सुर्खेत कांग्रेसका सभापति खड्क पोखरेल बताउँछन् ।

कांग्रेसले २०७४ को स्थानीय निर्वाचनमा जिल्लाका ६ वटा पालिकामा प्रमुख जितेको थियो । पोखरेल भन्छन्, ‘गठबन्धन भइसकेपछि संख्यामा अल्झिनु भएन, सुर्खेतमा पनि सोही अनुसारको केही आधारहरू निर्माण गरिएका छन् ।’ वीरेन्द्रनगर, गुर्भाकोट, भेरीगंगा, पञ्चपुरी नगरपालिका र चिङ्गाड तथा बराहताल गाउँपालिका गरी ६ वटा स्थानीय तहमा आफूहरूको नेतृत्वका लागि दाबी रहन सक्ने उनले बताए । यी अघिल्लो निर्वाचनमा कांग्रेसले एक्लै जितेका स्थानीय तह हुन् । उक्त निर्वाचनमा लेकवेशी नगरपालिकाका साथै सिम्ता र चौकुने गाउँपालिका नेकपा ‐एमाले)ले जितेको थियो ।

एमालेले जितेका पालिकामा भने अहिले गठबन्धनको एक घटक नेकपा ‐एकीकृत समाजवादी) ले नेतृत्वका लागि आकांक्षा राखेको छ । एमाले विभाजनपछि बनेको दल एकीकृत समाजवादीले एमालेको राम्रो जनाधार भएका क्षेत्रमा आफूहरूको उपस्थिति पनि बलियो रहेको दाबी गर्दै आएको हो । समाजवादीले सुर्खेतमा चार वटा स्थानीय तहमा दाबी गर्ने संकेत गरेको छ । जिल्ला अध्यक्ष मोहन बडुवालका अनुसार वीरेन्द्रनगर, सिम्ता, चौकुने र लेकवेशीमा समाजवादीको दाबी हुनेछ । वीरेन्द्रनगरमा यसअघि उपप्रमुख एमालेले जितेका कारण समाजवादीले यहाँ पनि नेतृत्व लिन आकांक्षा देखाएको छ । अध्यक्ष बडुवाल भन्छन्, ‘तालमेल गर्दा तलमाथि भएपनि स्वीकार्नुको विकल्प भने छैन ।’ नयाँ दल भएपनि समाजवादीको सबै वडामा संगठन र भरपर्दो उपस्थिति रहेको बडुवालको जिकिर छ । गठबन्धनमा सबैलाई मिलाएर जानुुपर्ने भएकाले परिस्थितिको मूल्याङ्कन गरी अघि बढ्ने तयारीमा समाजवादी देखिएको छ । ‘जिल्लामा गठबन्धनका सैद्धान्तिक आधार तयार पारिएको छ,’ बडुवालले भने, ‘सुुर्खेतमा हाम्रो संख्या मजबुत नै छ, तर गठबन्धन भइसकेपछि यतिउति भनेर अडान राख्नु उचित हुँदैन ।’ सबै मिलेर जाने भएकाले केन्द्र र प्रदेशको सर्कुलरअनुुसार नै जिल्लामा निर्णय हुुने उनको भनाइ छ ।

एमालेले २०७४ सालमा जितेको संख्या, पाएको मतका आधारमा नेतृत्वको इच्छा जनाएपनि ती सबै पालिका समाजवादीको भागमा पर्ने सम्भावना भने निकै न्यून छ । गठबन्धनका नेताहरूका अनुसार समाजवादीले चौकुने र लेकवेशीमा प्रमुख र उपप्रमुखमध्ये एक पदमा उम्मेदवार पाउनेछ । अन्य पालिकाका वडाहरूमा समाजवादीलाई नेतृत्व दिनेगरी तयारी भइरहेको छ । यो पार्टीमा जिल्लाभर संगठित सदस्य करिब ६ हजार छन् ।

चुनावी तालमेल गरेर अगाडि बढ्ने निर्णय भएसँगै माओवादी केन्द्रले पनि आफ्नो सबै पालिकामा निर्णायक मत रहेको दाबी गरेको छ । माओवादीका जिल्लास्तरीय एक नेताले नौमध्ये एक नगरपालिका र तीन वटा गाउँपालिकामा गरी चार वटा स्थानीय तहमा आफ्नो दाबी रहनसक्ने जनाए । उनका अनुसार आफूहरूको बलियो संगठन रहेका ठाउँमा मात्र नेतृत्वका लागि गठबन्धनको साझा उम्मेदवार उठाउने तयारीमा माओवादी केन्द्र छ । सुर्खेतमा अघिल्लो स्थानीय तह निर्वाचनमा तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले केही वडा अध्यक्ष र सदस्यहरूमा मात्र चित्त बुझाउनु परेको थियो । जिल्लाभर माओवादी केन्द्रका संगठित सदस्य करिब आठ हजार हाराहारी रहेको बताइएको छ । ती नेताले दाबी गर्नु स्वाभाविक भएपनि केन्द्रीय गठबन्धनकै निर्णयले कहाँ उम्मेदवार बन्ने भन्नेबारे निश्चित हुने जनाए । उनी भन्छन्, ‘त्यसका लागि सामान्य आधारहरू तयार गरिएका छन् । त्यसैअनुरूप चुनावी प्रक्रिया अघि बढ्नेछ ।’

गठबन्धनको अर्को दल राष्ट्रिय जनमोर्चा भने कमजोर संगठन भएकाले अहिले नै कुनै वडा तथा पालिकाको दाबी गर्ने अवस्थामा देखिएको छैन । पार्टीका जिल्ला अध्यक्ष गोविन्द सुवेदीले स्थानीय तहमा आफ्ना कमिटी भएपनि यत्तिनै संख्या छ भन्न सकिने अवस्था नरहेको जनाए । विगतका निर्वाचनहरूको परिणाम हेर्दा अन्यत्रभन्दा राष्ट्रिय जनमोर्चा लेकवेशी नगरपालिमा बलियो छ । सो पालिकाका अधिकांश वडामा आफ्नो दाबी रहन सक्ने सुवेदी बताउँछन् । संघीयताको विरोधी भएपनि गणतन्त्रको रक्षाको लागि गठबन्धन गर्ने निर्णयमा पार्टी पुगेको उनको भनाइ छ । उम्मेदवारी मिलाउँदा आफ्नो पार्टीलाई गठबन्धनले समान रूपले हेर्नेमा आशावादी रहेको राष्ट्रिय जनमोर्चाका नेताहरूले बताएका छन् ।

त्यस्तै, जनता समाजवादीको पनि सुर्खेतमा संगठन कमजोर छ । जनता समाजवादीका अध्यक्ष टोपबहादुर टंलामीले पार्टीको दाबी वडामा केन्द्रित रहने बताए । गठबन्धनको निर्णय नै सर्वमान्य हुने भएपनि आफ्नो पार्टीले भेरीगंगा, गुर्भाकोट र वीरेन्द्रनगरका केही वडाहरूमा उम्मेदवारीमा दाबी गर्ने उनले जनाए । आउँदो वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह चुनावमा मात्र नभइ जिल्ला समन्वयको निर्वाचनमा समेत तालमेल हुने गठबन्धनका नेताहरूले बताएका छन् । स्थानीय निर्वाचनमा पनि गठबन्धनको मूल मर्मअनुसार अघि बढ्ने उनीहरूको भनाइ छ ।

प्रकाशित मितिः   २७ चैत्र २०७८, आईतवार ०५:०५