राहतमा खेलाँची
जुम्लामा यतिबेला मार्सीको बिउ राख्ने बेला भएको छ । कृषकहरू हरेक वर्ष चैत १२ गते धानको बिउ भिजाउँछन् । त्यसको एक सातापछि भिजाएको बिउ ब्याडमा छर्ने गरिन्छ । तर यस पटक सबै कृषकले समयमै बिउ राख्न पाएनन् । वर्षाैं पहिलेदेखि चलिआएको परम्पराले निरन्तरता पाउन सकेन । प्राकृतिक विपदको प्रकोपमा परे किसान । यो वर्ष भेरीखोलाको सर्मी गाउँ, तिलाको नुवाकोट, रावतबाडा, सापुल्लीलगायत गाउँका किसानले मार्सीको बिउ राख्न पाएनन् । बेमौसमी वर्षाका कारण गएको कार्तिक ३ गते राती भेरीखोलामा बाढी आउँदा मार्सी फाँट बगर बनायो । बिउसम्म जोगिएन । त्यसको क्षति कृषकले अहिलेसम्म पाएका छैनन् ।
बाढीले जुम्लाका विभिन्न स्थानमा कृषिबालीसँगै भौतिक संरचनाहरूमा ठूलो क्षति पुगेको थियो । भिœयाउने तयारीमा रहेको धानका फाँट बगेका थिए भने दुई दर्जन पानी घट्ट, एक दर्जन विद्युत गृह, झन्डै डेढ सय भेडाबाख्रा र दुई वटा घर बगेका थिए । कृषि विकास कार्यालयका अनुसार त्यसबेला १८ दशमलव ७३ हेक्टर मार्सी फाँट बगरमा परिणत भएको थियो । तथ्यांकअनुसार बाढीले जुम्लाका एक हजार दुई सय १२ जना किसानको मार्सी धान र अन्य बालीमा क्षति गरेको थियो । बाढीले धानमा क्षति गर्दा जुम्लामा यसवर्ष झन्डै १२ सय मेट्रिक टन धान उत्पादन घटेको बताइएको छ । गत वर्ष साढे ६ हजार मेट्रिक टन धान उत्पादन भएकोमा यसपाली करिब पाँच हजार चार सय मेट्रिक टन धान मात्रै उत्पादन भएको हो । प्राकृतिक विपद्ले रित्तो बनाएका किसानलाई सरकारले अर्को पीडा थपेको छ, राहतका नाममा मजाक गरेर । बाढीले खेतबारी बगाएको ६ महिनापछि सरकारले बल्ल पीडित किसानलाई राहत पठाएको छ । त्योपनि प्रतिपरिवार चार सय १२ रूपैयाँका दरले ।
बाढीबाट भएको नोक्सानी हेर्दा किसानलाई अहिले पनि सम्हालिन मुस्किल छ । तर, सरकारले पठाएको राहत रकमले भने किसानहरूलाई झनै पीडा थपिएको छ । चार सय रूपैयाँ पठाएर कस्तो राहत दिन खोजिएको हो कृषकहरू नै अचम्मित भएका छन् । बेमौसमी वर्षाका कारण क्षति पुगेका परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिको खातामा संघीय सरकारले राहत रकम पठाएको छ । जुम्लाका एक हजार दुई सय १२ जना बाढीपीडितलाई पाँच लाख रूपैयाँ पढाइएको हो । त्यसो त प्रशासनले यसअघि एक हजार दुई सय जना बाढी पीडितको लागि १९ लाख ३५ हजार चार सय ६५ रूपैयाँ माग गरेको थियो । आयो, पाँच लाख मात्रै । संघीय र प्रदेश सरकारले क्षतिको मूल्यांकन गरेर तत्काल राहत वितरण गर्ने बताएका थिए । निकै ढिलागरी राहत पठाएको सरकारले पीडितलाई गिज्याउँने काम मात्र गरेको छ ।
प्रकाशित मितिः २३ चैत्र २०७८, बुधबार ०५:०३
सम्पादकीय ।